विलासी सामान गैरकानुनी रूपमा उत्तर कोरिया निर्यात : राष्ट्रसंघ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विलासी सामान गैरकानुनी रूपमा उत्तर कोरिया निर्यात : राष्ट्रसंघ

सिंगापुरलगायत एसियाका केही क्षेत्रबाट विलासी सामान उत्तर कोरिया पुग्ने गरेको छ । उत्तर कोरियामाथि लागेको प्रतिबन्ध उल्लंघन गर्दै ती सामान प्योङयाङ पुग्ने गरेको राष्ट्रसंघको एक प्रतिवेदनले जनाएको हो । सो प्रतिवेदनलाई यसै साता राष्ट्रसंघको सुरक्षा परिषद्मा पेस गरिएको छ । विलासिताका सामग्री उत्तर कोरिया निर्यात भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको सिंगापुरको विदेश मन्त्रालयले जनाएको छ । सो विषयमा सरकारले अनुसन्धान गरेको जनाइएको छ । राष्ट्रसंघले १२ वर्षदेखि सिंगापुरमा ती सामग्री निर्यात गर्न प्रतिबन्ध लगाउँदै आएको छ । राष्ट्रसंघले लगाएको प्रतिबन्ध उल्लंघन गर्दै उत्तर कोरिया सामग्री निर्यात गर्ने कम्पनीलाई कारबाही हुने जनाइएको छ ।

उत्तरमाथिको प्रतिबन्ध यथावत्
उत्तर कोरियाले निरन्तर आणविक परीक्षण र मिसाइल आक्रमण गरेपछि प्योङयाङमाथि अन्तर्राष्ट्रिय समुदायले नाकाबन्दी लगाउँदै आएको छ । सुरक्षा परिषद्को निर्देशनमा अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियामाथिको प्रतिबन्धमा कडाइ गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको अप्रत्यासित रूपमा शिखर वार्ताको तयारी भए पनि उत्तर कोरियामाथिको प्रतिबन्धलाई राष्ट्रसंघले निरन्तरता दिने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियामाथिको प्रतिबन्ध नहट्ने संकेत गरेका छन् ।

कुन हुन् कम्पनी ?
उत्तरमाथि सिंगापुरका दुई कम्पनी ओसिएन र टी स्पेलिस्टले उत्तरलाई विलासिताका सामग्री प्रदान गरेको प्रतिवेदनमा जनाइएको छ । ती कम्पनीले यही जुलाईमा ठूलो मात्रामा वाइन, स्प्रिट, शृंगारलगायतका बहुमूल्य सामग्री उत्तर कोरिया निर्यात गरेको जनाइएको छ । सिंगापुरबाहेक एसियाका अन्य देशबाट पनि बहुमूल्य सामग्री गैरकानुनी रूपमा प्योङयाङ पुग्ने गरेको जनाइएको छ । तर, अन्य कम्पनीको नाम भने खुलाइएको छैन । राष्ट्रसंघको प्रतिबन्धअनुसार सन् २००६ पछि उत्तर कोरियामा कुनै पनि सुविधासम्पन्न सामग्री बेचबिखन गर्न अवैधानिक हुनेछ । सिंगापुरको कानुनले पनि उत्तर कोरियामा विलासिताका सामग्री बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।

२० लाख डलर कारोबार
सिंगापुर सरकारले गैरकानुनी रूपमा सामान निर्यात गर्ने ओसिएन र टी स्पेलिस्ट दुई कम्पनीमाथि छानबिन भइरहेको जनाएको छ । तर, दुवै कम्पनीले आफ्नो तर्फबाट गल्ती नभएको दाबी गरेका छन् । सन् २०११ देखि २०१४ को अवधिमा यी कम्पनीले उत्तर कोरियामा २० लाख डलरबराबरको कारोबार गरेको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । सिंगापुर सरकारले कुनै पनि वित्तीय संस्थालाई उत्तर कोरियासँग कुनै पनि प्रकारको व्यापार गर्न वा आर्थिक सहयोग गर्न प्रतिबन्ध लगाएको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ । ती दुई कम्पनीको रोयोङयाङ कमर्सियल बैंकसँग पनि लामो समयदेखि निकटता रहेको राष्ट्रसंघले आरोप लगाएको छ । सो बैंक अमेरिकाले सन् २०१७ मा सार्वजनिक गरेको प्रतिबन्ध सूचीमा समावेश छ । सो बैंकसँग आफ्नो कुनै लिनुदिनु नभएको ती कम्पनीले दाबी गरेका छन् ।

सिंगापुरका कम्पनीमाथि अनुसन्धान
सिंगापुरका अधिकारीहरूले गैरकानुनी ढंगले उत्तर कोरिया विलासिताका सामग्री निर्यात गर्ने कम्पनीहरूमाथि अनुसन्धान भइरहेको बताए । ती कम्पनीका वकिल इडमोन्ड पेरिअले अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । कम्पनीको उत्तर कोरियामा भएका कुनै पनि कम्पनी वा बैंकसँग अहिले वित्तीय कारोबार र सम्बन्ध नभएको उनले दाबी गरे । उत्तर कोरियाले प्रतिबन्ध लगाउनुअघि आफ्ना क्लाइन्टहरूले उत्तर कोरियाली कम्पनीसँग व्यापार गरेको उनले बताए । आरोपित कम्पनीहरूले उत्तर कोरियामा आफ्नो संलग्नता कटौती गरेको तर पूर्ण रूपमा संलग्नता हटाउन केही समय लाग्ने उनले बताए । कानुनमा आएको परिवर्तनबारे सचेत नहुँदा आफूहरू समस्यामा परेको उनले बताए ।

तपाईको प्रतिक्रिया