ट्रम्पले गरे विदेशमन्त्री टिलर्सनलाई पदमुक्त - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

ट्रम्पले गरे विदेशमन्त्री टिलर्सनलाई पदमुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई पदमुक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले विदेशमन्त्री टिलर्सनलाई मंगलबार पदमुक्त गरेका हुन् । ट्रम्पले अमेरिकी कूटनीतिज्ञ तथा विदेशमन्त्रीका रूपमा टिलर्सनले गरेको कार्यका लागि धन्यवाद दिँदै उनको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए)का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरेको बताएका छन् । नयाँ विदेशमन्त्रीले ‘एकदमै राम्रो’ काम गर्ने ट्रम्पले उल्लेख गरेका छन् ।

‘विदेशमन्त्रीका रूपमा गरेको योगदानका लागि रेक्स टिलर्सनलाई धन्यवाद,’ ट्रम्पले ट्विट गरेका छन् । टिलर्सनलाई पदमुक्त गर्नुको कारण थाहा नभएको विदेश मन्त्रालयले जनाएको छ । ट्रम्पले एक वर्षअगाडि टिलर्सनलाई विदेशमन्त्रीमा नियुक्त गरेका थिए । टिलर्सनले ब्रिटेनमा एकजना भूतपूर्व रुसी गुप्तचरलाई विष दिइएको घटनामा रुसको हात हुन सक्ने भन्ने ब्रिटेनको अनुमानमा आफू पनि सहमत भएको जनाएका थिए । टिलर्सनसँग काम गर्ने सिलसिलामा वैचारिक मतभेद देखिएपछि उनलाई विदेशमन्त्री बनाइराख्न सम्भव नभएको ट्रम्पले बताएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ट्रम्पले भने, ‘इरान आणविक सम्झौता मेरो विचारमा सकारात्मक छैन तर टिलर्सनले यसलाई ठीक भन्नुहुन्छ । त्यसैले हामीले सहकार्य गर्न सकेनौँ ।’ पोम्पेओलाई विदेशमन्त्री नियुक्त गरेपछि राष्ट्रपति ट्रम्पले सिआइएको निर्देशक पदमा गिना हास्पेललाई नियुक्त गरेका छन् । गिना अमेरिकी इतिहासमा सिआइए प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला बनेकी छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकी मुलुकको भ्रमण गर्ने भएका छन् । ट्रम्पले आगामी महिना ल्याटिन अमेरिकाको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा ट्रम्प पेरुको राजधानी लिमामा आयोजना गरिने अमेरिकी राष्ट्रहरूको एक सम्मेलनमा सहभागी हुनेछन् । सो अवसरमा उनले पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुन्स्कीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसैगरी ट्रम्पले कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल स्यान्टोससँग पनि भेटवार्ता गर्ने ह्वाइटहाउसले जानकारी  दिएको छ ।

ट्रम्पको यो पहिलो ल्याटिन अमेरिकी भ्रमण हुनेछ । भ्रमणका क्रममा उनले ल्याटिन अमेरिकाका अन्य देशहरूसँग द्विपक्षीय हितका साथै अन्य विषयमा पनि छलफल गर्नेछन् । ल्याटिन अमेरिकी देशबारे नकारात्मक टिप्पणी गरेको पृष्ठभूमिमा ट्रम्पले ती राष्ट्रको भ्रमण गर्दै छन् ।

गत जनवरीमा उनले ल्याटिन अमेरिकी देशलाई काम नलाग्ने भन्दै ‘ट्वाइलेटको कम्बोट’सँग दाँजेका थिए । उनको सो अभिव्यक्तिपछि उनको विरोधमा ल्याटिन अमेरिकी मुलुकहरूमा प्रदर्शन भएका थिए । उनले अर्को ल्याटिन अमेरिकी मुलुक मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउने बताउँदै आएका छन् ।

ट्रम्पले यसै साता मात्र ल्याटिन अमेरिकी देशबाट आयात हुने स्टिल र आल्मुनियममा कर लगाउने प्रस्ताव गरेका थिए । ट्रम्प राष्ट्रपति भएपछि अर्को ल्याटिन अमेरिकी मुलुक पेरुसँगको सम्बन्ध थप बिग्रिएको छ ।

तपाईको प्रतिक्रिया