वासिङ्टन–प्योङयाङ वार्ता परिणाममुखी हुनुपर्छ : चीन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

वासिङ्टन–प्योङयाङ वार्ता परिणाममुखी हुनुपर्छ : चीन

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ता परिणाममुखी हुनुपर्ने बताएका छन् । ‘आसन्न वार्ताबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुनुपर्छ । वार्ताले विश्वशान्तिमा महत्वपूर्ण योगदान दिनुपर्छ,’ दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका विशेष दूत चुङ इयु योङसँगको भेटमा राष्ट्रपति सीले भने । उनले अमेरिका र उत्तर कोरियाबीचको प्रस्तावित शिखर वार्ताको सफलताको कामनासमेत गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच एक महिनाभित्र शिखर वार्ता हुने जनाइएको छ तर मिति भने तोक्न बाँकी नै छ ।

मुनका विशेष दूत तथा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु योङ सोमबार चीन पुगेका थिए । विशेष दूत योङले चिनियाँ राष्ट्रपति सीलाई भेट गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनसँग भएको भेटवार्ताका बारेमा जानकारी गराएका थिए । सो अवसरमा राष्ट्रपति सीले अमेरिका र उत्तर कोरियाबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा हुनुपर्ने बताएका थिए । विशेष दूत योङ यसै साता अमेरिका भ्रमण गरी उत्तर कोरियाली नेताहरूसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । उनले अमेरिकी सुरक्षा प्रमुख र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरूका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गर्दै प्योङयाङ भ्रमणका बारेमा जानकारी गराएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरसँगको प्रस्तावित वार्ता परिणाममुखी हुने बताउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा आणविक अस्त्रको जथाभावी परीक्षण रोक्ने प्रतिबद्धता जनाएका कारण आफूले वार्तामा बस्न सहमति जनाएको बताएका थिए । वार्तामा बस्ने उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेका थिए । राष्ट्रपति सीले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न लागिपर्ने धारणा राखेका थिए ।

माथी सर्त राख्नुहुन्न

वासिङ्टन/अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले वार्ताका लागि उत्तर कोरियामाथि नयाँ सर्त तेस्र्याउन नहुने बताएका छन् । उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै उनले सो धारणा राखेका हुन् । वार्तापछिका जोखिमबारे राष्ट्रपति ट्रम्प अनभिज्ञ नरहेको उनले बताए । उनले भने, ‘वार्ता नाटकका लागि नभई कोरियाली प्रयद्वीपको समस्या समाधानका लागि हो । उनले थपे, ‘राष्ट्रपति ट्रम्पले किमसँगको शिखर बैठकमा ‘विश्वका लागि महान् सम्झौता’ दिलाउन सक्नेछन् । तर, आलोचकहरूले वार्ता विफल भए दुई देश पहिलेभन्दा झन् खराब अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यसअघि अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ तथा पूर्वअमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका विषयमा वार्ता गर्न ट्रम्प प्रशासनसँग कूटनीतिक क्षमता न्यून भएको टिप्पणी गरेकी थिइन् । वार्ताका लागि वासिङ्टनले आवश्यक तयारी नगरेको उनले बताएकी थिइन् । ‘यदि तपाईं किम जोङ उनसँग आणविक हतियारका विषयमा वार्ता गर्न चाहनुहुन्छ भने अनुभवी कूटनीतिज्ञको खाँचो छ,’ हिलारीले भनेकी थिइन् ।

अमेरिकी विदेश विभागलाई पछिल्लो समय कमजोर बनाइएको उनको भनाइ छ । कूटनीतिज्ञविना वार्ता सफल नहुने हिलारीले बताउँदै आएकी छन् । राष्ट्रसंघका लागि पूर्वअमेरिकी राजदूत बिल रिचार्डसनले पनि उत्तर कोरियासँग वार्ता गर्न ट्रम्प प्रशासनले आवश्यक तयारी नगरेको बताएका छन् । रिचार्डसनले उत्तर कोरियासँग वार्ता गर्न ट्रम्पले पर्याप्त तयारी नगरेको आरोप लगाए । उनले भने, ‘राष्ट्रपतिले आवश्यक तयारी नगरेको र उनको अनुशासनहीनता देखेर दुःख लागेको छ ।’

तपाईको प्रतिक्रिया