विश्व अर्थतन्त्रमा डिजिटल प्रविधिको असमानता - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विश्व अर्थतन्त्रमा डिजिटल प्रविधिको असमानता

डिजिटल नेटवर्क डाटा भण्डारण प्रविधि ‘क्लाउड कम्प्युटिङ’देखि कृत्रिम बौद्धिकतासम्मको तीव्र विकासले प्रविधि क्षेत्रले विश्व अर्थतन्त्रमा कसरी व्यापक रूपान्तरण सुरु गरेको छ भन्ने विषय स्पष्टै छ । विशेष गरी विकसित अर्थतन्त्र भएका राष्ट्रको प्रविधि क्षेत्रले तीव्र विकास प्राप्त गर्ने अवस्थामा रहेकाले विकासशील राष्ट्र पछाडि पर्ने जोखिममा छन् । तुलनात्मक रूपमा कमजोर अथर्तन्त्र भएका राष्ट्रको आर्थिक गतिविधि प्रोत्साहन गर्न र गहिरिँदो असमानता कम गर्न विकासशील राष्ट्रका नीति–निर्माताले विश्वको प्रविधि क्षेत्रमा आएको पछिल्लो परिवर्तनले आफ्नो राष्ट्र र अर्थतन्त्रमा कस्तो असर पार्ला भनेर सचेत हुनुपर्ने समय आएको छ ।

सामेल अजमेह

कैयौँ वर्ष पहिलेदेखि इन्टरनेट सञ्जालमा आबद्ध हुने कुरालाई मात्र ‘डिजिटल प्रविधिको पहुँचमा असमानता’ खडा गर्ने प्रमुख पक्षका रूपमा लिइन्थ्यो । तर, अहिले समय परिवर्तन भएको छ । विश्वव्यापी बजार चक्र नियन्त्रण गर्न विश्वका धनी राष्ट्रले व्यापार व्यवसायमा प्रविधिलाई निकै सबल बनाउँदै लगेका छन् । यसबाट धनी राष्ट्रको व्यावसायिक पहुँच विस्तार भई विकासशील राष्ट्रबाट ठूलो परिणामको मूल्य दोहन गरिरहेका छन् ।

पछिल्लो समय नवीनतम प्रविधिको विकासले धेरै राष्ट्रको विकासमा केही दशक पहिलादेखि सहयोग गर्दै आएको निर्यातमुखी औद्योगिकीकरण रणनीतिलाई कसरी चुनौती दिँदै छ भन्ने विषयलाई उदाहरणका रूपमा लिन सकिन्छ । न्यून ज्यालाका मजदुर पर्याप्त उपलब्ध हुने भएकाले विश्वको उत्पादन क्षेत्रमा विकासशील राष्ट्रले आफ्नो हिस्सा बढाउँदै लगेको छ भने रोजगारी सिर्जना, लगानी आकर्षण गर्ने र केही हदसम्म औद्योगिकीकरणको सुरुवात पनि गरेका छन् । न्यून ज्यालका कामदार आपूर्ति सहजताले कम्पनी लागत कम भई विकासशील राष्ट्रको उत्पादन क्षेत्रले केही फाइदा लिएको भए पनि मजदुर आन्दोलनका कारण उपभोक्ताको माग सम्बोधन गर्ने विषयचाहिँ कमजोर नै रहेको देखिन्छ ।

पछिल्लो सयम विकसित प्रविधिले मानिसको अर्को विकल्प पनि सिर्जना गरिदिएको छ । पछिल्लो पुस्ताको ‘थ्री–डी’ प्रविधिमा आधारित रोबोट र अन्य यन्त्रमानव निर्माण कम्पनीका उत्पादन केन्द्र बजारको झन् नजिक पुग्न थालेका छन् । उदाहरणका लागि जर्मनेली लत्ताकपडा तथा जुत्ता उत्पादन कम्पनी एडिडासले जर्मनी र अमेरिकाका उत्पादन केन्द्रमा बढी उत्पादन गर्न कृत्रिम बौद्धिकतामा आधारित अत्याधुनिक प्रविधि अवलम्बन गर्दै आएको छ ।

यसैगरी, डिजिटल प्रविधिको विकासले सीमापार सेवा विस्तारमा समेत सहयोग पुर्‍याएको छ भने आफ्नो देशमा आन्तरिक सेवा प्रवाह गर्ने काम विकासशील राष्ट्रका लागि कठिन बन्दै गएको छ । अतः आन्तरिक सेवा प्रवाह गर्ने घरेलु कम्पनीले पनि विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रविधिको परिवर्तन उदीयमान अवस्थामा रहेकै अवस्थामा पनि दीर्घकालीन विकास रणनीति अल्पविकसित तथा विकासशील राष्ट्रका लागि चुनौतीपूर्ण देखिएको छ ।

विकसित र उदीयमान अर्थतन्त्र भएका राष्ट्र प्रविधि क्षेत्रमा भएका परिवर्तन तीव्र रूपमा आत्मसात् गर्न लागिपरेका छन् । अतः विश्वमा प्रविधि क्षेत्रका परिवर्तन आत्मसात् गर्न सक्ने र नसक्नेबीचको खाडल फराकिलो बन्दै गएको छ । उदाहरणका लागि संरक्षणवादी नीति लिएको चीनले बहुराष्ट्रिय प्रविधि कम्पनी बैडु र टेन्सेन्टजस्ता घरेलु कम्पनीको नै विकासमा जोड दिएको देखिन्छ । चिनियाँ प्रविधि कम्पनीहरूको गहन विकास गर्ने र संसारभर ती कम्पनीको पहुँच विस्तार गर्नेमा चीन सरकारको ध्यान गएको देखिन्छ ।

यसैगरी युरोपेली संघले पनि डिजिटल प्रविधि विकास संस्था ‘डिजिटल सिंगल मार्केट’मार्फत मात्रै प्रविधि कम्पनीमा लगानी गर्न प्रोत्साहित गरेको छ । यसैगरी संघले भेन्चर क्यापिटल, उच्च प्रविधिका कम्प्युटर प्रविधि र क्लाउड कम्प्युटिङजस्ता क्षेत्रको विकासमा नयाँ नीति लागू गरी संरक्षणवादकै पक्षमा देखिएको छ । वास्तवमा भन्नुपर्दा युरोपेली क्षेत्रमा युरोपेली कम्पनीकै विकामा जोड दिइने गरी ‘युरोपेली क्लाउड’ सिर्जना गर्ने योजना बनाउन थालिएको छ । यसरी हेर्दा अत्यन्त थोरै प्रविधि कम्पनी मात्र विकासशील तथा अल्पविकसित राष्ट्रमा रहेका छन् । यो परिस्थिति परिवर्तन हुनैपर्छ, तर कसरी?

गरिब राष्ट्रले पछिल्लो पुस्ताको डिजिटल प्रविधि विकास, विस्तार र अवलम्बन गर्न आर्थिक रूपमा निकै कष्टकर हुने प्रायःजसो विकास रणनीतिकारले बताउने गरेका छन् । केही हदसम्म यो सत्य नै पनि हुन सक्छ, तर अत्याधुनिक प्रविधिको विकास गर्न नसक्ने वा प्रविधिमैत्री अर्थतन्त्र नभएका राष्ट्रको अवस्था कमजोर बन्दै जाने पक्का हो ।

तसर्थ, विकास रणनीति तय गर्ने स्थानमा रहेका पदाधिकारी तथा रणनीतिकारहरूको मुख्य चासोको विषय यही हुनुपर्छ । यसका साथै क्षेत्रीय रूपमा प्रविधिमैत्री प्रणाली अवलम्बन गरी आर्थिक रूपान्तरण भएका राष्ट्रको पनि क्षेत्रीय रूपमा अध्ययन तथा विश्लेषण हुन जरुरी छ । उक्त विश्लेषणले अन्य राष्ट्रलाई पनि अवसर पहिचान गर्न साथै चुनौती सामना गर्न पनि सहयोग पुर्‍याउँछ ।
उदाहरणका लागि अफ्रिकालाई लिन सकिन्छ । अफ्रिकी राष्ट्रमा क्षेत्रीय व्यापार प्रवद्र्धन गर्ने र औद्योगिक सहायता अभिवृद्धि गर्ने लक्ष्य लिएका ‘कन्टिनेन्टल फ्री ट्रेड एरिया–सिएफटिए’ र ‘एजेन्डा २०६३’लगायत अन्य नीतिले डिजिटल प्रविधिको रूपान्तरण गर्ने कुरामा जोड दिन आवश्यक छ । युरोपेली संघले जस्तै कुनै क्षेत्रमा प्राप्त गरिएको अनुभवको बहसले अन्य क्षेत्रमा सोही प्रकृतिका चुनौती सामना गर्न सहयोग गर्छ ।

स्थानीय कम्पनीको विस्तारका लागि व्यापक प्रयास गरी अन्तर्राष्ट्रिय रूपमा अझ प्रतिस्पर्धी बनाउन सके मात्र डिजिटल प्रविधिका कारण फराकिलो बन्दै गएको असमानता कम हुन सक्छ । अफ्रिकाको नवप्रवर्तनले पनि केही चुनौती सामना गरेको छ । आन्तरिक बजार नै स–साना खण्डमा विभाजित भएकाले यसले दीर्घकालीन सफलतामा बाधा व्यवधान खडा गर्न सक्ने देखिएको छ ।

विकासशील धेरै राष्ट्रमा डिजिटल प्रविधिको विकासले फाइदा पुर्‍याइसकेको पनि छ । डिजिटल प्रविधिको विकासले कम्पनीको प्रतिफल उच्च भएको छ भने मोबाइल कारोबारले वित्तीय पहुँच विस्तार गरी गरिब समुदायलाई पनि समेटेको छ । विकसित अर्थतन्त्र भएका राष्ट्रको समान अवस्था पुर्‍याउन विकासशील राष्ट्रका नीति–निर्माताले पनि नयाँ विधि–प्रविधि अवलम्बन गर्न जरुरी छ ।

नयाँ विधि–प्रविधिमा लगानी गर्न विकासशील राष्ट्रलाई अन्तर्राष्ट्रिय संस्थाको सहयोग जरुरी हुन्छ । उदाहरणका लागि डिजिटल अर्थतन्त्रको नियमन गर्न नीति–निर्माण गर्ने विषयमा विश्व व्यापार संगठनमा भइरहेको बहसले विश्व बजार गतिविधि पनि नियमन गर्ने गरी विस्तार गर्न जरुरी छ ।

विकासशील राष्ट्रको डिजिटल अर्थतन्त्र निर्माणका लागि लगानी स्रोतको अभावबाट माथि उठ्न सजिलो हुने देखिँदैन । तर, त्यसो गर्न नसकिए अवस्था झन् खराब बन्न सक्छ । आफ्नो राष्ट्रमा दिगो आर्थिक वृद्धि हासिल गर्न विकासशील राष्ट्रका नेताहरूले विश्वव्यापी र स्थानीय दुवै तवरले सोच्नुपर्नेछ । आजको प्रविधिको विकासले भोलिको अर्थतन्त्रको अवस्था निर्धारण गर्ने भएकाले यो विषयलाई कमजोर मानिनुहुँदैन ।

सामेल अजमेह युनिभर्सिटी अफ बाथमा अन्तर्राष्ट्रिय विकास तथा अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र विषयका प्राध्यापक तथा लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका भिजिटिङ फेलो हुन् ।

कपिराइटः प्रोजेक्ट सिन्डिकेट, २०१८
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
www.project-syndicate.org

तपाईको प्रतिक्रिया