भुजेल बस्तीका अधिकांश किशोरी आमा - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

भुजेल बस्तीका अधिकांश किशोरी आमा

शिक्षा र चेतनाको कमीले तनहुँको बन्दीपुर नगरपालिका र आँबुखैरेनी गाउँपालिका क्षेत्रमा कलिलै उमेरमा विवाह गर्ने क्रम अझै हट्न सकेको छैन । यहाँका अधिकांश किशोर–किशोरीले चाँडै विवाह गर्ने गरेका छन् । बन्दीपुर–५ र आँबुखैरेनी–१ आँधीमूलका भुजेल बस्तीका अधिकांश युवती कलिलै उमेरमा आमा बन्न बाध्य छन् ।

कलिलै उमेरमा विवाह गरी बच्चा जन्माएका आँबुखैरेनी–१ आँधीमूलका किशोरी आमाहरू । तस्बिर : नयाँ पत्रिका

 

अझै पनि भुजेल बस्तीका बालबालिका विद्यालय जाँदैनन् । अभिभावकमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना नहुँदा बस्तीनजिकै विद्यालय भए पनि बस्तीका अधिकांश बालबालिका विद्यालय नजाने गरेका हुन् ।

१३–१४ वर्षमै आमा
भुजेल गाउँका शंखबहादुर भुजेलले गाउँका बालिकाहरू १३–१४ वर्षदेखि नै आमा बन्ने गरेको बताए । यहाँका किशोर–किशोरी कसैले अभिभावकको सहमति र कसैले भागेर सानैमा विवाह गर्ने गरेका छन् । ‘अभिभावक र बालबालिकामा पढ्नुपर्छ भन्ने चेतना छैन । शिक्षाको पहुँच बढाउन धेरै कोसिस गर्दासमेत सकेका छैनौँ,’ शंखबहादुरले भने, ‘बाउबाजेको पालादेखि पढ्न जाने चलन थिएन, घरबाट पढ्न पठायो, बालबालिका अन्तै जान्छन् ।’

बालबालिकाले स्कुल जान जाँगर नगर्दा अभिभावकले पनि धेरै जोड नगर्ने उनले बताए । ‘पढाइमा ध्यान दिँदैनन् । मोबाइल किन्ने, फिलिम हेर्ने र सानै उमेरमा विवाह गर्ने विकृति छ,’ शंखबहादुरले भने।

आँधीमूलमा भुजेलहरूको ६१ घर छ । गाउँका एक–दुईबाहेक अधिकांश विद्यालय जाँदैनन् । विशेष गरेर १५ देखि १६ वर्षको उमेरमा सबै किशोरीले बच्चा जन्माउने गरेको स्थानीय ज्ञानबहादुर भुजेलले बताए । गाउँमा १६ वर्ष कटेका किशोरी भेट्नै मुस्किल पर्छ । ‘पहिला जमाना त्यस्तै थियो । सानै उमेरमा विवाह हुन्थ्यो,’ उनले भने, ‘अचेल मोबाइल लिन्छन्, फेसबुक र इमोमा कुरा गर्छन्, अनि सानैमा बिहे गरेर घरजम सुरु गर्छन् ।’

बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले भुजेल गाउँमा सानैमा विवाह गर्ने चलन विकृतिको रूपमा रहेको बताए । ‘उमेर नपुगी विवाह गर्नु हुँदैन भनेर सम्झाउँछौँ तर मान्दैनन् । चाँडै विवाह गर्ने साह्रै नराम्रो चलन बस्यो,’ लामिछानेले भने ।

अभिभावकको बेवास्ता
बालबालिका विद्यालय नजानुमा मुख्य दोषी अभिभावक भएको श्रेष्ठको बुझाइ छ । ‘अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाउनुभन्दा पुख्र्यौली पेसा नाङ्लो बुन्ने, घाँसदाउरा काट्ने, हलो जोत्नेलगायतका काममा लगाउने गरेका छन्,’ उनले भने, ‘हाम्रो जोडबलले कतिपय बालबालिका विद्यालय भर्ना भए पनि बीचमै पढाइ छोड्ने समस्या छ ।’

समुदायमा परिवर्तन ल्याउन र विकृतिको अन्त्य गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम भुजेल गाउँमा गरिए पनि त्यसले छुन सकेको छैन । बालबालिकाहरू स्कुल नजाने र गए पनि बीचमै छोड्ने यहाँको मुख्य समस्या हो ।

एकै जोडीका ६–७ जना सन्तान
आँधीमूलका ३६ वर्षीय हिराबहादुर भुजेलका ६ सन्तान छन् । उनकी छोरीले १५ वर्षमा बिहे गरिन् । हाल दुईवटा नातिनीसमेत छन् । ‘आफूले पनि सानै उमेरमा विवाह गरियो, छोराछोरी पनि धेरै छन्, परिवार चलाउन समस्या छ,’ भुजेलले भने । स्थानीय ३६ वर्षीया मीना भुजेलका पनि सात सन्तान छन् । सानै उमेरमा सन्तान जन्माएकी उनले बच्चाको रेखदेख गर्न गाह्रो भएको गुनासो गरिन् । ‘पढ्नका लागि मास्टरले धेरै अनुरोध गर्नुहुन्थ्यो तर हाम्रो ध्यान पढाइतिर कहिल्यै गएन,’ उनले भनिन्, ‘तर, अहिले नपढ्दा पछुतो लागेको छ ।’

भुजेल गाउँमा शिक्षासँगै स्वास्थ्य चेतनाको पनि अभाव छ । स्वास्थ्यसम्बन्धी जनचेतनाको अभावले उनीहरूले स्थायी बन्ध्याकरण नगर्ने, अस्थायी साधनको प्रयोग नगर्ने कारणले पनि कलिलै उमेरमा आमा र धेरै सन्तान जन्माउने गरेका छन् । तनहुँलाई साक्षर जिल्ला घोषणा गरिए पनि भुजेल गाउँमा अधिकांश निरक्षर छन् ।

मासु खाजा दिँदा पनि विद्यार्थी पढ्न गएनन्
भुजेल बस्तीका बालबालिका गुच्चा, लुकामारी, भकुन्डो खेल्ने, साथीसाथी जमघट भएर गफिँदै बस्ने गरेको अग्रजहरू बताउँछन् । घरनजिकै विद्यालय भए पनि अध्ययनप्रति बालबालिकाले रुचि नराख्ने गरेको आधिवाराही प्राथमिक विद्यालयका शिक्षक देवकुमार श्रेष्ठले बताए ।

बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्न दिवा खाजाको व्यवस्था गर्दा पनि भुजेल बस्तीका विद्यार्थी पढ्न नगएको श्रेष्ठको भनाइ छ । ‘सामान्य खाजाको व्यवस्था गर्दा विद्यालय नआएपछि हप्ताको एक दिन मासु खाजा खुवाउनेसमेत व्यवस्था मिलायाैँ,’ श्रेष्ठले भने, ‘त्यति गर्दासमेत भुजेल बालबालिका स्कुल आएनन् । हाम्रो सबै प्रयास खेर गयो ।’

तपाईको प्रतिक्रिया