लामखुट्टे नियन्त्रण गर्न माग गर्दैै धर्ना - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

लामखुट्टे नियन्त्रण गर्न माग गर्दैै धर्ना

वीरगन्ज महानगरपालिकामा लामखुट्टे नियन्त्रण गर्नुपर्ने माग गर्दै कांग्रेस क्षेत्रीय समितिले धर्ना दिएको छ । कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति विजय सर्राफको नेतृत्वमा कांग्रेस कार्यकर्ताले धर्ना दिएका हुन् । लामखुट्टे नियन्त्रणसँगै कांग्रेसले विभिन्न माग राखेर मेयर विजयकुमार सरावगीलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

ज्ञापनपत्रमा लामखुट्टे नियन्त्रणसँगै फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायतका माग समेटिएको नेविसंघका नेता दिलीपराज कार्कीले जानकारी दिए । ‘लामखुट्टेले नगरवासीलाई सास्ती दिइरहँदा जनप्रतिनिधिले चासो देखाएनन्,’ कांग्रेस क्षेत्रीय अध्यक्ष सर्राफले भने, ‘ई–रिक्साको चाप बढ्दा सडकमा हिँडिसक्नु छैन । यी सबै विषयमा नगरपालिकाले तुरुन्त ध्यान दिनुपर्छ र व्यवस्थापनको पहल गर्नुपर्छ ।’

लामखुट्टेले पढाइमा समस्या
लामखुट्टेले सताउँदा पढाइमै समस्या पर्ने गरेको विद्यार्थीहरू बताउँछन् । वीरगन्ज पिप्राका प्रमोद यादवले स्थानीय सरकारले लामखुट्टेसमेत नियन्त्रण गर्न नसकेको गुनासो गरे । ‘वीरगन्ज महानगरपालिका भएको छ । अधिकारसम्पन्न स्थानीय तह भनिएको छ,’ यादवले भने, ‘लामखुट्टेसमेत नियन्त्रण गर्न नसक्ने स्थानीय सरकारले जनताका अन्य समस्या के समाधान गर्ला र !’ लामखुट्टेको प्रकोप नियन्त्रणमा ध्यान नदिँदा स्थानीय सरकार भएको आभास नै हुन नपाएको स्थानीयको भनाइ छ।

वीरगन्जकै मोहन हजराले पहिला–पहिला लामखुट्टे नियन्त्रणका लागि फागुन नलाग्दै विषादी छर्किने गरेको भए पनि यस वर्ष महानगरपालिकाले ध्यान नदिएको गुनासो गरे । वीरगन्जमा बाह्रै महिना लामखुट्टेले दुःख दिने गरेकाले लामखुट्टेको टोकाइबाट हुन सक्ने संक्रमणबाट स्थानीय सधैँ त्रसित हुने गरेका छन् । लामखुट्टे नियन्त्रणका लागि नगरपालिकाले समय–समयमा औषधि छर्कनुपर्नेे वीरगन्ज मुर्लीका प्रमोद कुशवाहाले बताए ।

डेंगु, मलेरियाजस्ता रोगको खतरा
लामखुट्टेको टोकाइबाट विभिन्न किसिमका रोगको संक्रमण हुने खतरा हुन्छ । डेंगु, मलेरिया, जापानिज इन्सेफ्लाइटिसलगायतका प्राणघातक रोगको संक्रमण लामखुट्टेबाटै हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । वीरगन्ज महानगरको नाला खुला छ । प्लास्टिकजन्य फोहोरमैला पनि नालामा जथाभावी फ्याँक्ने गरिएको छ । पानी जम्ने नाला लामखुट्टेको राम्रो वासस्थान मानिन्छ । यसले गर्दा नगरमा सहजै लामखुट्टे हुर्कने वातावरण बनेको छ । फोहोरको उचित व्यवस्थापनमा नगरवासीको भूमिका पनि सन्तोषजनक छैन । नगरवासीले लामखुट्टे नियन्त्रण गरेन भनेर नगरपालिकालाई मात्रै दोषारोपण गर्नुभन्दा पनि नगरपालिकासँग सहकार्य गरेर घरटोल सफा राखी लामखुट्टे नियन्त्रणमा ध्यान दिनुपर्ने वीरगन्ज महानगरपालिकाका एक कर्मचारीले बताए ।

औषधि छर्न सुरु : महानगरपालिका
वीरगन्ज महानगरपालिका कार्यालयले भने लामखुट्टे नियन्त्रणको काम सुरु भइसकेको दाबी गरेको छ । गएको शुक्रबारदेखि नै लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने काम सुरु भएको महानगरपालिकाका सरसफाइ शाखाका अधिकृत राज ताम्राकारले बताए । विगतभन्दा केही ढिला भए पनि औषधि छर्किन सुरु गरिएको उनको भनाइ छ । लामखुट्टे नियन्त्रणका लागि महानगरले ‘मालाथिन’ नामक विषादी छर्न थालेको हो । स्थानीयले भने मालाथिनले लामखुट्टे नियन्त्रण नहुने बताउँदै आएका छन् ।

वीरगन्जमा बढ्दै लामखुट्टे आतंक

गर्मी बढेसँगै वीरगन्ज महानगरपालिकामा लामखुट्टेको बिगबिगी बढेको छ । खुला नालामा पानी जम्ने र लामखुट्टे हुर्कने भएकाले वीरगन्जवासीलाई बाह्रै महिना लामखुट्टेले सताउने गर्छ । वीरगन्जमा लामखुट्टेको प्रकोप गर्मीयाममा अझ बढ्ने गरेको छ ।

साँझ होस् वा बिहान, चौबीसै घन्टा नगरवासीलाई लामखुट्टेले सताउने गरेको छ । घरबाहिर मात्रै होइन, घरभित्रै पनि लामखुट्टेले सताउने गरेको नगरवासी बताउँछन् । वीरगन्ज प्रसौनीकी पानमती देवीले लामखुट्टेको टोकाइबाट सधैँ सास्ती हुने गरेको बताइन् । ‘साँझबिहान मात्र होइन, जतिवेला पनि लामखुट्टेले टोक्छ,’ उनले भनिन्, ‘लामखुट्टेको टोकाइबाट अनेक रोगको संक्रमण होला भन्ने चिन्ताले सधैँ सताउने गर्छ ।’

तपाईको प्रतिक्रिया