अस्पताल सुधार्ने डा. थापाको सपना अधुरै - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

अस्पताल सुधार्ने डा. थापाको सपना अधुरै

मंगलबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको न्युरो सर्जन ओपिडी कक्षबाहिर बिरामीहरू फाइल लिएर डाक्टरको प्रतीक्षामा थिए । भित्र बिरामी जाँचिरहेकी थिइन्, रजिस्ट्रार डा. बेन्जुरश्मी प्रधान । डा. बालकृष्ण थापाको नामै लिएर केही बिरामी बाहिर कुरिरहेका थिए । कुर्नेहरूलाई के थाहा ? डा. थापाले अब कहिल्यै उनको बिरामी पुर्जा हेर्ने छैनन् । उपचार गरिदिने छैनन् । डा. थापाको अवस्थाबारे जानकार भइसकेकी डा. प्रधान र बिरामीको पालो बोलाउने महिला कर्मचारी भने भावविह्वल थिए । अनुहार मलीन थियो । उनीहरू औपचारिक रूपमा बिरामी बोलाउने र जाँच्ने काम गरिरहेका थिए, तर गहभरि आँसु टलपलाइरहेको थियो । डा. प्रधान रसाएका आँखा ओभानो बनाउने प्रयास गरिरहेकी देखिन्थिन् ।

डा. बालकृष्ण थापा

बंगलादेशमा आयोजित एक सेमिनारमा भाग लिएर फर्किंदै गर्दा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगलाको जहाज दुर्घटनामा ५१ बर्षीय थापाले ज्यान गुमाए । डा. थापा बिपी कोइराला मेमेरियल क्यान्सर अस्पतालका न्युरो सर्जन विभाग प्रमुख थिए । उनको निधनमा अहिले क्यान्सर अस्पताल परिवार शोकमा छ । त्यसो त उनको निधनले चिकित्साक्षेत्र र उनलाई जान्ने–बुझ्ने सबै अत्यन्त मर्माहत भएका छन् । परिवार, नातागोता र साथीभाइ पनि शोकमा छन् । थापाको निधनसँगै क्यान्सर अस्पतालमा न्युरो सर्जनको अभाव सुरु भएको छ । डा. थापाको निधनले आफूहरू मर्माहत बनेको अस्पतालका प्रशासन प्रमुख गृहनारायण महतोले बताए ।

अन्तिम हाजिरी
दुर्घटनामा ज्यान गुमाएका डा. थापाले क्यान्सर अस्पतालमा फागुन २३ गते अन्तिम हाजिरी गरेका छन् । अस्पताल छाडेर देशबाहिर गए पनि उनले लिखित रूपमा भने बिदा नमागेको अस्पताल प्रशासन प्रमुख गृहनारायण महतोले बताए । ‘कति दिनलाई, के–कस्तो बिदा भन्ने रेकर्डमा देखिँदैन,’ उनले भने । उनले लिखित बिदा नलिनुको कारणबारे भने महतोले खुलाएनन् । डा. थापा बंगलादेश गएकोबारे दुर्घटनामा परेपछि मात्र थाहा भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका केही चिकित्सक बताउँछन् । काठमाडौं ओर्लिएलगत्तै डा. थापा बुद्ध एयरबाट चितवन आउने योजनामा रहेको बुझिएको छ ।

डा. बालकृष्ण थापाको अवस्थाबारे जानकारी पाइसकेकी डा. बेन्जुरश्मी प्रधान र बिरामीको पालो बोलाउने महिला कर्मचारी भावविह्वल थिए । अनुहार मलीन थियो । उनीहरू बिरामी बोलाउने र जाँच्ने काम गरिरहेका थिए, तर गहभरि आँसु टलपलाइरहेको थियो ।

शब्दमा डा. थापा
विसं २०२३ साल माघ १४ गते जन्मिएका काभ्रेपलाञ्चोकको कुशादेवी ३ निवासी डा. बालकृष्ण थापा अस्पतालकै आवासगृहमा बस्दै आएका थिए । २०५१ सालमा एमबिबिएस गरेका उनले अध्ययनका क्रममा तीनपटक स्वर्णपदक प्राप्त गरेका थिए । बंगलादेशको ढाकास्थित बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका उनी ०५९ साउन ३० गते बिपी कोइराला मेमोरियल अस्पतालमा रजिस्ट्रार पदबाट सेवा प्रवेश गरेका थिए । ०६० चैत २४ गते जुनियर कन्सल्टेन्ट पदमा बढुवा भएपछि २०६२ मंसिर १८ मा उनी अस्पतालको स्थायी चिकित्सकका रूपमा नियुक्त भएका थिए । ०६६ असोज १४ गते न्युरो कन्सल्टेन्ट बनेका थापाले क्यान्सर अस्पतालको बोर्ड सदस्यका रूपमा ०६४ माघदेखि काम गरेका थिए । उनी यस बिमारका लागि निकै भरोसालाग्दा डाक्टरका रूपमा चिनिन्थे । उनको विभागमा आउने अधिकांशले उनलाई नै खोज्ने गरेको बिरामीहरू बताउँछन् ।

डा. थापाले जाँच गर्ने कोठाबाहिर बिरामी

 

व्यवस्थापनप्रति असन्तुष्ट
स्वर्गीय डा. थापा क्यान्सर अस्पताल व्यवस्थापन पक्षसँग असन्तुष्ट थिए । त्यसैको प्रतिक्रिया होला, उनी लिखित बिदा नलिएरै हिँडेका थिए । उनी भन्ने गर्थे, ‘व्यवस्थापनले तपार्इंजस्ता दुई-चारजना पत्रकार बोलाएर, फोटो खिचाएर मख्ख पार्छन्, तपाईंहरू क्यान्सर अस्पताल फेरिएछ भन्नुहुन्छ, तर, तपाईंहरूको एउटा समाचार देखाएर व्यवस्थापन पक्षले कति लुटेको छ, लुटेको छ । तपाईंलाई के थाहा ?’

आफ्नो नेतृत्वमा बिपी अस्पताल चलाउने अवसर मिल्यो भने ३ महिनामै कायापलट गरिदिने, बरु तलब पनि नलिने उनी बताउने गर्थे । दुई महिनाअघि भएको भेटमा डा. थापाले त्यस्तो इच्छा व्यक्त गरेका थिए । हालका कार्यकारी निर्देशक र अन्य केहीसँगको बेमेलका कारण पनि बिदा नलिईकन हिँडेको हुन सक्ने अनुमान यहाँका कर्मचारीको छ । ‘राजनीतिक नियुक्तिका आधारमा कुर्ची ओगट्नेले केही गर्न सक्दैनन्’ भन्ने उनको तर्क थियो । उनी स्वच्छता, निष्पक्षता चाहन्थे । राजनीतिक पूर्वाग्रह नराखीकन मानवीयताका आधारमा कामकारबाही होस् भन्ने मनसाय व्यक्त गर्दै उनले भनेका थिए, ‘यही अवस्था रहने हो भने क्यान्सर अस्पताल बन्द भएर संग्रहालय बन्न सक्छ ।’

साहित्यमा रुचि
बिरामीको शारीरिक चिरफार गरेर निको बनाउने पेसा भए पनि डा. थापा मनको भावना पनि गोडमेल गर्ने डाक्टर थिए । साहित्यक्षेत्रमा पनि डा. थापाले सम्झिनलायक कलम चलाएका थिए । उनका तीन साहित्यिक कृति, डाक्टरी कविता–२०६१ र डाक्टरका कविता–२०६९ एवं निबन्धसंग्रह चिरफार–२०७० प्रकाशित छन् । चिकित्साक्षेत्रबारे लेखिएको उनको ‘न्युरो अंकोलोजी’ पुस्तक पनि प्रकाशित छ । चितवन क्षेत्रमा आयोजना हुने प्रायः साहित्यिक कार्यक्रममा उनको उपस्थिति रहन्थ्यो । डा. थापा आगामी जेठका लागि आयोजना तयारी गरिएको ‘नारायणी लिट्रेचर फेस्टिभल’को आयोजकमध्येका एक थिए ।

बिरामीको शारीरिक चिरफार गरेर निको बनाउने पेसा भए पनि डा. थापा मनको भावना पनि गोडमेल गर्ने डाक्टर थिए । साहित्य क्षेत्रमा पनि डा. थापाले सम्झनलायक कलम चलाएका थिए ।

सामाजिक सञ्जालमा शोक
डा. बालकृष्ण थापाको निधनपछि सामाजिक सञ्जालमा उनीप्रति समवेदना प्रकट भइरहेका छन् । उनको चर्चा र लोकप्रियता सामाजिक सञ्जालमा पनि देखिएको छ । अल्पायुमै भएको उनको निधनप्रति चितवनका प्रत्येक चिकित्सकले दुःख व्यक्त गर्दै ‘डा. थापाजस्तो मान्छे पाउन मुस्किल हुने’ प्रतिक्रिया दिएका छन् । यस क्षेत्रका राजनीतिज्ञ, साहित्यकार र विभिन्न सामाजिक संघसंस्थामा आबद्ध व्यक्तिहरूले उनको निधनले चिकित्सा, साहित्य र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

क्यान्सर अस्पतालका बोर्ड सदस्यसमेत रहेका प्रेम रिमालले डा. थापाको निधन पत्याउनै नसकिने बताए । डा. थापासँग अस्पतालपरिसरमा लिइएको केही वर्ष पुरानो फोटोसहित फेसबुक स्टाटस लेख्दै रिमालले भनेका छन्, ‘केही दिनअघि मात्रै काठमाडौं जाऊँ भन्दै हुनुहुन्थ्यो, आज बालकृष्ण डाक्टरसाबको अवस्था के हो पत्याउन सकेको छैन ।’ ‘मसँग नजिकको व्यहार र चिनजान थियो, उनको निधनको खबर पत्याउनै गाह्रो भयो,’ नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले भने ।

तपाईको प्रतिक्रिया