हत्यारा खोजी गर्न प्रहरीले चासो नदेखाएको आरोप - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

हत्यारा खोजी गर्न प्रहरीले चासो नदेखाएको आरोप

मोरङ उर्लाबारी– ७ का ३६ वर्षीय सनम शाक्यका मुख्य हत्यारा खोजी गर्न प्रहरीले चासो नदेखाएको आरोप आफन्त र स्थानीयले लगाएका छन् । तस्करी गरी ल्याएको ३३ केजी सुन लुकाएको आरोपमा तस्करहरूले शाक्यलाई फागुन १८ गते उर्लाबारी–१ को जंगलमा लगी करेन्ट लगाएर हत्या गरेका थिए । उनी तस्करीको सुन बोक्ने भरिया भएको प्रहरीले जनाएको छ ।

सनम शाक्य

शाक्य बौद्ध समाज सेवा उर्लाबारीले शाक्य हत्याका मुख्य नाइके खोजी गर्न प्रहरीले चासो नदिएको आरोप लगाएको छ । समाजले मुख्य नाइके खोजीका लागि दबाब दिन कृष्ण प्रधानको संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समितिसमेत गठन गरेको छ ।

बौद्ध समाजले सोमबार आयोजना गरेको भेलामा उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोले घटनाका मुख्य नाइकेलाई पक्राउ गरी कानुनअनुसार कारबाही नगरेमा फेरि घटना दोहोरिन सक्ने बताए । कार्यक्रममा उर्लाबारी– ७ का अध्यक्ष वीरबल थापा, ५ का अध्यक्ष भानुभक्त शर्मा पराजुली, ३ का अध्यक्ष गन्जबहादुर कार्कीलगायतले घटनाका मुख्य अभियुक्तको पहिचान गरी कानुनी कारबाही गर्न प्रहरीले सक्रियता देखाउनुपर्ने बताए ।

चूडामणि उप्रेतीविरुद्ध किटानी जाहेरी
शाक्य हत्याको मुख्य नाइके गोरे र रूपेश भनेर चिनिने पूर्वफुटबल खेलाडी उर्लाबारीकै चूडामणि उप्रेती भएको पीडित पक्षको आरोप छ । पीडित परिवारले उप्रेतीविरुद्ध प्रहरीमा किटानी जाहेरीसमेत दिएको छ । उनकै योजनामा १४ फागुनमा शाक्यको अपहरण गरी १८ फागुनमा हत्या भएको किटानी जाहेरीमा उल्लेख छ । सात वर्षदेखि सुन तस्करीमा संलग्न उप्रेती प्रहरीको मोस्ट वान्टेड सूचीका अभियुक्तसमेत हुन् । भारतीय सेनामा काम गरेर छाडेका उप्रेती पछि वैदेशिक रोजगारीमा गए पनि सुन तस्करीमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ ।

शाक्यको हत्यामा संलग्न भएको आरोपमा १९ फागुनमा उर्लाबारी– ७ बस्ने कृष्ण भनिने नरेन्द्र कार्की, उर्लाबारी– ४ का मने भनिने मोहन काफ्ले र काभ्रे मन्डन–देउपुर नगरपालिका– १२ बस्ने टेकराज मल्ल ठकुरीलाई पक्राउ गरिएको थियो । उनीहरूविरुद्ध मोरङ प्रहरीले संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । उनीहरूकै बयानका आधारमा प्रहरीले झापा चारआलीका लाक्पा शेर्पालाई पनि पक्राउ गरेको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एयरपोर्टबाट भित्रिएको थियो ३३ केजी सुन

पक्राउ परेकाहरूले प्रहरीलाई दिएको बयानअनुसार गत माघ ९ गते त्रिभुवन विमानस्थल मार्ग हुँदै तस्करीको ३३ केजी सुन नेपाल भित्रिएको थियो । तर, उक्त सुन नेपाल भित्रिनासाथ गायब भएको थियो । सुन ओसारपसारमा भरियाका रूपमा प्रयोग हुँदै आएका शाक्यले सुन गायब बनाएको आरोप लगाउँदै यातना दिएर तस्करहरूले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया