नगरप्रमुख चौधरीलाई आक्रमण गरेको आशंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नगरप्रमुख चौधरीलाई आक्रमण गरेको आशंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ

थप उपचारका लागि ममताप्रसाद चौधरी काठमाडौंमा

कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि आक्रमण गरेको आशंकामा प्रहरीले तीन जना बिप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ । सोमबार राति मेयर चौधरीलाई घरमै बसिरहेको अवस्थामा गोली र खुकुरी प्रहार गरेको थियो ।


गम्भीर घाईते भएका मेयर चौधरीलाई अहिले थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । सोमबार राति नै सुखड क्षेत्रबाट नेकपा माओवादी विप्लव नेतृत्वको नेकपाका ३ जनालाई पक्राउ गरि अनुसन्धान भइरहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । अनुसन्धान जारी रहेकाले पक्राउ परेका बिप्लव माओवादीका कार्यकर्ताको नाम प्रहरीले सार्बजनिक गरेको छैन ।

घोडाघोडीको ‘बोक्सी काण्ड’मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहका एक नेताले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले ‘जनकारवाही’ गर्ने धम्की दिएका थिए ।

सोमबार राति करिब ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

घटनालगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई राति नै नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । नेपालगञ्ज मेडिकल कलेजले चौधरीको  उपचारका लागि काठमाडौँ  रिफर गरेको छ ।

नगर प्रमुख चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले आफूलाई गराएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक घिमिरेले बताए ।  ३ वटा मोटरसाइकलमा आएको समूहले घर बाहिर बोलाएर चौधरीलाई आक्रमण गरेको बुझिएको उनले बताए । घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकल कसको हो भन्ने खुलिनसकेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

चौधरीका छिमेकी बिशाल पाण्डेयले घटनालगत्तै स्कुटीमा राखेर मेयर चौधरीलाई अस्पताल पुर्‍याएका थिए । घरभित्र बसेका बेला बाहिर बन्दुक पड्किएको आवाज सुनेपछि बाहिर आउँदा आक्रमण भएको आफूले थाहा पाएको पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया