नियमावली नमान्ने ट्राभल-ट्रेकिङ कम्पनीमाथि सरकारको कडाइ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नियमावली नमान्ने ट्राभल-ट्रेकिङ कम्पनीमाथि सरकारको कडाइ

नियमावलीको प्रावधान पूरा नगरे कारोबार रोक्का गर्ने

सरकारले हालै संशोधन गरेको ट्राभल तथा ट्रेकिङ नियमावली २०६२ छैटौँ नियमावलीले तोकेका प्रावधान पूरा नगर्ने कम्पनीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले कडाइ गर्न थालेको छ ।

विभागले ट्राभल वा ट्रेकिङ व्यवसाय सञ्चालन गर्न इजाजत पाएका वा नवीकरण गराए पनि नियमावलीको प्रावधान पूरा नगरेका कम्पनीको नाम सार्वजनिक गर्दै उनीहरूलाई नियमावलीअनुसार व्यवस्था गर्न समयसीमा तोकिदिएको छ । नियमावलीको प्रावधान पूरा नगरे कारोबार रोक्का गरी थप कारबाहीको प्रक्रिया सुरु गरिने विभागको भनाइ छ । विभागले हालै २२ ट्रेकिङ कम्पनी र १३ ट्राभल कम्पनीको नाम सार्वजनिक गर्दै उनीहरूलाई नियमावलीले तोकेको प्रावधान कार्यान्वयन गर्न समयसीमा दिइएको हो ।

यी प्रावधान पूरा गरेनन् कम्पनीहरूले
विभागका अनुसार ट्राभल तथा ट्रेकिङ कम्पनीहरूले नियमावलीमा संशोधन भएबमोजिम तोकिएको चालू वा चुक्ता पुँजी, सुरक्षणबापतको बैंक ग्यारेन्टी र इजाजत वा इजाजत नवीकरण दस्तुर कम गरी बुझाएका थिए । कम्पनीहरूलाई नियमावलीले तोकेबमोजिमको चालू वा चुक्ता पुँजी पुर्‍याउन ६० दिनको समय दिइएको छ भने अन्य प्रावधान कार्यान्वयन गरी बाँकी रकम बुझाउन भने १५ दिनको समय दिइएको छ ।

ट्रेकिङ या ट्राभल कम्पनीको चुक्ता पुँजी २५ लाख
ट्राभल वा ट्रेकिङ एजेन्सीका रूपका काम गर्न चाहने व्यक्तिले इजाजत लिनुअघि कम्पनी वा फर्म दर्ता गर्नुपर्ने प्रावधान छ । नियमावलीमा भएको संशोधनबाट यसरी फर्म या कम्पनी दर्ता गर्दा कम्पनीको हकमा कम्तीमा २५ लाख रुपैयाँ या फर्मको हकमा १० लाख रुपैयाँ चुक्ता पुँजी तोकिएको छ । यसअघि फर्मको हकमा ट्राभल एजेन्सी चलाउने भए ५ लाख र ट्रेकिङ एजेन्सी चलाउने भए ३ लाख रुपैयाँ चुक्ता पुँजी भए पुग्थ्यो ।

कम्पनीको हकमा भने ट्राभल एजेन्सी चलाउने भए १० लाख र ट्रेकिङ कम्पनीका लागि ६ लाख रुपैयाँ चुक्ता पुँजी तोकिएको थियो । ट्राभल या ट्रेकिङ एजेन्सीले इजाजतपत्र लिनुअघि इजाजतपत्रको अवधिभर सुरक्षणबापत ५ लाख रुपैयाँबराबरको बैंक ग्यारेन्टी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नाममा राख्नुपर्ने भएको छ । नियमावली आउनुअघि दर्ता भएका कम्पनीले पनि इजाजतपत्र नवीकरण गराउँदा चुक्ता पुँजी कायम गरिसक्नुपर्ने प्रावधान छ । नेपालमा अधिक संख्यामा ट्राभल ट्रेकिङ खुल्ने क्रम बढेपछि त्यस अनुपातमा पर्यटक आगमन बढेको छैन ।

तपाईको प्रतिक्रिया