लगानीकर्ताको सम्पत्ति १५ खर्बभन्दा कम - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

लगानीकर्ताको सम्पत्ति १५ खर्बभन्दा कम

साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ । निरन्तर ओरालो लागेसँगै लगानीकर्ताको सम्पत्ति घटेर १४ खर्ब ९५ अर्ब रुपैयाँमा सीमित भएको छ । गत साताको अन्तिम कारोबार दिन बढेर बन्द भएको बजार आइतबार घटेको थियो ।

यस दिन पनि नेप्सेले सोही गतिलाई निरन्तरता दिएको छ । बजार खुलेको केही समयपछि नै ओरालो लागेको नेप्से साढे एक घन्टा अवधिपछि बढ्न थालेको थियो । तर, सोही गतिलाई निरन्तरता दिन नसकेपछि अन्तिम एक घन्टाको समयमा नेप्से पुनः ओरालो लागेको थियो ।

बजार घट्दा सेयर मूल्य सस्तिएका कारण खरिदकर्ताको चाप बढेको थियो । त्यसले बजारलाई सकारात्मक दिशातर्फ अगाडि बढ्न टेवा दिएको हो ।

तर, बजार बढ्दा नाफा सुरक्षित गर्न अल्पकालीन लगानीकर्ताहरूले सेयर बिक्री गर्न थालेपछि नेप्से पुनः ओरालो लागेको हो ।

अधिकांश लगानीकर्ताहरू अहिले पर्ख र हेरको अवस्थामा रहेको एक ब्रोकरले बताए । अर्थ मन्त्रालयले श्वेतपत्र जारी गर्ने र सो पत्रमा सेयर बजारलाई पनि सम्बोधन गर्ने घोषणा गरेका थिए ।

लगानीकर्ताहरू अहिले सोही सम्बोधनको पर्खाइमा रहेको उनको भनाइ छ । सो सम्बोधनले सरकारको सेयर बजारप्रतिको धारणा स्पष्ट हुने र बजारले निश्चित दिशा लिने उनले बताए ।

सोमबार नेप्से सात दशमलव शून्य ८ अंक घटेर १ हजार २ सय ७७ दशमलव शून्य १ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन एक दशमलव ५९ अंक घटेर २ सय ७१ दशमलव ४७ बिन्दुमा पुगेको छ ।

यस दिन १ सय ५४ कम्पनीको ३ हजार ९ सय ९९ पटकको कारोबारमा ३१ करोड ३१ लाख ६५ हजार ९ सय १६ रुपैयाँबराबरको ७ लाख ७० हजार ४ सय ९८ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

नेप्सेको १४ दिने आरएसआई यस दिन २७ दशमलव ४६ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद चापभन्दा बिक्री चाप बढी रहेको संकेत गर्छ ।

कारोबार संख्या र कारोबार रकमका आधारमा यस दिन एभरेष्ट बैंक लिमिटेड अगाडि रहेको छ । यस दिन सो बैंकको १ सय ६३ पटकको कारोबारमा १ करोड ५२ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ ।

कारोबार भएको सेयर संख्याका आधारमा भने एनआइसी एसियाको ४४ हजार ६ सय ७८ कित्ता सेयर खरिद–बिक्री भएको छ । यस दिन सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य ७ दशमलव शून्य २ प्रतिशत बढेको छ ।

काबेली विकास बैंक र महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ५ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५४ कम्पनीमध्ये ५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८० कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २४ कम्पनीको सेयर मूल्य भने यस दिन स्थिर रहेको छ ।

यस दिन उत्पादनमूलक समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ९२ प्रतिशत बढेको छ ।

होटेल समूहको परिसूचक यस दिन एक दशमलव ९३ प्रतिशत, माइक्रो फाइनान्स समूहको १ दशमलव ३ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ८५ प्रतिशत, बैंकिङ र अन्य समूहको शून्य दशमलव ६३ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५ प्रतिशत, बिमा समूहको शून्य दशमलव ११ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु