उपभोक्ता अधिकार दिवस १ चैतमा - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

उपभोक्ता अधिकार दिवस १ चैतमा

 आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले १ चैतमा उपभोक्ता अधिकार दिवस मनाउने भएको छ । ‘दिवस मनाएर उपभोक्ता अधिकार हनन हुनेगरी कसैलाई पनि व्यवसाय नगर्न सन्देश दिन खोजेका छौँ,’ विभागका निर्देशक लक्ष्मण श्रेष्ठले भने, ‘यसपटक स्थानीय तहलाई लक्षित गरी कार्यक्रम तयार पारिएको छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रदेशमा र विभागले केन्द्रमा विभिन्न कार्यक्रम गर्न लागेको छ । ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता’ नारा दिएर दिवस मनाउन लागिएको छ । यो वर्षदेखि अनुगमनको प्रमुख जिम्मेवारी स्थानीय तहलाई दिइएका कारण सोही विषयलाई नारामा समावेश गरिएको उनले बताए ।

विभागले पुस मसान्तसम्म ३ हजार ५ सय ६० फर्ममा अनुगमन गरेको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अनुगमनले सचेतना वृद्धि गरेको बताए । ‘प्रभावकारी अनुगमनका माध्यमबाट बिस्तारै बजारका कैफियत कम गर्ने दिशामा अघि बढिरहेका छौँ,’ उनले भने, ‘कैफियत भेटिएकालाई कारबाहीका लागि मुद्दा दर्ता गर्ने, प्रहरीलाई मुद्दा दर्ताका लागि फाइल हस्तान्तरण गर्ने काम गरिरहेको छौँ ।’

यो वर्ष पोलिक्लिनिक, औषधि पसललगायत स्वास्थ्य क्षेत्रका करिब एक सय संस्थालाई कारबाही गरिएको उनले बताए । पछिल्लो समय अटोमोबाइल, स्कुल र अस्पतालविरुद्ध विभागले नाफा बढी लिने, सेवा शुल्क बढी लिनेलगायत कैफियतका आधारमा कारबाही प्रक्रिया अघि बढाएको दाहालले बताए ।

तपाईको प्रतिक्रिया