न्यायाधीश जबराद्वारा इजलास बहिष्कार - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

न्यायाधीश जबराद्वारा इजलास बहिष्कार

कान्तिपुर पब्लिकेसन र डा. गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइको दोस्रो दिन न्यायाधीश चोलेन्द्रशमशेर जबराले इजलास बहिष्कार गरेका छन् । सुनुवाइको पहिलो दिन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासमा बसेका न्यायाधीश जबराले दोस्रो दिन सोमबार इजलासमा बस्न अस्वीकार गरेपछि सुनुवाइ स्थगित भएको छ । प्रधानन्यायाधीश पराजुली, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र तेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा आइतबारबाट बहस सुरु भएको थियो । बहस नसकिएपछि सो मुद्दा हेर्दाहेर्दै सूचीमा राखिएको थियो ।

इजलासमा बस्न नैतिक हिसाबले मिलेन : जबरा
सोमबार इजलासमा प्रवेश गरेका न्यायाधीश जबराले प्रधानन्यायाधीश पराजुली गत २१ साउनमै उमेरहदका कारण अवकाश भइसकेकाले आफू इजलास नबस्ने बताए । ‘मेरो यो मुद्दामा फरक राय छ,’ न्यायाधीश जबराले भने, ‘म उहाँ (प्रधानन्यायाधीश)ले तोकेको इजलासमा बस्दिनँ । हामीले पहिला प्रधानन्यायाधीशको जन्ममितिको कुरा थाहा पाएनौँ । अहिले थाहा भयो । यस्तो अवस्थामा म हेरेर बस्दिनँ । सेवानिवृत्त भइसकेको व्यक्तिले तोकेको इजलासमा बस्न कानुनी तथा नैतिक हिसाबले नमिल्ने देखिएको हुँदा सोहीबमोजिम आदेश गर्ने निर्णय गरेको छु ।’ यति भन्दै उनी इजलासबाट बाहिरिए । इजलासबाट बाहिरिएको १० मिनेटको बीचमा जबरा सर्वोच्च अदालतपरिसरबाटै घर हिँडेका थिए । उनी बाहिरिएसँगै सोमबारको सुनुवाइ स्थगित भएको हो ।

इजलास बहिष्कारसँगै जबरा विवादमा
जबराले सोमबार प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेसँगै सो विषयमा फरक–फरक धारणा सार्वजनिक भएको छ । पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले न्यायाधीश जबराको कदम उपयुक्त नभएको बताए । ‘सुरुका दिनमा अवहेलना मुद्दाको सुनुवाइमा बस्ने, तर दोस्रो दिन म प्रधानन्यायाधीश मान्दिनँ भन्न कसरी मिल्छ ?’ श्रेष्ठले भने, ‘इजलास नै नबसी न्यायाधीशले वक्तव्य निकाल्न मिल्दैन ।’

जबराको कदम उचित : अर्याल
अधिवक्ता ओमप्रकाश अर्यालले न्यायाधीश चोलेन्द्रशमशेर जबराले लिएको निर्णयलाई उचित मानेका छन् । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबारे नयाँ तथ्य थाहा पाएपछि न्यायाधीश जबराले यो कदम लिएको उनले बताए । उनले भने, ‘प्रधानन्यायाधीशको कार्यकाल सकिएको कुरा लुकाइएको रहेछ । यो थाहा पाएपछि चोलेन्द्र श्रीमान्ले लिनुभएको कदम नैतिक हो ।’

न्यायालयमाथि हस्तक्षेप भयो :  बार
नेपाल बार एसोसिएसनले न्यायाधीश जबराको कदम न्यायालयमाथि हस्तक्षेप भएको निष्कर्ष निकालेको छ । ‘कान्तिपुर पब्लिकेसन र डा. गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको बृहत् पूर्ण इजलासमा तोकिएका न्यायाधीश चोलेन्द्रशमशेर जबराबाट जारी भएको वक्तव्य न्यायमूर्तिको आचारसंहिताविपरीत र अदालतमाथिको प्रहार हो,’ बारका महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बारले पेसी सूचीमा चढेको मुद्दाको तथ्यभन्दा बाहिर गएर प्रधानन्यायाधीशप्रति लाञ्छना लगाउने, न्यायमूर्तिको न्यूनतम मर्यादा र आचरणलाई समेत ख्याल नगरी वक्तव्यबाजी गर्ने कार्यबाट आफू दुखित भएको जनाएको छ । ‘केही व्यक्तिविशेष, समूह र तप्कालाई चित्त बुझेन भन्दैमा समग्र न्यायिक निकायलाई प्रयोगशालाका रूपमा प्रयोग गर्न खोज्नु शोभनीय पक्ष होइन,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानन्यायाधीशका विकल्प
१. प्रधानन्यायाधीश गोपाल पराजुलीले अर्को इजलास गठन गरेर मुद्दाको प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

२. दोस्रो विकल्पमा उनले आफूबाहेकको पाँच सदस्यीय पूर्ण इजलास गठन गरेर अवहेलनाको मुद्दा प्रक्रिया अगाडि बढाउन सक्ने कानुन व्यवसायीहरूको भनाइ छ ।

३. तेस्रो विकल्पमा उनले हाल उक्त मुद्दालाई स्थगित गराउने र कुनै समय मिति तोकेर मुद्दाको सुनुवाइ गर्न सक्नेछन् ।

४. चौथो विकल्पमा उनी अदालतबाट बिदा लिएर बस्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया