विकासका लागि एक हुन मुख्यमन्त्री पोखरेलको आग्रह - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विकासका लागि एक हुन मुख्यमन्त्री पोखरेलको आग्रह

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकासका लागि एक हुन आग्रह गरेका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले विकास निर्माणका लागि सबै दलबाट समर्थन पाउने आस गरेको बताए । उनले आइतबार विश्वासको मत लिएका थिए ।

‘अब विकासमा सत्ता र प्रतिपक्षमा विभाजित नहोऔँ, मिलेर सुशासन र विकासका लागि अघि बढौँ,’ उनले भने, ‘म सबै राजनीतिक दलसँग यही आग्रह गर्न चाहन्छु, त्यसो गर्न सक्दा मात्रै लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न सक्छौँ र जनआकांक्षा पूरा गर्न सक्छौँ ।’

प्रदेश ५ लाई समृद्ध बनाउन लागिपर्ने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकास आयोजना तथा कार्यक्रम अगाडि बढाइने स्पष्ट पारे । समृद्ध प्रदेश बनाउन जनताको प्रत्यक्ष सहभागिताको मोडलबाट विकासमा जुट्ने पनि उनले बताए ।

सरकारका जटिलता
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश तथा स्थानीय सरकारले विभिन्न जटिलता सामना गरिरहनुपरेको सो अवसरमा उल्लेख गरे । यसो हुनुमा उनले पूर्ववर्ती सरकारलाई दोष दिए । ‘अघिल्लो सरकारले संघीयता कार्यान्वयनका सन्दर्भमा आवश्यक तयारीका साथ काम अघि नबढाएका कारण प्रदेश र स्थानीय सरकारले जटिलताको सामना गर्नुपरिरहेको छ,’ मुख्यमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै, मुख्यमन्त्री पोखरेलले संघीयता कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा रहेको कर्मचारी समायोजनको प्रक्रिया अघि बढ्न नसकेको बताए । ती प्रक्रिया अघि बढ्ने क्रमसँगै प्रदेश सरकारमातहत रहने विभिन्न विभाग र निर्देशनालय गठन भएको अवस्थामा मात्रै संघीयताको व्यावहारिक कार्यान्वयन हुने र सेवाप्रवाह राम्रो हुने भन्दै उनले यतिवेला प्रदेश सरकारले यसै कुरामा जोड दिएको बताए ।

प्रदेशको नामकरणमा समस्या नहुने दाबी
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नामकरणका सवालमा समस्या नहुने दाबी गरे । ‘नामकरणका सन्दर्भमा त्यति ठूलो समस्या देखिँदैन, प्रस्ताव आए सजिलै पास हुन्छ,’ उनले भने । उनले प्रदेश नामकरणको विषय उपयुक्त समयमा संसद्मा जाने पनि बताए । मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानीको विषय पनि सबैको सहमतिमा टुंग्याइने बताए ।

व्यवस्थित, आधुनिक, सुविधायुक्त स्थायी राजधानी हुने उनले बताए । उनले जनताका आकांक्षालाई योजनामा ढालेर विकास गरिने बताए । उनले प्रदेशको विकासका लागि कृषिको जगमा टेकेर आन्तरिक स्रोतमा आधारित औद्योगिकीकरण गर्दै पर्यटन विकासमा लाग्नुपर्नेमा  जोड दिए ।

तपाईको प्रतिक्रिया