आर्मीलाई सातौँ उपाधि - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

आर्मीलाई सातौँ उपाधि

त्रिभुवन आर्मीले सिजनको सातौँ उपाधि जित्ने क्रममा सोमबार तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी उचालेको छ ।

फाइनलमा आयोजक झापा–११ लाई सडन डेथमा ८–७ ले हराउँदै आर्मीले दोस्रोपटक झापा गोल्डकपको उपाधि जितेको हो । जितसँगै आर्मीले १२ लाख ५१ हजार र उपविजेता झापाले ६ लाख पाएका छन् ।

सडन डेथबाट निर्णय
आर्मी र झापाले निर्धारित र थप समयमा १–१ को बराबरी खेलेका थिए । त्यसपछि ट्राइब्रेकरमा दुवैले ३–३ गोल गरेपछि उपाधिको छिनोफानो सडन डेथबाट भएको हो । सडन डेथमा आर्मीले झापालाई ८–७ ले पराजित गर्दै उपाधि जित्यो । खेलको ४८औँ मिनेटमा कर्ण लिम्बूले झापालाई १–० को अग्रता दिलाएका थिए । तर, उसले ७८औँ मिनेटमा गोल खान पुगेको थियो । आर्मीका भरत खवासले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलमा तनाव
३९औँ मिनेटमा दिनेश हेन्जनको १ गोललाई रेफ्रीले अफसाइड दिएपछि आर्मी आक्रोशित बनेको थियो । मैदानमा घम्साघम्सी भएपछि आर्मीका खेलाडी केही समय मैदानबाट बाहिरिए । त्यसपछि पुनः खेल सुचारु हुँदा आर्मीका कप्तान भरततर्फ जुत्ता फालिएपछि झन्डै १० मिनेट खेल रोकिन पुगेको थियो । खेलका क्रममा झापा र आर्मीका खेलाडीबीच पटक–पटक विवाद भएको थियो । खेलमा हात हालाहालसमेत भयो ।

प्रतियोगिताका उत्कृष्ट
झापाका मिडफिल्डर योगेश गुरुङ मोस्ट भ्यालुएबल प्लेयर बन्दै मोटरसाइकल प्राप्त गर्न सफल भए । उत्कृष्ट गोलरक्षकमा आर्मीका विकेश कुथू, डिफेन्डरमा झापाका देवेन्द्र तामाङ, मिडफिल्डरमा आर्मीका सन्तोष तामाङ र प्रशिक्षकमा आर्मीका चुनबहादुर थापा उत्कृष्ट घोषित भए ।

उनीहरूले जनही ३१ हजार रुपैयाँ प्राप्त गरे । झापाका स्ट्राइकर कर्ण लिम्बूले सर्वाधिक गोलकर्ता बन्दै ५१ हजार प्राप्त गरे । उनले प्रतियोगिताभर ३ गोल गरेका थिए । फाइनल खेलमा झापाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

तपाईको प्रतिक्रिया