पक्राउ परेकालाई छोड्न माग गर्दै प्रहरी कार्यालय घेराउ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

पक्राउ परेकालाई छोड्न माग गर्दै प्रहरी कार्यालय घेराउ

तीन महिनाअघि भएको एक जोडी दम्पतीको हत्या घटनामा संलग्न भएको आशंकामा प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–६ का एक व्यक्तिलाई पक्राउ गरेपछि स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–६ बजनीमा गत मंसिर १५ गते ३७ वर्षीय दीपक सुवेदी र उनकी ३२ वर्षीया श्रीमती दीपाको हत्या भएको हो ।

व्यावसायिक गाईपालन गर्दै आएका सुवेदी दम्पतीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय समसुल मियाँलाई पक्राउ गरेपछि मियाँसमर्थित गाउँलेले प्रहरी कार्यालय घेराउ गरेका हुन् । सोमबार प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा परी प्रहरीसहित पाँचजना घाइते भएका छन् । मियाँसमर्थकले उनी निर्दोष भएको दाबी गरेका छन् ।

वडाध्यक्षको नेतृत्वमा प्रहरी कार्यालय घेराउ
प्रहरीका अनुसार जितपुर–सिमरा उपमहानगरपालिका–६ का वडाध्यक्ष क्यामुदिन अन्सारीको नेतृत्वमा स्थानीयवासी प्रहरी कार्यालय पुगेका थिए । प्रहरी कार्यालय पुगेर उनीहरूले समसुल निर्दोष रहेको भन्दै छाडिदिन आग्रह गरेका थिए । तर, प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएकाले तत्काल छाड्न नमिल्ने बताएपछि गाउँलेले प्रहरी कार्यालयमा ढुंगामुढा सुरु गरेका थिए ।

 झडपमा प्रहरीसहित ५ घाइते
झडपमा परी वडाध्यक्ष अन्सारी र सोही ठाउँकी सोनम खातुन घाइते भएका छन् । सोनमको सिमरास्थित अल्पाइन हस्पिटलमा उपचार भइरहेको छ । झडपमा परी महिला प्रहरी जवान विष्णुकुमारी कार्की र प्रहरी जवानहरू बखतबहादुर खड्का र तेजबहादुर चौहान घाइते भएका छन् ।
प्रहरीले पक्राउ परेका मियाँलाई १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । समसुललाई जितपुर–सिमरा–६ स्थित उनकै घरबाट शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया