हात्तीकाे आक्रमणमा १० रोहिंग्या शरणार्थीको मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

हात्तीकाे आक्रमणमा १० रोहिंग्या शरणार्थीको मृत्यु

हात्तीको आक्रमणमा १० रोहिंग्या शरणार्थीको मृत्यु भएको छ । रोहिंग्या शरणार्थी बस्तीमा पसेका हात्तीको आक्रमणमा बंगलादेशका विभिन्न शिविरमा आश्रय लिएका १० शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो । बंगलादेशको कुटुपालुङ शरणार्थी शिविर र वरपरका क्षेत्रमा हात्तीको आक्रमणमा परी उनीहरूको मृत्यु भएको राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय युएनएचसिआरले जनाएको हो । सो क्षेत्रमा झन्डै ४० हात्तीको हुल पसी शरणार्थीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट दर्जनौँ शरणार्थी घाइते भएको पनि राष्ट्रसंघले जनाएको छ ।

शरणार्थी शिविरको सुरक्षामाथि चासो व्यक्त गर्दै युएनएचसिआरले भनेको छ, ‘हात्ती आक्रमणले रोहिंग्या शरणार्थीको बसोवास रहेका बस्ती जोखिममा रहेको विषयप्रति राष्ट्रसंघको ध्यानाकर्षण भएको छ ।’ राष्ट्रसंघले शरणार्थी बस्ती रहेका क्षेत्रमा सुरक्षा प्रदान गर्न छिट्टै नयाँ योजना ल्याउन बंगलादेश सरकारसमक्ष माग गरेको छ ।

म्यानमारको रोहिंग्या समुदायमाथि सेनाले गरेको कारबाहीबाट रोहिंग्या समुदायका हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने झन्डै सात लाख रोहिंग्या विस्थापित भएका छन् । विस्थापितहरूले बंगलादेशलगायतका छिमेकी मुलुकमा शरण लिएका छन् ।

पछिल्लो समय रोहिंग्या शरणार्थीविरुद्ध म्यानमारको सेनाले कडा कारबाही चलाएपछि देश छोडी बिदेसिने शरणार्थी संख्यामा उल्लेख्य वृद्धि भएको थियो । यसको बंगलादेशलगायतका देशमा नकारात्मक प्रभाव परेपछि सम्बन्धित मुलुकले आफ्ना देशका नाकामा सुरक्षास्थितिलाई मजबुत बनाएका छन् । केही रोहिंग्या बंगलादेश र म्यानमारको सीमा क्षेत्रको जंगलमा बस्न बाध्य छन् । उनीहरू बसेको बस्तीमा हात्ती, बाघलगायतका जंगली जनावरको जोखिम बढेको बताइन्छ ।

शरणार्थीको स्वदेश फिर्तीका लागि बंगलादेश र म्यानमारका अधिकारीहरूबीचको सहमतिबमोजिम अक्टोबरमा एक समिति गठन गरिए पनि शरणार्थीहरू अझै पनि घर फर्किन पाएका छैनन् । शरणार्थी फर्काउने विषयमा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र बंगलादेशका विदेशमन्त्री एएच महमद अलीबीच म्यानमारको न्यापितमा चार महिनाअघि नै सहमति भएको थियो । शरणार्थी फिर्ताका विषयमा दुई देशबीच सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । शरणार्थी फर्काउने विषयमा दुई देशको विदेश मन्त्रालयका अधिकारीले सहमतिपत्रमा हस्ताक्षरसमेत गरेका थिए । तर, सहमति कार्यान्वयन नहुँदा उनीहरूको स्वदेश फिर्ता हुने कार्यक्रम अन्योल बनेको छ ।

म्यानमारको रखाइन राज्यमा अहिले पनि ‘जातीय सफाया’ कायमै रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । रखाइन प्रान्तमा अझै पनि जातीय सफाया कायमै रहेको र अधिकांश मुस्लिम रोहिंग्या भोकमरीकै अवस्थामा रहेको संयुक्त राष्ट्रसंघका मानवअधिकारसम्बन्धी उपमहासचिव एन्ड्र्यु गिलमरले बताएका छन् ।

तपाईको प्रतिक्रिया