मौरिससकी प्रथम महिला राष्ट्रपति राजीनामा दिँदै - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

मौरिससकी प्रथम महिला राष्ट्रपति राजीनामा दिँदै

आर्थिक अपचलनको आरोप लागेका मौसिससकी राष्ट्रपति अमिनाह गरिब फकिमले राजीनामा दिने भएकी छन् । मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथले सो जानकारी दिएका हुन् ।

अफ्रिकी महादेशमै एक मात्र महिला राष्ट्राध्यक्ष रहेकी गरिब फकिममाथि एक गैरसरकारी संस्थाले उपलब्ध गराएको बैंक कार्ड प्रयोग गरी आर्थिक अपचलनमा संलग्न रहेको आरोप लागेको छ । उनले यही मार्च १२ मा मौसिससको ५०औँ स्वतन्त्रता दिवसमा सहभागी भएपछि राजीनामा दिने तयारी गरेको जनाइएको छ ।

‘गणतन्त्र मौरिससका हाम्रा राष्ट्रपति गरिब फकिमले पदबाट राजीनामा दिने तयारी गरेकी छन् । राष्ट्र प्रमुखबाट हुने उनको बहिर्गमनका लागि हामीबीच सहमति भएको छ,’ प्रधानमन्त्री जुगनाथ पोर्टले भने । प्रधानमन्त्रीले राष्ट्रपतिको राजीनामा कुन दिन हुने भन्ने विषयमा भने केही खुलाइएको छैन । प्रधानमन्त्री जुगनाथले भने, ‘पदभन्दा राष्ट्रको हित सर्वोपरी हुने गर्छ । त्यसैले राष्ट्रका लागि आफ्नो पद त्याग्न तयार भएकी हुन् ।’

५५ वर्षीया गरिब फकिमले सन् २०१५ मा मौरिससको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । अन्तर्राष्ट्रिय रूपमा वैज्ञानिक तथा जीव विज्ञान विशेषज्ञका रूपमा ख्याती कमाएकी गरिब फकिमको बारेमा यहाँको एल एक्सप्रेस दैनिकले लन्डनस्थित प्लानेट इन्स्टिच्युट नामक गैरसरकारी संस्थाको नाममा रहेको बैंकको कार्डबाट हजारौँ अमेरिकी डलरबराबरको रकम दुरुपयोग गरेको आरोप लगाएको छ ।

क्रेडिट कार्ड उपलब्ध गराउने सो संस्थाको संस्थापक एंगोलियाली अर्बपति अल्भारो सोब्रिन्हो पनि सो गैरकानुनी आर्थिक कारोबारमा संलग्न भएकाले उनीमाथि समेत छानबिन भइरहेको छ ।

तपाईको प्रतिक्रिया