किमको पहलपछि हुन सक्छ ट्रम्पसित भेटघाट - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

किमको पहलपछि हुन सक्छ ट्रम्पसित भेटघाट

अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको बहुचर्चित सम्भावित भेटघाटबारे पहिले उत्तर कोरियाले केही ठोस कदम उठाउनुपर्ने सर्त लगाएको छ ।

उत्तर कोरियाले कुनै ठोस कदम उठाएको अवस्थामा मात्र यो भेटघाट सम्भव छ । तर, बिहीबार जब बैठकको निम्तोबारे चर्चा सुरु भएको थियो, तब अमेरिकी प्रशासनले ट्रम्प र किम जोङ उनबीचको भेटघाटबारे कुनै सर्तको चर्चा गरेको थिएन ।

ह्वाइटहाउसकी प्रवक्ता सारा स्यान्डर्सले शुक्रबारको प्रेस ब्रिफिङका क्रममा भनिन्– यो बैठक त्यतिखेरसम्म हुन सक्दैन, जबसम्म उत्तर कोरियाले यसअघि वाचा गरेका केही विषयमा ठोस कदम उठाउँदैन । स्यान्डर्सले प्रस्ट रूपमा यो भने बताइनन् कि उत्तर कोरियाले कुन–कुन वाचा पूरा गर्नु छ या यस उच्चस्तरीय बैठकका लागि उत्तर कोरियाले के–कस्ता कदम उठाउनु छ ।

प्रवक्ता स्यान्डर्सका अनुसार उत्तर कोरियाको कथनी र करनीमा अन्तर नदेखिएपछि मात्र ट्रम्पका साथ बैठक हुन सक्छ । उनले अगाडि भनिन्– उत्तर कोरियाले केही वाचा गरेको थियो भन्ने हामीले बिर्सिनु हुँदैन । उसले आणविक हतियार त्याग्ने र आणविक मिसाइल परीक्षण नगर्ने पनि वाचा गरेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार उत्तर कोरियाले जबसम्म पूर्ण रूपमा आणविक हतियार त्याग्दैन, तबसम्म उसविरुद्ध लगाइएको प्रतिबन्ध जारी रहनेछ

एक्ल्याउने रणनीति
यस सम्भावित बैठकको अपेक्षाबारे स्यान्डर्सले भनिन्— हेर्नुस्, धेरै कुरा सम्भव छ । उसो त निकै सम्भावना नभएका पनि होइनन् । तर, म तपाईंलाई बताइदिऊँ कि राष्ट्रपतिले बैठकको निम्तो प्रमाणित गर्न सकिने खालका ठोस कदम उठाइनेछन् भन्ने विश्वाससाथ स्विकार्नुभएको हो ।

बिहीबार दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु योङले ह्वाइटहाउसमा यो घोषणा गरेका थिए कि मे महिनाअघि नै ट्रम्प र किम जोङ उनबीच भेटवार्ता हुनेछ । चुङका अनुसार यसक्रममा किमले आणविक बम र मिसाइल परीक्षण नगर्ने आश्वासन पनि दिएका छन् ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सका अनुसार अमेरिकाको उत्तर कोरियालाई बाँकी विश्वबाट अलग्याउने रणनीतिले काम गरिरहेको छ । उत्तर कोरियाद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेटवार्ता गर्ने निर्णय यस विषयको प्रमाण हो । तर, ह्वाइटहाउसले उत्तर कोरियाले यस बैठकअघि वा पछि आणविक हतियार त्याग्ने प्रक्रिया सुरु गर्नुपर्नेछ भन्नेबारे प्रस्ट गरेको छैन ।

ट्रम्पले गरेका थिए स्वागत
ट्रम्प र किमबीचको सम्भावित बैठक कहाँ र कहिले हुन सक्छ भन्ने विषयमा ह्वाइटहाउसले अहिले केही बताएको छैन । स्मरण रहोस्, अहिलेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियासितको कुराकानीलाई ‘अर्थहीन’ बताउने गर्थे । तर, बिहीबार ट्रम्पले पनि उनसितको वार्ताको निम्तोलाई स्वागत गरेका थिए ।

तर, अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले जबसम्म पूर्ण रूपमा आणविक हतियार त्याग्दैन, तबसम्म उसविरुद्ध लगाइएको प्रतिबन्ध जारी रहने प्रस्ट गरेका छन् । यसका साथै, अमेरिका र दक्षिण कोरियाबीच पहिल्यै तय भएका सैनिक अभ्यास पनि जारी रहनेछ । अमेरिकाले सम्भावित बैठक अमेरिका र उत्तर कोरियाबीचको सरकारी द्विपक्षीय वार्ताका रूपमा सीमित नहुने विषयमा जोड दिइरहेको छ । मानवअधिकार उल्लंघनका गम्भीर आरोपका कारण दशकौँदेखि उत्तर कोरिया अन्तर्राष्ट्रिय रूपमा अलग रहँदै आएको छ । आणविक र मिसाइल कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि उत्तर कोरियाविरुद्ध कडा प्रतिबन्ध लगाएको छ । अहिलेसम्म अमेरिका र उत्तर कोरियाका शीर्ष नेताबीच कहिल्यै कुनै भेटवार्ता भएको छैन ।
(बिबिसी हिन्दीका लागि न्युयोर्कबाट)
बिबिसी डटकम/हिन्दीबाट

तपाईको प्रतिक्रिया