ह्वाइट उत्पादनले रंगीन परिवर्तन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

ह्वाइट उत्पादनले रंगीन परिवर्तन

दूध उत्पादनका हिसाबले इलाम देशमै नाम चलेको जिल्ला मानिन्छ । त्यसैले त इलामलाई ‘ह्वाइट सिटी’का रूपमा विकास गर्ने राजनीतिक नेतृत्वको परिकल्पना छ । दुग्धजन्य उत्पादनबाट नै यहाँ धेरैको दैनिकी चलेको छ । इलामको पहाडी भेगमा डेरी उद्योग आर्थिक समृद्धिको आधार बन्दैै छ । सरकारको पर्याप्त सहयोग नभए पनि इलामवासीको दुग्ध व्यवसाय उद्योगमा रूपान्तरित हुँदै गएको छ ।

छुर्पीले उकास्यो जीवनस्तर
इलाम माईजोगमाई गाउँपालिका ३, का रमेश चम्लागार्इंलाई मावली दाजुले एक भारतीय कम्पनीमा काम गर्दा मनग्गे कमाइने आशा देखाए । उनलाई दार्जिलिङबाट सञ्चालित प्रोजिबल क्रिएटिम टे«डमार्क (पिटिसी) नामक नेटवर्किङ कम्पनीको सदस्य बनाए । रमेशले डेढ लाख रुपैयाँ २४ प्रतिशत ब्याजमा ऋण गरेर त्यसको सदस्य बने । आफू सदस्य भएपछि उनले पाँचजनालाई कम्पनीको सदस्य पनि बनाए । चम्लागाईंमातहतको सदस्य संख्या १३ पुग्यो । एक वर्षसम्म कमाइ त के आफ्नो लगानी पनि उठेन । नभएको ऋण लाग्यो । ठगिएको थाहा पाएपछि उनले काम छाडे, उनले सदस्य बनाएकाहरूले धम्क्याउन थाले । ‘गाउँघरमा दुस्मनी नै भयो नि !,’ विगत कोट्याउँदै उनले सुनाए, ‘आफूपनि बिग्रिएँ, अरूलाई नि बिगारेँ । म त डिप्रसनमै परेँ ।’

उनको हालत देखेपछि साथीहरूले व्यवसायका लागि सुझाए । डेरी स्थापना गरेर घिउ तथा छुर्पी उत्पादन गर्ने योजना बन्यो । एग्रोकल्चर नेपालले डेरी स्थापना गर्न लाग्ने आधा रकम दियो । चम्लगार्इंको परिवारले तीन लाख रुपैयाँ जोडजाम गरेर डेरी सुरु गरे । डेरी सुरु त गरे, तर उनलाई सहज भएन । नेटवर्किङ व्यवसायले उनको विश्वसनीयता नै गुमेको थियो । छरछिमेकीले उनको डेरीमा दूध नै दिएनन् । सुरुका दिनमा उनले घरकै दूध मात्र प्रशोधन गरे । थोरै दूधले मुनाफा नहुने भयो । उनले पाँचजना छिमेकीलाई अग्रिम पैसा दिएर दूध संकलन सुरु गरे । केही महिनापछि छरछिमेकीले उनलाई विश्वास गर्न थाले । अहिले चम्लगार्इंको डेरीमा दैनिक ६ सय लिटर दूध संकलन हुन्छ । दूध पर्याप्त भएपछि उनले आसपासका अरू तीनवटा डेरीलाई पनि आफ्नैमा मर्ज गरेर चलाइरहेका छन् । व्यवसाय राम्रो चलेपछि उनी अहिले उकासिएका छन् । अवस्था फेरिएको छ । उनी गाउँकै विश्वासिला साहु (व्यवसायी) बनेका छन् । डेरी व्यवसायबाट मासिक ३५–४० हजार कम्तीमा कमाइ हुने गरेको उनले बताए । हरेक दिन ६ सय लिटर दूध प्रशोधनबाट उनी २५ किलो छुर्पी उत्पादन गर्छन् । २० किलो घिउ तयार पार्छन् । एकै दिन उत्पादन भएको छुर्पीको बजार मूल्य २१ हजार हुन्छ । घिउको १० हजार । डेरी राम्रोसँग चलेपछि उनले घरैमा पसल पनि गरेका छन् । नेटवर्किङले ‘गुडविल’ गुमाएका २४ वर्षे युवक अहिले गाउँमा ‘रोल मोडल’ बनेका छन् ।

छुर्पीबाटै रोजगारी
पाँचथरको फाल्गुनन्द गाउँपालिका ३, राँकेका मनीष घिसिङ काठमाडाैँमा व्यापार गर्दै थिए । पढाइसँगै थालेको व्यापार भूकम्पले चौपट भयो । लगानी डुब्यो । उनी ऋणमा परे । उनी पनि घर फर्र्किएर छुर्पीको व्यापारमा लागे । बजार राम्रै पाए । ‘बजार निश्चित भएपछि आफैँ डेरी खोलेर छुर्पी बनाउन थालेँ,’ मनीषले भने, ‘केही किसानलाई गाई पाल्न लगानी गरेको छु । दूध आफैँ लिन्छु र घिउ तथा छुर्पी बनाउँछु ।’ उनले बजार खोज्न टाढा जानुपरेको छैन । राँकेबाट इलाम पुर्या‍उँदा बिक्री भइहाल्छ । उनले पनि उत्पादित सामान दिने एग्रोकल्चर नेपाललाई नै हो । मनीष किसानले बनाएको र आफ्नो छुर्पी कम्पनीमा पठाउँछन् । महिनामा चारदेखि पाँचहजार किलो छुर्पी संकलन गरेर बेच्छन् । उनी महिनाको कम्तीमा ३० देखि ४० हजार रुपैयाँसम्म कमाउँछन् । उनले काठमाडौंमा व्यवसाय गर्दाको ऋण चुक्ता गरिसके । ‘छुर्पीको बजार राम्रो रहिरह्यो भने अरू काम गरूँला भन्ने सोचेको छैन,’ मनीषले सन्तुष्टि जनाए,’ ‘हाम्रोमा कमाउने गरी गाई पाल्ने चलन थिएन, घरमा दूध खानलाई मात्रै पाल्थे । अहिले दुई–चारवटा माउ गाई पालेर राम्र्रो कमाउन सकिने भएपछि साथीहरूले गाई फर्म खोलेका छन् ।’

अभावले उद्यमी
मिलन खत्री सदरमुकाम बसेर पढ्थे । घर जाँदा सधैँ पैसा पाइँदैनथ्यो । अभाव टार्न उनी घरमा बनेको छुर्पी ल्याएर इलाम बजारमा बेच्थे । दुई सय रुपैयाँ किलोमा छुर्पी बिक्थ्यो । चार–पाँच केजी बेच्दा पढाइ खर्चको जोहो हुन्थ्यो । ९ देखि १२ कक्षा सक्दासम्म उनले छुर्पी बेचेरै पढ्ने खर्च जुटाए । पहिला छुर्पी बेच्न भारतसम्म भारी कसेर पुर्या‍उनुपथ्र्यो । इलाममै छुर्पी बिक्न थालेपछि बजारको झन्झट हट्यो । उनले पछि काठमाडौंमा भएका साथीहरूसँग मिलेर त्यहाँ पनि चिया, छुर्पी, घिउ बेचे । भूकम्पले काठमाडौं नराम्ररी प्रभावित भयो । त्यसले काठमाडौंको बजार बिग्रियो ।

बजार डामाडोल भएपछि केही युवाले लगानी गरेर एग्रोकल्चर नेपाल स्थापना गरे । तीनजनाले १०–१० लाख र दुईजनाले ५–५ लाख लगानी गरेर कम्पनी खोले । अचेल उनीहरू छुर्पीको बजार अध्ययन गर्दै निर्यातमा जुटेका छन् । इलाममा उत्पादन भएका अधिकांश छुर्पी उनीहरूकै कम्पनीमार्फत विदेश निर्यात हुन्छ । विदेशमा यो डगच्यु (कुकुरको चपाउने आहारा)का रूपमा प्रयोग हुने उनले बताए । पढाइ खर्च जुटाउन छुर्पी बेचेका मिलन अहिले जिल्लाका स्थापित व्यवसायी बनेका छन् । उनी छुर्पी उत्पादन र संकलन गरेर काठमाडौंको आफ्नै कार्यालयमा पठाउँछन् । मिलनलाई रोजगारी बनेको छ । उनी कम्पनीको काममा चार घन्टा समय दिन्छन् । त्यसबाफत उनी मासिक २७ हजार रुपैयाँ तलब लिन्छन् । अरू नाफा सेयरको अनुपातमा वितरण हुन्छ । एग्रोकल्चर नेपालले महिनामा १६ हजार किलो छुर्पी संकलन गर्छ । संकलन भएको छुर्पी काठमाडौंको प्रशोधन केन्द्रमा सफा गरिन्छ । छुर्पीलाई रोगमुक्त बनाउन निर्मलीकरण (युबिलाइज ट्रिटमेन्ट) गरिन्छ । विभिन्न आकारमा काटी प्याकेजिङ गरेर मागका आधारमा विदेश निर्यात हुने मिलनले बताए ।

बढ्दै उद्योग
प्रायजसो कृषिजन्य उत्पादनको बजार कमजोर छ । अलैँची, अदुवा, कफीलगायतको मूल्यमा बर्सेनि ह्रास भइरहेको छ । तर, छुर्पीको मूल्य भने बढ्दै छ । ५ वर्षअघिसम्म ४ सय रुपैयाँमा बिक्री गर्न मुस्किल हुने छुर्पी अहिले ९ सयदेखि १ हजार रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुन्छ । कुकुरको आहाराका लागि डगच्युका रूपमा छुर्पीले ख्याती कमाएपछि यसको माग बढेको हो । छुर्पीको निर्यात विदेशी बजारमा हुन थालेपछि मूल्यसमेत दोब्बरले वृद्धि भएको हो । बजार र मूल्य राम्रो भएपछि जिल्लामा धमाधम डेरी उद्योग स्थापना हुँदै छन् । २०७०-०७१ सम्ममा इलाममा दुई सय १५ वटा डेरी उद्योग थिए । २ हजार ६ सय २३ वटा विभिन्न किसिमका उद्योग रहेको इलाममा हाल ४ सय २१ डेरी उद्योग भएको घरेलु तथा साना उद्योग विकास समितिका नायव सुब्बा खड्ग बस्नेतले जानकारी दिए ।

दूधजन्य उत्पादन बढ्दै
दुग्ध विकास संस्थानले इलामबाट दूध निर्यात गर्न थालेपछि यहाँ व्यावसायिक दूध उत्पादन थालिएको छ । इलाममा कालोपत्रे सडक सञ्जाल बनेपछि संस्थानले फिक्कलमा चिस्यान केन्द्र राखेर दूध निर्यात थालेको हो । पहिले घरायसी प्रयोजनमा मात्रै सीमित हुने दूध बिक्री हुन थालेपछि व्यावसायिक गाईपालन सुरु भएको हो । दुग्ध संस्थान विराटनगरले संकलन गर्ने दूधको ८० प्रतिशत हिस्सा इलामको हुन्थ्यो, अहिले परिमाण घटेको छ । संस्थानको भन्दा डेरी उद्योगले मूल्य बढी दिन थालेपछि किसान डेरीतर्फ आकर्षित भएका हुन् । जिल्लामा उत्पादन भएको दूधबाट जिल्लामै घिउ, छुर्पी, चिज, ललिपप, पनिर तथा मिठाइजन्य परिकार बनाइन्छ । जिल्ला पशुसेवा कार्यालय इलामका अनुसार जिल्लामा बर्सेनि १ लाख २३ हजार ७ सय मेट्रिकटन दूध उत्पादन हुन्छ । इलाममा दूध उत्पादन बर्सेनि बढ्दै गएको पशुसेवा कार्यालयका पशु प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिए । आव २०७२-०७३ को तुलनामा २०७३-०७४ मा २ हजार १ सय ३८ मेट्रिक टन दूध उत्पादन बढेको तथ्यांक छ ।

तर, समस्या बाँकी नै
अन्य कृषिजन्य उत्पादनजस्तै छुर्पीको बजार पनि समस्यामुक्त छैन । पशुजन्य उत्पादन रोगमुक्त हुन नसक्दा युरोपियन मुलुकमा छुर्पी निर्यात हुन सकेको छैन । नेपाल खोरेतमुक्त राष्ट्र घोषणा नहुँदा नेपाली उत्पादन युरोपका मुलुकमा निर्यात गर्न प्रतिबन्ध छ । खोरेत उन्मुलनका लागि बर्सेनि पशुहरूलाई खोप दिइने गरेको भए पनि पूर्ण रूपमा रोगमुक्त हुन सकेको छैन । नेपाली कृषिजन्य वस्तु स्वस्थ उत्पादनका रूपमा प्रमाणित नहुँदा समस्या भएको व्यवसायी बताउँछन् । पशुजन्य उत्पादन स्वस्थ नहुँदा जापानमा निर्यात हुँदै आएको १० प्रतिशत छुर्पी अहिले बन्द छ । अन्य मुलुकमा उत्पादनलाई प्रतिस्पर्धी बनाउन सरकारले ग्यारेन्टी बसिदिने भए पनि नेपालले त्यसो गर्न सकेको छैन।

उन्नतिको नौ करोड
डेरीजन्य उत्पादनमा गुणस्तर सुधार र बजारीकणका लागि उन्नति परियोजनाले जिल्लामा मात्रै ९ करोड १३ लाख ६२ हजार रुपैयाँ खर्च गरिरहेको छ । इलाममा २९ वटा परियोजना चलिरहेका छन् । यसबाट चिलिङ सेन्टर, डेरी उद्योग, दूध संकलन केन्द्रको भवन निर्माण हुँदै छ । छुर्पी, खुवा बनाउने मेसिन दूध संकलन गर्ने गाडी चिलिङ भ्याटलगायतका सामग्री खरिद गरिने उन्नति परियोजनाको इलामस्थित कार्यालयले जनाएको छ । किसानलाई गुणस्तर सुधारका लागि तालिम थालिएको छ । ‘दूधको उत्पादन र गुणस्तर बढाउँदै स्वस्थ दूध उत्पादनका लागि किसानलाई विभिन्न तालिमको व्यवस्था गरिएको छ,’ उन्नतिका सामाजिक आर्थिक विज्ञ केशव सिलवालले भने । उनका अनुसार ५ हजार ३ सय ७८ परिवारका किसान यस्तो तालिमबाट लाभान्वित हुनेछन् । यसरी इलामलाई ह्वाइट सिटी बनाउने परिकल्पना किसान स्तरबाटै अगाडि बढाइँदै छ ।

तपाईको प्रतिक्रिया