गणतन्त्र हो, गणतन्त्र होइन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

गणतन्त्र हो, गणतन्त्र होइन

समय पनि कहिलेकाहीँ ईश्वर वल्लभको कविता जस्तो बनिदिन्छ, ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ । पहिले भनियो– द्वन्द्वको समय छ । बिहान होस् या बेलुका, औँसी होस् या पूर्णिमा जेसुकै हुन सक्छ । हिँडिरहेको बालकलाई गोली लाग्न सक्छ, पँधेरामा नुहाइरहेकी किशोरी मारिन सक्छे, घरमै बसिरहेको वृद्ध बमले उडाइन सक्छ । पछि, लामो समय हामीले संक्रमणकालको मन्त्र जपेर बस्यौँ । संक्रमणकालको समय छ, महँगी बढ्न सक्छ । मान्छे मारिन सक्छ । बस्तीमा आगो लाग्न सक्छ । कोही सामूहिक बलात्कारको सिकार हुन सक्छ । बन्द–हडताल हुन सक्छ । अस्पताल जाँदै गरेकी गर्भवती चक्काजामको सिकार भएर बाटैमा सुत्केरी हुन सक्छिन् । अब संक्रमणकाल सकिएपछि बिस्तारै ठीक हुन्छ भन्दै बस्यौँ । पर्खिंदै बस्यौँ । संविधान बन्यो र हामीले भन्यौँ– अब ठीक हुन्छ । तर, आन्दोलन भइरहे र तराईमा अनेक ढंगले दर्जनौँ मानिस मारिए । अझै कोही जेलमै छन् ।

जब प्रतिनिधिसभामा निर्वाचित सदस्य राजनीतिक कारणले शपथ खान नपाएर जेल पर्छ अनि संक्रमणकाल सकियो भन्ने उत्तरहरू फिका लाग्छन् । यो साता छापाहरूमा यस्ता समाचार आएका छन् जसले हामीलाई झस्काउँछन् । कतै साना काखे नानीहरू बलात्कृत भएका छन् । कतै किशोरीको बलात्कारपछि हत्या गरिएको छ । कतै बलात्कारी बचाउन धनले, प्रहरी शक्तिले र कतिपय वेला न्यायालयले सहयोग गरेको छ । स्थानीय तहको निर्वाचनपछि हामीलाई लाग्यो, अब गणतन्त्रसँगै सिंहदरबार गाउँ–गाउँ पुग्यो । गणतन्त्र अर्थात् जनताको शासन । अब मुखिया र ठालुहरू रहँदैनन् । गाउँमा सबै कामको फैसला गर्छन् जनताले छानेका प्रतिनिधिले । जनताले छानेका हुनुको अर्थ हो, जे गर्दा जनतालाई सुखसुविधा हुन्छ, त्यही हुनेछ । जे गर्दा जनता अर्थात् व्यक्ति–व्यक्तिले न्याय पाउँछ, त्यही हुनेछ । अब कमसेकम दलितले दलित भएकै कारण हेपिनुनपर्ला । गरिब भएको कारण कसैले पनि न्यायबाट वञ्चित हुन या अन्याय सहनुनपर्ला । महिला भएकै कारण कसैको इज्जत नलुटिएला । तर, समाचारहरू त्यसविपरीत आइरहेका छन् ।

एउटी अबोध किशोरीमाथि यो हदसम्मको अमानवीय व्यवहार हुँदा पनि हाम्रो गणतन्त्र रमिते बनिबस्छ भने यस्तो शासन व्यवस्था गणतन्त्र हो भनेर कसरी स्विकार्नु ?

कैलालीको एउटा गाउँको आँगनमा सारा गाउँलेको बीचमा एउटी किशोरीलाई घेरेर एउटा मूर्खले कुटपिट गर्छ, बोक्सीको नाममा, बोक्सी झार्ने नाममा । विद्यालयमा कक्षा ११ पढ्दै गरेकी, जीवनका सपनाहरू सजाउँदै गरेकी किशोरी, आफ्ना आमाबाबुकै अघिल्तिर आफन्तजन र छिमेकीबाट पिटिन्छे र बोक्सी भएको स्वीकार गर्न बाध्य बनाइन्छे । उदेकलाग्दो विषय, हामीले गणतन्त्रको संरक्षक मानेका, हाम्रो संविधानले हाम्रो राजनीतिक चेत, परम्परा र लोकतान्त्रिक मूल्यले पनि भन्छन्, गाउँको प्रमुख गणतन्त्रका प्रमुख हुन्, गणहरूका प्रमुख । उनी नै ती किशोरीलाई त्यतिविघ्न यातना दिनेहरूलाई पो छुटाउन बल गरेको या नपक्रिए हुन्थ्यो भनेझैँ गरेको, एक प्रकारले अपराधीको कर्मलाई ठीकै त हो नि भनेझैँ गरेको भेटिन्छन् र निरीह किशोरीको परिवारजस्तै हाम्रो संविधानलाई पो निरीह बनाई बस्छ । प्रहरी प्रशासन छ, आफ्ना जिम्मेवारी पूरा गर्ने, एउटा नागरिकको जिउधनको रक्षा गर्ने दायित्वबाट पन्छिन खोज्छ र अनेक काइते कानुनी भाषाको सहारामा आफूलाई सही साबित गर्ने असफल कोसिस गरिबस्छ । यसरी गाउँमा एउटी किशोरीमाथि अमानवीय व्यवहार हुँदा हाम्रो गणतन्त्र रमिते बनिबस्छ । यो देख्दा यसो भन्न सकिन्छ, यो त गणतन्त्र हो, गणतन्त्र पनि होइन भनेजस्तो भयो । यसलाई बदलौँ । र, हरेक नागरिकलाई यसबारे सचेत बनाउने अभ्यास थालौँ ।

तपाईको प्रतिक्रिया