बर्बरताको पराकाष्ठा - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

बर्बरताको पराकाष्ठा

टिप्पणी

शनिबार बिहान ८ बजेर ३० मिनेट जाँदा घाम ताप्दै नयाँ पत्रिका दैनिक पढ्न बसेँ । ‘कक्षा ११ की किशोरीलाई बोक्सी आरोपमा कुटपिट’ पहिलो पृष्ठमा छापिएको समाचार पढ्न थालेँ ।

उसो त यो समाचारबारे पहिलोपटक पत्रिकाबाटै जानकार भएको भने होइन । अघिल्लो दिन नै कैलालीको घोडाघोडी नगरपालिका— ५ देउकलियाकी राधा चौधरीमाथि भएको दानवीय व्यवहारबारे सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको भिडियो निकै गाह्रो गरी हेरिसकेकी थिएँ ।

नयाँ पत्रिकाका लागि सहकर्मी तेजराज भट्टले तयार पारेको रिपोर्ट पढ्दै जाँदा सो घटनाले मानव सचेत प्राणी हो र भन्ने प्रश्न त उब्जाएकै थियो । घटनाको भिडियो हेर्दै गर्दा कुनै चलचित्रका रोमान्टिक दृश्य हेरेझैँ मजा लिइरहेका मानव नामका बुख्याचाहरूको झुन्ड देखेर मानव हुनुमा आफैँमाथि पनि घृणा जागेको थियो । तर, शनिबार घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको अन्तर्वार्ता पढेपछि उब्जिएको आक्रोशले भने सीमा नाघ्यो । उनले बोलेका शब्द–शब्दले मनमा उब्जाएको रिसको झटारो एकपछि अर्को गरेर बाहिर निस्कन हतारिँदै थिए । सबै रिपोर्ट पढिसकेर पुनः पहिलो पृष्ठमा फर्किएँ र जनताका प्रतिनिधि भनिएका मानवीयता हराएका मेयरको तस्बिर देख्दा बिरक्त लाग्यो । उनलाई पटक–पटक धिक्कारेँ । उनलाई त जनप्रतिनिधि भन्न पनि लाज लागेर आयो ।

१८ वर्षीया पढेलेखेकी एउटी किशोरी राधा चौधरीले निर्दोष हुँदाहुँदै त यतिविघ्न अमानवीय बर्बर पीडा सहनुपर्यो भने अन्य सोझासीधा र अशिक्षित नेपाली महिलाले हाम्रो पछौटे समाजमा कति सास्ती झेल्नुपर्ला ? कल्पना गर्दा पनि आङै जिरिंग भयो । कथित सभ्य समाजको अगाडि लगातार ६ घन्टासम्म कुटिएकी राधा चौधरीबारे उनीसँग केही जानकारी लिनुभयो भन्ने प्रश्नमा घोडाघोडी नगरका मेयरले उत्तर दिएका छन्— अहँ, किन लिनु र ? मेयरसा’ब, कम्तीमा तपाईं मेयर हुनुअघि एक मानव हो र तपाईंका परिवारमा पनि छोरी–चेली अवश्यै होलान् । के उनीहरूमाथि पनि यस्तो अमानवीय व्यवहार भएको भए जानकारी लिनुहुन्नथ्यो ? के तपाईं त्यतिखेर पनि मौन बसेर अपराधीलाई सघाउन तयार हुनुहुन्थ्यो ? तपाईंको शब्दमा ‘मान्छेका अनेक काम हुन्छन् ।’ यति संवेदनशील घटनामाथि मानवताको नाताले पनि चासो राख्न नसक्ने तपाईंले गर्ने अनेक कामचाहिँ के–के हुन् ? कसरी पत्याउन सकिन्छ कि जनताको बहुमूल्य मतलाई सदुपयोग गर्नुपर्छ भन्नेसम्मको चेत तपाईंमा छ भनेर ? प्रश्न यति मात्र होइन, अंग्रेजी विषयमा डिग्री गरेको छु भन्ने तपाईंले राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा पढाउँदा कस्तो ज्ञान दिनुभयो होला ? आफैँले पहिले पढाएको विद्यालयमा पढ्ने किशोरीमाथि निर्मम कुटपिट हुँदा रमिते बन्न सक्ने तपार्इंको यो क्षमतालाई पहिले नै चिन्न सकेको भए सायद त्यहाँका स्थानीयले तपाईंलाई आफ्नो अमूल्य मत दिने गल्ती गर्दैनथे होलान् ।

हो, तपाईंले भने जस्तै दोषीलाई कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन । तर, घटनाको सत्य–तथ्य बुझ्ने प्रयाससमेत नगर्ने तपाईंले गर्नुपर्ने कामचाहिँ के–के रहेछन् कुन्नि ? तपाईं मेयर नहुनुभएको भए पनि कम्तीमा एक शिक्षित नागरिकले आफ्नै समाजमा के भइरहेको छ भन्ने चासो राख्नुपथ्र्यो, तर जनताले विश्वाससाथ चुनेर पठाएको तपाईंको व्यवहारले मानवीयतासँगै जनमतकै धज्जी उडाएको छ । मेयरसा’बले नै घटनाबारे चासो किन लिनु र भन्न सक्छन् भने बाँकी जमातले रमिता हेर्यो भनेर के आक्रोशित हुनु र ? मिडियाले गरेको प्रश्नमा यति संवेदनहीन उत्तर दिनसक्ने मेयरको अन्तर्वार्ताले म मात्र होइन, जोकोही पनि आक्रोशित हुनु स्वाभाविक हो ।

हो, ममता हराएको ममताप्रसादको अन्तर्वार्ता पढिसक्दा मेरो रिसले सीमा नाघ्यो, मैले पत्रिकामा छापिएको मेयरसा’बको फोटो हेर्दै उनलाई पटक–पटक धिक्कारेँ । तत्कालका लागि रिस शान्त गर्ने त्योभन्दा अर्को उपाय पनि थिएन मसँग, म बाध्य भएँ ।

सरकार, राधा चौधरीलाई बोक्सी आरोप लगाउँदै कुटपिट गर्ने कथित झाँक्री रामबहादुर चौधरी, कुटपिटमा संलग्न पार्वती नाम गरेकी युवतीलाई उन्मुक्ति दिने गल्ती नगर, तिनलाई कडाभन्दा कडा कारबाही गर । र, यसरी संवेदनाहीन जवाफ दिने र पीडितको पीडामा मलमको साटो नुनचुक दल्ने र पीडकलाई उन्मुक्ति दिन दबाब दिने मेयरसा’बलाई पनि कडा कारबाही गर्नुपर्ने हो कि ?

तपाईको प्रतिक्रिया