गुटामा शुक्रबार पनि सहायता सामग्री पुगेन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

गुटामा शुक्रबार पनि सहायता सामग्री पुगेन

 हिंसा जारी रहेको पूर्वी सिरियाको द्वन्द्वग्रस्त क्षेत्र गुटामा शुक्रबार पनि अत्यावश्यक मानवीय सहायता सामग्री पुग्न सकेको छैन । रेडक्रसको इन्टरनेसनल कमिटी (आइसिआरसी)ले सो जानकारी दिएको हो ।

राष्ट्रसंघीय अधिकारीहरूले सो क्षेत्रमा ठूलो मात्रामा राहत सामग्रीको खाँचो रहेको बताएका छन् । सरकारी सेनाको निरन्तरको हवाई हमलाका कारण सहयोग सामग्री पुग्न नसकेको हो ।

विद्रोहीहरूको नियन्त्रण रहेको बताउँदै आइएको सो क्षेत्रमा सिरियाली सेनाले हवाई आक्रमण तीव्र पारेको छ । रेडक्रसले भनेको छ, ‘गुटामा शुक्रबार पनि मानवीय सहायताका सामग्री पु-याउन सकिएको छैन । गुटामा अझै पनि खतरापूर्ण अवस्था छ । बिहीबार राति भएका आक्रमणहरूमा पनि कैयौँ गैरसैनिक नागरिक मारिएका छन् ।’

ब्रिटेनमा मुख्यालय रहेको एक अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बिहीबार भएका हमलामा ६० जनाभन्दा बढीको ज्यान गएको बताएको छ । रसियाली सेनाको समेत सहयोगमा सिरियाको सरकारी फौजले त्यहाँ एक महिनायता निरन्तर रूपमा विद्रोहीलक्षित आक्रमणलाई तीव्र पारेको छ ।

अल कायदाआबद्ध लडाकुरूलाई धपाउन ती आक्रमण गरिएको सिरियाली सरकारी सेनाले दाबी गरेको छ । तर, संयुक्त राष्ट्रसंघले भने यहाँ जारी रहेका यस्ता आक्रमणहरूमा सयौँ सर्वसाधारण तथा बालबालिका मारिएकोे बताउँदै तत्कालै आक्रमण रोक्न आग्रह गरेको छ ।

एक महिनादेखि विद्रोहीविरुद्ध जारी राखेको कारबाहीमा पूर्वी गुटाको आधा भूभाग नियन्त्रणमा लिइसकेको सिरियाली सरकारले दाबी गरेको छ ।

एक साताअघि राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियामा युद्धविरामका लागि गरेको प्रस्तावलाई सुरक्षा परिषद्का सम्पूर्ण सदस्यहरूले सहमति जनाए पनि गुटामा अझै पनिे हवाई हमला रोकिएको छैन । गुटामा रसियाली सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीविरुद्धको कारबाही तीव्र पारेको छ ।

पछिल्लो तीन हप्ता यतादेखि जारी हिंसाका कारण गुटामा दुई सय बालबालिकासहित एक हजार सर्वसाधारणको मृत्यु भएको छ । युद्धको चपेटामा परेका गुटाका करिब चार लाख मानिस सुरक्षित स्थानको खोजीमा छन् ।

अधिकांश मानिस पानी, औषधिलगायतका अत्यावश्यकीय सेवाबाट वञ्चित छन् । सिरियामा जारी द्वन्द्वका क्रममा गुटामा भएको यो हिंसालाई अहिलेसम्मकै ठूलो रक्तपातपूर्ण कारबाही भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सात वर्षदेखि सुरु भएको सिरियाली युद्ध केही महिनापछि गृहयुद्धमा रूपान्तरण भएको थियो । सो युद्धमा अहिलेसम्म साढे तीन लाखको मृत्यु भएको छ । युद्धमा लाखौँ महिला विधवा बनेका छन् भने अन्य लाखौँ बालबालिका टुहुरा बनेका छन् ।

युद्धकै कारण १ करोडभन्दा बढी मानिस शरणार्थी बन्न बाध्य छन् । कतिपय नागरिक आन्तरिक रूपमा नै विस्थापित बनेका छन् भने अधिकांश सिरियाली छिमेकी मुलुकमा शरणार्थी बनेका छन् ।सिरियाली द्वन्द्व विश्व समुदायमा नै विभाजित छ ।

रसियाले सिरियाली सेनालाई सहयोग गर्दै विद्रोहीविरुद्धको हवाई कारबाही तीव्र पारेको छ भने अमेरिकाको समर्थन विद्रोहीलाई छ । युद्ध चर्किरहेकै वेला अतिवादी मुस्लिम समूह स्लामिक स्टेट (आइएस), अलकायदालगायतका अतिवादी संगठनहरूको घुसपैठ भइरहेको छ ।

तपाईको प्रतिक्रिया