नेपाली बजारमा अवैध सुन दैनिक अढाई करोडको काराेबार - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नेपाली बजारमा अवैध सुन दैनिक अढाई करोडको काराेबार

नेपाली बजारमा दैनिक अढाई करोडको अवैध सुनको कारोबार हुन्छ । तस्करीको सुनले बजार ओगट्न थालेपछि बैंकहरूमार्फत आउने वैध सुनको कारोबार ओरालो लागेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पछिल्लो समय दैनिक कम्तीमा ५ केजी अवैध सुन किनबेच भइरहेको छ । यो परिमाण अघिल्ला दुई वर्षको तुलनामा भने निक्कै कम हो । आर्थिक वर्ष ०७१/७२ मा दैनिक २०.१३७ केजी (अनुपातमा)सम्मको अवैध सुनको कारोबार भयो । जसको मूल्य सोमबारको बजार भाउअनुसार ९ करोड ९६ लाख १७ हजार ६ सय हो । प्रहरीले ४२ महिनामा दुई अर्ब बराबरको तस्करीको सुन बरामद गरेको छ । टेकराज थामीको रिपोर्टः

नेपाली बजारमा दैनिक अढाई करोडको अवैध सुनको कारोबार हुन्छ । तस्करीको सुनले बजार ओगट्न थालेपछि बैंकहरूमार्फत आउने वैध सुनको कारोबार ओरालो लागेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पछिल्लो समय दैनिक कम्तीमा ५ केजी अवैध सुन बिक्री भइरहेको छ । यो परिणाम अघिल्ला दुई वर्षको तुलनामा भने निकै कम हो । आर्थिक वर्ष ०७१/७२ मा दैनिक २०.१३७ केजी (अनुपातमा) सम्मको अवैध सुनको कारोबार भयो । जसको मूल्य सोमबारको बजारभाउ अनुसार ९ करोड ९६ लाख १७ हजार ६ सय ४३ रुपैयाँ हो ।

दैनिक ५ केजी अवैध सुनको कारोबार
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पछिल्ला दिनमा नेपाली बजारमा दैनिक कम्तीमा ५ केजी अवैध सुन बिक्री भइरहेको छ । एसोसिएसनले आव ०६८/६९ मा सुन आयातका लागि बैंकलाई दिएको अनुमति दर र चालू आवको पछिल्लो ६ महिनामा एसोसिएसनले सुन आयातका लागि बैंकलाई अनुमति दिएको दर विश्लेषण गर्दा नेपाली बजारमा कम्तीमा पनि दैनिक ४.९३१ केजी अवैध सुन बिक्री भइरहेको देखिएको हो । सोमबारको दर भाउअनुसार उक्त सुनको बजार मूल्य २ करोड ४३ लाख ९३ हजार रुपैयाँ पर्छ ।

तथ्यांकअनुसार आव ०६८/६९ मै नेपाली बजारमा बैंकको प्रतिदिन २४.६५७ केजी सुन बिक्थ्यो । त्यो दर घटेर चालू आवको माघमा प्रतिदिन १९.७२६ केजी मात्रै बिकेको छ । बजार विश्लेषण गर्दा आव ०६८/६९ को भन्दा चालू आवको माघमा बैंकको सुन धेरै परिणाममा बिक्नुपर्ने हो । तर, त्यसो नभएर उल्टै ४.९३१ केजीले घट्न पुगेको छ । यसले पुष्टि गर्छ कि सुन व्यापारीले वैध बाटो ल्याइएको सुन नकिनेर अवैध बाटोबाट ल्याइएको सुन किने ।

एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माले तथ्यांक हेर्दा नेपाली बजारमा अवैध सुनको बिक्री बढेको बताए । उनले भने, ‘सात वर्षअघि नेपाली बजारमा बैंकको प्रतिदिन २५ केजीसम्म सुन बिक्थ्यो । त्यसवेलाको र अहिलेको बजार निकै बदलिएको छ । तर, सुन बिक्ने दर भने बढ्नुको सट्टा घटेको देखिन्छ । यसको सीधा अर्थ बजारमा अवैध सुनको कारोबार बढिरहेको छ । त्यसैले वैध तवरले ल्याइएको सुन बिकेन ।’

प्रहरी पनि बजारमा अवैध सुन बिक्री भइरहेको स्विकार्छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख डिआइजी पुस्कर कार्कीले बजारमा अवैध सुनको कारोबार रहेको बताए । भने, ‘नेपाली बजारमा तस्करको सुन कारोबार भएको देखिन्छ । तर, सुराक कम आएका कारण तस्कर पहिचान गर्न सकिएको छैन ।’

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसपी नरेन्द्र उप्रेती बजारमा तस्करीको सुन बिक्री भएको बताउँछन् । भन्छन्, ‘बजारमा अवैध सुनको कारोबार भएको देखिन्छ । विभिन्न इन्डिकेटरले यसको पुष्टि गरेको छ । तर, कारोबारी भने पहिचान गर्न कठिन छ ।’

०७१/७२ मा दैनिक २० केजी अवैध सुन कारोबार
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार नेपाली बजारमा अवैध सुनको कारोबार सबैभन्दा धेरै आव ०७१/७२ मा भएको देखिन्छ । आव ०६८/६९ मा बैंकबाट बिकेको सुनको परिणाम र आव ०७१/७२ मा बैंकबाट बिकेको सुनको परिणाम विश्लेषण गर्दा यस्तो देखिन्छ । ०६८/६९ मा बैंकबाट दैनिक २४.६५७ केजी सुन बिकेको थियो । तर, आव ०७१/७२ ४.५२ केजी मात्रै बिक्न सक्यो ।

यसबाट के पुष्टि हुन्छ भने आव ०७१/७२ मा कम्तीमा पनि २०.१३७ केजी अवैध सुन कारोबार भयो । जसको मूल्य सोमबारको बजार भाउअनुसार ९ करोड ९६ लाख १७ हजार ६ सय ४३ रुपैयाँ पर्छ ।
एसोसिएसनका कार्यकारी निर्देशक शर्माका अनुसार बैंकको सुन नबिक्नु भनेकै बजारमा अवैध सुनको कारोबार हुनु हो । उनले भने, ‘जब बैंकको सुन बिक्दैन अथवा बैंकमा सुन स्टक रहन्छ । त्यसको सीधा अर्थ बजारमा अवैध सुनको कारोबार हुनु हो । आव ०७१/७२ मा पनि बैंकको सुन निकै कम बिकेको देखिन्छ ।’

आव ०७१/७२ मा बजारमा अवैध सुनको कारोबार बढेको घटनालाई प्रहरीको तथ्यांकले पनि पुष्टि गर्छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आव ०७१/७२ मा मात्रै एक सय ११ केजी अवैध सुन बरामद भएको छ । बरामद भएको उक्त परिणाम हालसम्मकै सबैभन्दा धेरै हो ।

सुन गायब पारेको आरोपमा हत्या
मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यलाई सहकर्मीबाटै साढे ३३ केजी सुन गायब पारेको आरोप लाग्यो । उनलाई सहकर्मीले नै अपहरण गरे । अज्ञात स्थलमा बन्धक बनाए । आँखामा पट्टी बाँधियो । कुटपिट गरियो । शरीर पानीमा चोबियो अनि करेन्ट लगाइयो । चार दिनसम्मको निरन्तर यातनाबाट अन्ततः उनको मृत्यु भयो ।

हत्यामा काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ वर्षीय मोहन काफ्ले संलग्न थिए । तीनैजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूलाई सनमको हत्या गर्न लगाउने मोरङ उर्लाबारीका चूडामणि उप्रेती थिए ।

केरुङ नाकाबाट हुन्थ्यो सुन तस्करी
उप्रेती त्यही व्यक्ति हुन्, जसका लागि सनमले रसुवाको केरुङ नाकाबाट सुन तस्कर गरिदिन्थे । प्रहरीका अनुसार उनकै योजनामा २० पुस ०७३ मा भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन तस्करी गरिएको थियो । उक्त घटनाका उप्रेती अझै पनि फरार अभियुक्त हुन् ।
प्रहरीका अनुसार सनमले गायब पारेको भनिएको साढे ३३ केजी सुन उप्रेतीकै थियो । जुन उनी भारतको दिल्लीमा लगरे बेच्ने योजनामा थिए । यसका लागि उनले अग्रिम भुक्तानीसमेत लिएका थिए ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘सनम हत्याको मुख्य कारण बनेको साढे ३३ केजी सुन त्यही व्यक्तिको हो, जो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० पुस ०७३ मा भएको ३३ केजी सुन तस्करका मुख्य अभियुक्त थिए ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)की एसपी मीरा चौधरीले उप्रेती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्कर गरिएको ३३ केजी सुन प्रकरणका फरार प्रतिवादी रहेको स्वीकार गरिन् । भनिन्, ‘उप्रेती ३३ केजी सुन तस्कर काण्डमा संलग्न अभियुक्त हुन् । उनी सिआइबीको फरार सूचीमा छन् ।’

चीनबाट हुन्छ तस्करी
पछिल्लो बजारभाउअनुसार चीनमा सुनको मूल्य प्रतितोला ५० हजार ९ सय ४ रुपैयाँ छ । त्यही मितिमा नेपालमा सुनको मूल्य प्रतितोला ५७ हजार सात सय रुपैयाँ छ । चीन र नेपाली बजारको सुनको मूल्य तुलना गर्दा प्रतितोला ६ हजार ७ सय ९६ रुपैयाँको फरक छ । दुई मुलुकबीचको दरभाउमा रहेको यही फरक सुन तस्करीको मुख्य कारण हो ।

तस्करले चीनबाट ल्याएको सुन नेपाली बजारमा प्रतितोला ५७ हजार सात सय रुपैयाँमा बेच्छन् । यसो गर्दा तस्करलाई प्रतितोला ६ हजार ७ सय ९६ रुपैयाँ फाइदा हुन्छ । एक केजी सुनबाट मात्रै तस्करले ५ लाख ७७ हजार ६ सय ६० रुपैयाँ आर्जन गर्छन् । यसबापत उनीहरूले न भन्सार रकम तिर्नुपर्छ न कर नै । त्यसो हुँदा यो तस्करको खुद नाफा हो ।

भारतमा तस्करी गर्दा झन् धेरै नाफा
पछिल्लो बजार भाउअनुसार भारत र चीनमा सुनको दरभाउमा ९ हजार ८९ रुपैयाँको फरक छ । अर्थात् भारतमा सुनको मूल्य प्रतितोला ५९ हजार ९ सय ९३ रुपैयाँ छ । त्यसो हुँदा तस्करले चीनबाट एक केजी सुन भारत पुर्याउँदा ७ लाख ७२ हजार ५ सय ६५ रुपैयाँ आर्जन गर्छन् । चिनियाँ सुन नेपालमा भन्दा भारतमा तस्कर गर्दा धेरै फाइदा हुन्छ ।

महाशाखाका एसपी उपे्रती भन्छन्, ‘तस्करले छिमेकी मुलुकमा सुन खरिद गर्छन् र त्यो लगेर अर्को छिमेकी मुलुकमा नै बेच्छन् । यसबाट उनीहरूलाई धेरै फाइदा हुन्छ । सबै चुनौती झेलेर तस्कर सुन तस्करीमा लाग्नुको कारण यही हो ।’

कसरी हुन्छ तस्करी ?
प्रहरीका अनुसार पछिल्लोपटक रसुवाको केरुङ नाकालाई सुन तस्करीको ‘ट्रान्जिट’ बनाएको देखिन्छ । यसअघि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट तस्करी हुने गथ्र्यो । भूकम्पका कारण नाका बन्द भएपछि तस्करको रोजाइमा केरुङ नाका परेको हो । महाशाखाका एसपी उप्रेती भन्छन्, ‘सुन तस्करको मुख्य नाका केरुङ हो । पहिलो तातोपानी थियो । अहिले त्यो बन्द भएको छ । तस्कर अनेक बहानामा केरुङबाट चीन छिर्छन् अनि सँगै सुन लिएर आउँछन् । जसको सुइँको प्रहरीले पाउन सक्दैन ।’

प्रहरीका अनुसार केरुङबाहेक मुस्ताङको कोरालापास, संखुवासभाको किमाथांका, हुम्लाको हिल्सा, दोलखाको लामाबगर, दार्चुलाको टिंग्री र बझाङको ताक्लाकोट नाकाबाट पनि सुन तस्कार हुने गरेको छ । तर, ती नाकाबाट भने केरुङको झँै तस्करी भने हुँदैन ।

४२ महिनामा दुई अर्बको सुन बरामद
प्रहरीले गएको ४२ महिनामा मुलुकभरबाट ४२४.७७५ केजी सुन बरामद गरेको छ । सोमबारको बजार भाउअनुसार बरामद सुनको मूल्य २ अर्ब १० करोड १३ लाख २८ हजार ३ सय ८५ रुपैयाँ हुन्छ । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै सुन चालू आबको ६ महिनामा बरामद भएको छ । यस अवधिमा मात्रै मुलुकभरबाट १५३.४३७ केजी सुन बरामद भएको छ । त्यसपछि आव ०७१/७२ मा धेरै सुन बरामद गरियो १११.४४५ केजी । आव ०७३/७४ मा धेरै सुन बरामद भयो । त्यस आवमा मुलुकभर ९१.३८४ केजी सुन बरमद भयो । आव ०७२/७३ मा भने मुलुकभरबाट ६८.५०६ केजी मात्रै सुन बरामद भयो ।

सुराकी रकम काटेपछि…
तस्करीको सुन बरामदपछि सुराकी प्रोत्साहन रकम लिन प्रहरीले फेक सुराकी राखेको खुलेपछि सरकारले सुराकीबापतको प्रोत्साहन भत्ता कट्टा ग¥यो । यसको प्रत्यक्ष असर सुन तस्करसम्बन्धी अपराध अनुसन्धानमा देखिएको छ । प्रहरीका अनुसार सरकारले सुराकी रकम कट्टा गरेपछि सुन तस्करको सुराकी नै आउन छाडेको छ । प्रहरीको यो भनाइलाई पछिल्लोपटक तस्करको सुन बरामद भएको परिमाणले पनि पुष्टि गर्छ । किनकि सुराकी रकम कट्टा गरेपछि तस्करविरुद्ध प्रहरीको अप्रेसन नै कम भएका छन् । जसका कारण पछिल्ला वर्षमा सुन नै कम बरामद भएका छन् ।

सरकारले ०७२ देखि सुनको सुराकी रकम कट्टा गरेको थियो । त्यस आर्थिक वर्षमा प्रहरीले जम्मा ६८ केजी मात्रै सुन बरामद गरेको छ । जब कि अघिल्लो आवमा १ सय ११ केजी सुन बरामद गरेको थियो । यो दर आव ०७३/७४ मा पनि घट्यो । यस आवमा प्रहरीले मुलुकभरबाट ९१.३८४ केजी मात्रै सुन बरामद गर्न सक्यो ।

सिआइबी प्रमुख डिआइजी पुस्कर कार्कीका अनुसार सुन तस्करको चलखेलका कारण सुराकी रकम कट्टा गरिएको हो । उनले भने, ‘सुन तस्करीको सुराकी रकम कट्टा गर्नुमा तस्करको ठूलो चलखेल भएको देखिन्छ । किनकि यसको प्रत्यक्ष फाइदा पुग्ने उनीहरूलाई नै हो । यसतर्फ सरकार सचेत हुुन आवश्यक छ ।’

प्रत्येक दिन डेढ करोडसम्मको राजस्व गुम्छ
बैंकर्स एसोसिएसनको तथ्यांक विश्लेषण गर्दा नेपाली बजारमा प्रत्येक दिन कम्तीमा ४.९३१ देखि २०.१३७ केजीसम्म तस्करको सुन बिक्री हुन्छ । सरकारले सुनमा १३ प्रतिशत भन्सार कर लगाउने गर्छ । यस आधारमा सरकारले प्रत्येक दिन कम्तीमा ३१ लाख ७१ हजारदेखि एक करोड २९ लाख ५० हजार रुपैयाँसम्मको राजस्व गुमाइरहेको छ ।

बैंकर्स एसोसिएसनका अनुसार नेपाली बजारमा अचेल दैनिक कम्तीमा ४.९३१ केजी अवैध सुन बिक्री भइरहेको देखिन्छ । सोमबारको दरभाउअनुसार उक्त सुनको बजार मूल्य २ करोड ४३ लाख ९३ हजार रुपैयाँ पर्छ । यस आधारमा सरकारले दैनिक कम्तीमा ३१ लाख ७१ हजार राजस्व गुमाउँछ । अर्को तथ्यांक विश्लेषण गर्दा आव ०७१÷७२ मा दैनिक कम्तीमा २०.१३७ केजी अवैध सुन नेपाली बजारमा कारोबार भयो । जसको मूल्य सोमबारको बजार भाउअनुसार ९ करोड ९६ लाख १७ हजार ६ सय रुपैयाँ पर्छ । यसबाट सरकारले दैनिक कम्तीमा १० करोड २९ लाख ५० हजार दुई सय ८८ रुपैयाँ राजस्व गुमाएको छ ।

डेढ अर्ब सरकारको ढुकुटीमा
सुराकीबापतको प्रोत्साहन भत्ता कट्टा गरेपछि प्रहरीले मुलुकभरबाट ३१३.३३ केजी सुन बरामद गरेको छ । सोमबारको बजार भाउअनुसार बरामद गरिएको उक्त सुनको मूल्य एक अर्ब ५५ करोड १८ हजार सात सय ६९ रुपैयाँ हो । सुराकी रकम तिर्न नपरेपछि उक्त रकम सरकारको ढुकुटीमा जम्मा हुन पुगेको छ । प्रहरीबाट बरामद सुन सरकारले लिन्छ । उक्त सुन बैंकमार्फत सरकारले व्यवसायीलाई बिक्री गर्छ । त्यसवेला सरकारले वैध रूपमा आयात गर्ने सुन भने कट्टा गर्छ ।

एकैपटक ८८ केजी सुन बरामद
१९ भदौमा प्रहरीले ८८ केजी सुन क्षेत्रपाटीबाट बरामद ग¥यो । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रहरी टोली उक्त परिणमको सुन बरामद गर्न सफल भएको थियो । सुन तस्करीमा सेटिङ मिलाउने रसुवाका मानबहादुर तामाङलाई प्रहरीले पक्राउ ग¥यो । उनै तामाङले सीमा सशस्त्र प्रहरी र चेकपोस्टका प्रहरीसँग सेटिङ मिलाएका थिए ।

तामाङको सशस्त्र र नेपाल प्रहरीका अधिकारीसँग राम्रो सम्बन्ध थियो । सोही कारण उनले आफ्नो मोबाइलको लकसमेत खोल्न मानेका छैनन् । प्रहरीसँगको कुराकानी खुल्ने भएकाले उनले मोबाइल लक खोल्न नमानेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए । उनले तस्करीमा प्रहरीलाई चिन्न सजिलो हुने गरी गाडीमा भिआइपीको लोगोसमेत राखेका थिए ।

कांग्रेसबाट प्रदेश सभाको समानुपातिकमा सिफारिस भएका तामाङ ८८ किलो सुनका मालिक चिनियाँ नागरिक पेन वेइमिङ र उनकी श्रीमतीका विश्वासपात्र हुन् । उनीहरू दुवैजना फरार छन् । चिनियाँसँग मिलेर तस्करी गर्ने काठमाडौंका सुनपसलेहरू पनि पक्राउ परिसकेका छन् । ३ असोजमा प्रहरीले पाँच व्यवसायीलाई पक्राउ गरेको थियो । उनीहरू लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

नरदेवीमा रविश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेशदत्त बडू, ओटुमा सुनचाँदीका गहना बनाउने व्यवसायी नन्दकुमार मर्गले र दिनकर सालुखे र बाँगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्यलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये अग्रवाल र बडू चिनियाँको व्यवसायी साझेदार हुन् ।

१९ भदौमा महाशाखाले केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन बरामद गरेको थियो । सुन तस्करीमा सहयोग पुर्याएको आरोपमा तीन चालकसमेत पक्राउ परेका छन् । उनीहरूलाई संगठित अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । प्रहरीले १९ भदौमा मनोज अधिकारीलाई क्षेत्रपाटीबाट पक्राउ गरेको थियो । उनलाई बा.१७च ६४२७ नम्बरको गाडी क्षेत्रपाटीबाट ठमेल पु¥याउन लगाइएको थियो । रसुवागढी नाकामा सीमा वारपार गर्ने दाम्पा तामाङ र दिलीप खड्का पनि पक्राउ परेका छन् । सो समूहले पटकपटक सुन तस्करी गरेको र त्यसमा प्रहरीदेखि भन्सार कर्मचारीले समेत प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

के छ कानुनी कारबाही ?
सुन तस्कर संगठित अपराध हो । तर, यसका कारोबारीविरुद्ध संगठित अपराध आकर्षित हुँदैन । उनीहरूविरुद्ध भन्सार ऐन, २०६४ को दफा ३८ को कसुरअनुसार कारबाही हुन्छ । जसअनुसार प्रतिवादीविरुद्ध भन्सार ऐनको दफा ५७(१) बमोजिम बिगोअनुसार जरिवाना र दफा ५७(१)(च) बमोजिम पाँच वर्षसम्म कैद हुने व्यवस्था छ । तस्कर कानुनको यही छिद्र प्रयोग गरी उम्कने गर्छन् । किनकि तस्कर बिगोबापतको रकम सजिलै तिर्न सक्छन् । सेटिङकै कारण उनीहरू कैद भुक्तानबाट पनि उम्कन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु