ट्रम्प र उत्तर कोरियाली नेताबीच शिखर वार्ताको तयारी - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

ट्रम्प र उत्तर कोरियाली नेताबीच शिखर वार्ताको तयारी

पछिल्लो राजनीतिक घटनाक्रममा ठूलो प्रगति भए पनि सम्झौता नहुन्जेल उत्तर कोरियामाथिको प्रतिबन्ध जारी रहने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आफूसँग भेटवार्ता गर्न गरेको आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेपछि दुई नेताबीच भेटवार्ता हुने भएको हो ।

राष्ट्रपति ट्रम्प र उनले शत्रु मान्दै आएका उत्तर कोरियाली नेता किम जोङ उनबीच मे महिनाअगावै ऐतिहासिक भेट हुने भएको हो । केही महिनाअघिसम्म दुई नेताहरू व्यक्तिगत आरोप–प्रत्यारोप र गालीगलौजमा उत्रिएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो राजनीतिक विकासलाई ठूलो प्रगति भएको बताए । तर, उचित सम्झौता नहुन्जेल उत्तर कोरियामाथिको प्रतिबन्ध जारी नै रहने ट्रम्पले जानकारी दिए ।

ट्रम्पलाई ब्रिफिङ
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इ योङ र दक्षिण कोरियाकै गुप्तचर निकायका प्रमुख राष्ट्रपति मुन जाय इनको विशेष दूत बनेर बिहीबार अमेरिका प्रस्थान गरेका थिए । उनीहरूले उत्तर कोरियाली नेता किम जोङ उनको मौखिक सन्देश ट्रम्पलाई सुनाएका थिए ।

उनीहरूले उत्तर कोरियाली नेता किमसँग भएका वार्ताका उपलब्धिसमेत सुनाएका थिए । ट्रम्पलाई ब्रिफिङ गरेपछि शुक्रबार ह्वाइट हाउसबाहिर बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेष दूत चुङ इ योङले उत्तर कोरियाली नेता निःशस्त्रीकरणप्रति प्रतिबद्ध रहेको जानकारी दिएका थिए ।

उत्तर कोरियाली नेताले आगामी दिनमा कुनै पनि आणविक परीक्षण र मिसाइल प्रहार नगर्ने किमले प्रतिबद्धता जनाएको विशेषदूत योङले जानकारी दिए । तीन दिनअघि दक्षिण कोरियाली राष्ट्रपति मुनका विशेष दूतहरू प्योङयाङ पुगेका थिए ।

कसरी भयो सम्भव ?
मानवअधिकार उल्लंघन र आणविक हतियारको खोजीका कारण उत्तर कोरिया दशकाैंदेखि विश्व समुदायबाट अलग हँदै छ । उत्तर कोरियाले अहिलेसम्म ६ वटा आणविक परीक्षण गरिसकेको छ । उसले अमेरिकी भूमिमा आक्रमण गर्न सक्ने मिसाइल विकसित गरेको दाबी गर्दै आएको छ ।

आफूमाथि कुनै पनि वेला अमेरिकाले आक्रमण गर्न सक्ने भन्दै त्यसको प्रतिरक्षाका लागि आणविक परीक्षण गर्नुपरेको उत्तरले जिकिर गर्दै आएको छ । तर, हालै दक्षिण कोरियामा आयोजना भएको हिउँदे ओलम्पिकले उत्तरसँग अमेरिका र दक्षिण कोरियाको कूटनीतिक ढोका खोल्ने अवसर प्रदान गरेको थियो ।

ओलम्पिकको अवसरमा उत्तर र दक्षिण कोरियाबीच विभिन्न चरणमा दुर्लभ वार्ता भएका थिए । दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत र उत्तर कोरियाली नेताबीच यसै साता प्योङयाङमा ऐतिहासिक वार्ता भएको थियो ।

‘प्योङयाङले पूर्ण प्रतिबद्धता जनाएको छैन’
उत्तर कोरियाले आफ्ना सम्पूर्ण आणविक कार्यक्रम पूर्ण रूपमा त्याग्ने प्रतिज्ञा नगरेको सिउलस्थित बिबिसीकी संवाददाता लाउरा बिकरले टिप्पणी गरेकी छिन् । आणविक कार्यक्रम तत्कालका लागि स्थगित गरेबापत उत्तरले के चाहेको छ भन्ने पनि प्रस्ट नभएको उनले बताए ।

यसअघि उत्तर कोरियाले आफ्ना आणविक परीक्षण रोके पनि वार्तामा आफ्ना माग पूरा नभए आणविक कार्यक्रम सुचारु गरेको थियो । उत्तर कोरियाले प्रतिबद्धता गरेकामध्ये अन्तिम बुँदा महत्वपूर्ण छ, जहाँ उसले दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई नकारात्मक रूपमा लिएको छैन ।

कोरियाली युद्धपछि दक्षिण कोरियाम दशौँ हजार अमेरिकी सेना परिचालन भएका छन् । दक्षिण कोरिया र अमेरिकाबीचको वार्षिक संयुक्त सैन्य अभ्यासले उत्तर क्रुद्ध बन्दै आएको छ । सोही अभ्यासमार्फत अमेरिकाले उत्तर कोरियामा अतिक्रमण गर्न लागेको प्योङयाङको बुझाइ छ ।

प्रस्तावित भेटवार्ताको विश्व समुदायद्वारा स्वागत
वासिङटन÷ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने प्रस्तावित भेटवार्ताको विश्व समुदायले स्वागत गरेको छ । दुई नेताबीच हुने भेटको युरोपेली संघ (इयू), रसिया, चीनलगायत विश्व समुदायले स्वागत गरेको छ ।

उत्तर कोरियाको आणविक हतियारप्रतिको आकर्षण र लगातार परीक्षणका कारण प्योङयाङसँग वासिङटनलगायत विश्व समुदाय रुष्ट बनिरहेको समय भेटका लागि दुई देशका नेता सकारात्मक बनेकोमा युरोपेली संघले खुसी व्यक्त गरेको छ ।

युरोपेली संघले अमेरिकी राष्ट्रपति ट्रम्प र कोरियाली नेता किमबीच हुने शिखर सम्मेलनलाई ‘सकारात्मक प्रगति’ बताएको छ । ‘उत्तर कोरियाली नेता किमको प्रस्तावमा आगामी मे महिना पहिले नै दुई देशका नेताबीच उच्चस्तरीय सम्मेलनका लागि तयार हुनु सकारात्मक प्रगति हो,’ संघका प्रवक्ता माजा कोसिजान्सिकले भने ।

त्यसैगरी रसियाली विदेशमन्त्री सर्गेइ लाभ्रोभले पनि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताबीचको प्रस्तावित भेटवार्ताको स्वागत गरेका छन् । ‘कोरियाली प्रायद्वीपमा रहेको तनाव न्यून गर्न निश्चय पनि दुई नेताबीचको भेट आवश्यक थियो,’ उनले भने ।

किम र ट्रम्पबीचको प्रस्तावित भेटवार्ताको चीनले पनि स्वागत गरेको छ । यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरिया र अमेरिकालाई तत्काल वार्ता गर्न आग्रह गरेका थिए ।

यसैबीच, राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूतले नेता किमको ‘साहसिक निर्णय’ले कोरियाली प्रायद्वीप र पूर्वी एसियामा शान्ति र स्थिरता कायम हुने विचार व्यक्त गरे ।

आश्चर्यजनक प्रगति
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताबीच हुने प्रस्तावित शिखर वार्तालाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले ‘चमत्कार’ भनेका छन् ।

‘अन्तर कोरियाली शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता भएमा कोरियाली प्रायद्वीपमा निःशस्त्रीकरण गर्ने प्रयास पूरा हुनेछ,’ राष्ट्रपति मुनले भने ।

सहमतिका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता उनलाई मुनले विशेष धन्यवाद दिएका छन् । ट्रम्प र मुनबीचको प्रस्तावित भेटवार्ताले कोरियाली प्रायद्वीपमा मात्र नभएर सम्पूर्ण विश्वमै शान्ति ल्याउने उनले आशा व्यक्त गरे ।

उत्तर कोरियाले के–के प्रतिबद्धता जनाएको छ ?
उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न तयार निःशस्त्रीकरणप्रति उत्तर कोरिया प्रतिबद्ध

उत्तर कोरियाले आणविक र मिसाइल परीक्षण नगर्ने

अमेरिका र दक्षिण कोरियाली सैन्य अभ्यासको तत्काल विरोध नगर्ने

तपाईको प्रतिक्रिया