नेप्से र कारोबार रकम दुवै बढ्यो - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नेप्से र कारोबार रकम दुवै बढ्यो

निरन्तर ओरालो लागेर निराश भएका लगानीकर्तालाई मंगलबारको बजारले केही आशा प्रदान गरेको छ । मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेपछि लगानीकर्तामा केही आशा पलाएको हो।

निरन्तर ओरालो लागेपछि अधिकांश कम्पनीको सेयरमूल्य सस्तिएको छ । मूल्य सस्तिएपछि बजारमा अघिल्लो दिनको तुलनामा बिक्रीचाप केही बढेको देखिन्छ । सस्तो मूल्यमा राम्रा कम्पनीको सेयर खरिद गर्न थालेपछि यस दिन बजार र कारोबार रकममा वृद्धि भएको हो ।

बजार खुलेसँगै ओरालो लागेको नेप्से मध्याह्नसम्ममा २० अंक घटेको थियो । तर, त्यसपछिको समयमा नेप्से तीव्र गतिमा उकालो लागेर १ हजार ३ सय ५ बिन्दुमा पुगेको थियो । सो बिन्दुमा पुगेपछि पुनः ओरालो लागेको नेप्से अन्तिम समयमा केही सुधार भएर बन्द भएको छ । तर, बजारले आगामी दिनमा कुन दिशा लिने हो भन्ने अन्योल कायम नै रहेको एक विश्लेषकले बताए ।

मंगलबार नेप्से परिसूचक ८ दशमलव ७० अंक बढेर १ हजार २ सय ९६ दशमलव ४४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ८७ अंक बढेर २ सय ७५ दशमलव ४३ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६४ कम्पनीको ५ हजार ६ सय १६ पटकको कारोबारमा रु. ४८ करोड ३९ लाख १० हजार ७ सय ५७ बराबरको १४ लाख ४८ हजार ८ सय ५ कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा २२ दशमलव ४४ प्रतिशत बढी हो । लगानीकर्ताको सम्पत्ति अघिल्लो दिनको तुलनामा रु. १० अर्ब १७ करोड बढेर रु. १५ खर्ब १७ अर्ब पुगेको छ । नेप्से उकालो लागे पनि १४ दिने आरएसआई भने अझै ओभरबट जोनमा रहेको छ । यस दिन नेप्सेको १४ दिने आरएसआई २६ दशमलव १९ स्केलमा पुगेको छ । यसले बजारमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ ।

कारोबार रकम र कारोबार संख्याका आधारमा यस दिन पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ । यस दिन सो कम्पनीको २ सय ६२ पटकको कारोबारमा रु. २ करोड ५२ लाखभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सानिमा बैंकको यस दिन रु. २ करोड १८ लाखबराबरको सेयर किनबेच भएको छ । सेयर संख्याका आधारमा भने यस दिन नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको संस्थापक सेयर (८० हजार कित्ता) खरिदबिक्री भएको छ । सूर्योदय लघुवित्तको सेयरमूल्य यस दिन ९ दशमलव ९८ प्रतिशत बढेको छ । ओरियन्टल होटेलसको सेयरमूल्य यस दिन ९ दशमलव ९२ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६४ कम्पनीमध्ये ९९ कम्पनीको सेयरमूल्य बढेको छ भने ५४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ११ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिन कारोबारमा आएका होटेल र अन्य समूह बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । ट्रेडिङ समूहको परिसूचक यस दिन १ दशमलव ४६ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव ४२ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ३४ प्रतिशत, माइक्रोफाइनान्स समूहको १ दशमलव २८ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ९३ प्रतिशत, बिमा समूहको शून्य दशमलव ५६ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ४९ प्रतिशत र वित्त समूहको शून्य दशमलव २८ प्रतिशत बढेको छ । कारोबारमा आएको होटेल समूहको परिसूचक ३ दशमलव ५६ प्रतिशत र अन्य समूहको शून्य दशमलव ७४ प्रतिशत घटेको छ ।

 

प्रुडेन्सियलको हकप्रद लिलाम बिक्री
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २८ गतेदेखि १२ हजार ५ सय ३ कित्ता सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ बिक्री गर्ने भएको छ । कम्पनीले पुस १६ गतेदेखि माघ २१ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन माग नगरिएको सेयर लिलाम बिक्री गर्न लागेको हो । सो सेयरमा लगानीकर्ताले चैत ५ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआइसी एशिया क्यापिटल, बबरमहल र प्रुडेन्सियल इन्स्योरेन्सको वीरगन्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालयबाट सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य रु. एक सय तोकिएको छ । बोलकबोल पेस गर्दा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

 सिद्धार्थ लगानी वृद्धि योजनाको रकम फिर्ता भुक्तानी
सिद्धार्थ लगानी वृद्धि योजना–१ ले हाल कायम इकाइधनीहरूलाई प्राप्त गर्ने फिर्ता भुक्तानी रकम प्रचलित कानुनबमोजिम कर कट्टा गरी वितरण गर्ने भएको छ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजना ०७४ पुस ९ गते परिपक्व भएको थियो । अभौतिक रूपमा इकाइ धारण गरेका इकाइधनीहरूलाई इकाइधनी नं. अनुसार फागुन २५, २७ र २८ गते रकम फिर्ता भुक्तानी गरिनेछ । अभौतिक इकाइ धारण गरेका हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाइधनीहरूको हितग्राही खाता नं. अनुसार फागुन २९ गते र ३० गते बैंक खातामा नै रकम जम्मा गरिनेछ । यस योजनाको कोष प्रवद्र्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ । साथै योजना निष्कासन गर्दाबखत फिर्ता भुक्तानी लिन बाँकी रहेको रकम तथा योजनाले विभिन्न आवमा वितरण गरेको तर इकाइधनीहरूले नलिएको लाभांश रकम पनि जोडी फिर्ता गरिने बताएको छ ।

 मञ्जुश्री फाइनान्सको १००ः५ हकप्रद
मञ्जुश्री फाइनान्स लिमिटेडले चैत ८ गतेदेखि १ सयबराबर ५ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १ सय अंकित मूल्यका ३ लाख ६२ हजार १ सय ९० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द हुने मिति ०७५ वैशाख १२ गते रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरूले एनआइबिएल एस क्यापिटल, मञ्जुश्री फाइनान्सको सम्पूर्ण शाखा कार्यालय र आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको चुक्ता पुँजी ७२ करोड ४६ लाख ७८ हजार ५ सय रुपैयाँ रहेको छ भने हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् बैंकको चुक्ता पुँजी ७६ करोड ५ लाख ९७ हजार ५ सय रुपैयाँ पुग्नेछ । फागुन ९ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम साबिक सेयरधनीहरूले यस हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु