शनिबार विकेन्ड मनाउँछु : सुनील पोखरेल - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

शनिबार विकेन्ड मनाउँछु : सुनील पोखरेल

म अहिले बिहान–बिहान अनामनगरमा नाटक सिकाउँछु । डिस्कोभरी योरसेल्फ कार्यक्रमसहित त्यहाँ ‘ज्ञ’ नामक नाट्यस्कुल खोलेको छु । नर्मल्ली शनिबार बिदा हुन्छ । त्यस्तै, हामी मण्डला र शिल्पी थिएटरमा नाटक मञ्चन गर्छौं । तर, त्यहाँ पनि एक ठाउँ सोमबार र एक ठाउँ मंगलबार बिदा छ । ‘गुरुकुल’ नाट्यशाला चलाउञ्जेल झनै बिजी भइन्थ्यो । बरु त्यो छाडेपछि करिब आठ वर्षयता भने अलि फुर्सदिलो भएको छु । किनकि, आजकल, प्रायः शनिबार विकेन्ड मनाउँछु । सकेसम्म घरबाटै निस्कन्नँ ।

६ महिना मोफसलमा हुन्थेँ
म पहिला वर्षको ६ महिना काठमाडौं त अरू ६ महिना मोफसलमा हुन्थेँ । नाटककै सिलसिलामा यस्तो रुटिन भए पनि भ्याएको वेला घुमिन्थ्यो । घुम्नकै लागि भनेर पोखरा, मनकामना र गोरखा गएँ परिवारसहित ।
हिजोआज घुम्ने भन्ने कमै हुन्छ
हिजोआज त बुढाबुढी पनि खासै घुमिँदैन । श्रीमती (नाट्यकर्मी निशा शर्मा)बाट गुनासो पनि आउँदैन । उनी मेरो तौरतरिका बुझ्ने खालकी भइसकिन् । प्रायः उनी आफ्नै आमा, दिदीकोमा जाने गर्छिन् । म क्लास जान्छु । घुम्ने भन्ने कुरा एकदमै कम हुन्छ । कतै गएर डिनर खाने भन्ने पनि हुँदैन । एनिभर्सरी आओस् कि भ्यालेन्टाइन्स् डे, समय उसैगरी चलिरहेको छ ।
छोरा र श्रीमतीसहित विदेश गएँ
मैले भारतमा पढेको हुँ । योसँगै म हालसम्म १२–१५ वटा देश गएँ । अमेरिका, रुस, चीन, जर्मनी, पाकिस्तान, बंगलादेश नर्वे आदि देश गएँ । यी सबै देश नाटककै सिलसिलामा गएको हुँ । यी प्रायः ठाउँमा निशा र निशांश (छोरा)लाई पनि लिएर गएँ ।
छोरासँग समय बिताउँछु
मेरो छोरा पनि ठूलो भइसक्यो । ब्याचलर पढिसक्यो । ऊसँग मेरो बढी समय बित्छ । सँगै फिल्म हेर्न गइन्छ । किताब पढिन्छ ।


सबै नाटक हेर्छु
म सकेसम्म र भ्याएसम्म सबै नाटक हेर्ने कोसिस गर्छु । कहिलेकाहीँ विद्यार्थीसँग हलसम्मै पुग्छु फिल्म हेर्न । तर, ज्यादै कम । धेरै पहिला निशालाई लिएर प्रिमियर सो हेर्न जाने गर्थें ।
सार्वजनिक यातायात चढ्छु
मेरो गाडी छ, ड्राइभिङ पनि गर्न जान्दछु । तर, लङ ड्राइभ जान्नँ । बच्चा धुलिखेल पढ्ने भएकाले एकपटक त्यहाँसम्म हाँकेँ । नत्र टाढा भएको छैन । बरु निशा हाँक्छिन् । म सुनाकोठी बस्छु । त्यहाँदेखि अनामनगरसम्म आउने–जाने गर्नुपर्ने हुन्छ । कहिले निशाले छोडिदिन्छन् । नत्र प्रायः टेम्पो र माइक्रोमा यात्रा गर्छु ।
जानैपर्ने पार्टीमा गइन्छ
म आफूलाई सोसल मान्छे मान्दिनँ । तसर्थ, हत्तपत्त पार्टीमा जान्नँ । जानैपर्नेमा मात्र जान्छु ।
योगा गर्थें
पहिले मैले करिब ८–१० वर्ष नियमित घरमै योगा गरेँ । ३० महिना त बिहान क्लास भएकाले गरेको छैन । त्यस्तै, मर्निङवाक पनि बन्द भयो ।
आक्कल–झुक्कल क्रिकेट हेर्छु
म क्रिकेटबारे चासो राख्छु । तर, ग्राउन्डमै गएर भने हेर्दिनँ । आक्कल–झुक्कल टिभीमा हेर्छु । नत्र, पत्रिका पढेर अपडेट हुन्छु । टिभीमा समाचार सधैँ हेर्छु । पहिले दूरदर्शनबाट आउने सिरियल हेर्थें ।
चिया र अम्लेट पकाउँछु
म खाना बनाउन जान्दिनँ । चिया र अम्लेटबाहेक अरू केही पकाउन पनि आउँदैन । परेको वेला भाँडा माझ्छु बरु ।

  • सुनील पोखरेल, नाट्यकर्मी

तपाईको प्रतिक्रिया