बक्स अफिस सुरु भयो, अब कोही ठगिँदैनन् - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

बक्स अफिस सुरु भयो, अब कोही ठगिँदैनन्

चलचित्र विकास बोर्डमा आएदेखि नै क्रमिक रूपमा सुधारका काम थालेकी छु । दुई–चारवटा काम गर्न पाइयो भने नेपाली सिनेमाको ग्रोथ हुन्थ्यो । सबैले माग गरिरहेको चलचित्र इन्ड्रस्टीलाई आवश्यक बक्स अफिसको सुरुवात फागुन १ गतेबाट गरेका छौँ । बक्स अफिस सबै चलचित्रकर्मीहरूको माग हो । बक्स अफिस देशैभरिका सिंगल र मल्टिप्लेक्स सबै हलमा लागू हुनेछ । यसपछि मेरो फिल्म धेरै चल्यो, तर त्योअनुसार पैसा पाइनँ भन्ने गुनासा आउने छैनन् । सबैको हिसाबकिताब हुन्छ । कोही ठगिनुपर्दैन । चलचित्र उद्योगको इकोनमी ग्रोथ हुन्छ । राज्यलाई बुझाउने कर पनि पारदर्शी हुन्छ । हलिउड, बलिउडमा बक्स अफिस धेरै पहिला लागू भइसकेको छ । नेपालमा पनि अब पूर्ण रूपमा लागू हुन्छ ।

हलहरूलाई पत्राचार
बक्स अफिस सिस्टम बोर्डमातहतमा रहन्छ । जसको सञ्चालन सुबिसु नेटवर्कको सहकार्यमा डाटाहबले गर्नेछ । तीन–चार वर्षदेखि बक्स अफिसको कुरा भएको थियो । अबचाहिँ लाग्यो है भनेर हामीले हार्डवेयर पनि जडान गर्यौँ । उपत्यकाबाहिर सञ्चालनमा रहेका चलचित्र हलहरूमा सुबिसुले निःशुल्क इन्टरनेट सेवा प्रदान गर्नेछ । उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स चलचित्रहलहरूलाई हार्डवेयर जडान गर्न पत्राचार गरिसकिएको छ । सिंगल थिएटरहरूलाई चैतको १५ गतेसम्म हार्डवेयर र इन्टरनेट कनेक्टिभिटीलगायत बक्स अफिस सञ्चालनका लागि आवश्यक सामग्री तयार गर्न पत्राचार गरेका छौँ । बक्स अफिस सञ्चालनको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न योजनासहित हामी अगाडि बढेका छौँ । चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जन, सदस्यहरू चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सफ्टवेयर निर्माता कपिल पराजुली र प्राविधिक सल्लाहकार प्रभाकर भट्टराईको हुनुहुन्छ । आगामी आर्थिक वर्षदेखि देशभर बक्स अफिस पूर्ण रूपमा लागू हुन्छ ।


उपत्यकाबाहिर समस्या
बक्स अफिसको सिस्टम लगाउँदा बढीमा १० देखि १५ लाख खर्च हुन्छ । काठमाडौं उपत्यकाका हलहरूलाई त्यति रकमले फरक पार्दैन । उपत्यकाबाहिरका हलहरूका लागि भने पाँच लाखकै सामान राख्दा पनि अप्ठ्यारो हुन सक्छ । त्यसतर्फ हामी जानकार छौँ । त्यस्ता हलहरूलाई किस्तामा तिर्नेगरी हार्डवेयर वितरण गराउन छलफल भइरहेको छ । सफ्टवेयर त बोर्डले निर्माण गरिसकेको छ । सुबिसुले नेपालभरका थिएटरहरूमा फ्री इन्टरनेट प्रवाह गरिरहेको छ । विकास बोर्डले पहल गरेर हलहरूले विज्ञापन बजाइदिने र सुबिसुले इन्टरनेट दिने व्यवस्था मिलाइएको हो । यस्तै प्रस्ताव हामीले नेपाल टेलिकमलाई पनि गरेका छौँ । तर, अहिलेसम्म जवाफ आइसकेको छैन ।
प्रोत्साहन नीति
अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गर्न सक्ने चलचित्रलाई प्रोत्साहन गर्ने नीति छ । नेपाली मौलिकता चिनाउन सार्क मुलुकबाट त्यो काम सुरु हुँदै छ । ‘सुटिङ डेस्टिनेसन इन नेपाल’ भन्ने स्लोगनसहित एक महिनाभित्र नेपालमा सेमिनार गर्ने तयारी भइरहेको छ । यसको उद्देश्य अरू देशका सिनेमाले पनि नेपाली कल्चर क्याप्चर गर्न सकून् भन्ने हो । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सुट गर्न यस्ता यस्ता ठाउँ छन् भनेर प्रचार गर्ने र कम्तीमा वर्षमा एक–दुईवटा फिल्म नेपालमा सुटिङ होस् भन्ने छ । नेपालमा चलचित्र सुटिङ गर्न गाह्रो छैन । सुटिङ गर्न बाहिर लान्छु भन्ने प्रस्ताव आउँदा एकैदिनमा काम सकाउने गरिएको छ । म गएदेखि बोर्डमा कहिल्यै पनि ढिलासुस्ती भएको छैन ।

पेपरलेस बनाउने सोच
विकास बोर्डमा अझै पनि कागजमै काम हुन्छ । सबैतिर कम्प्युटराइज भइसक्यो । बोर्डलाई पनि अब पेपरलेस बनाउने सोच छ । दुई वर्षको कार्यकालसम्म क्रमिक रूपमा सुधारको काम गर्छु । चलचित्र दर्ता अब सिस्टममा हुन्छ । एकजना निर्देशकको नाम टाइप गर्नासाथ उसले गरेको सबै काम देखिन्छ । फिल्ममेकरको नाम टाइप गर्दा सम्बन्धित सबै काम सरर देखियोस् । अहिलेकोजस्तो कागज पल्टाइरहनुपर्ने झन्झटले काम छिटोछरितो हुँदैन । छिटोछरितो सेवा दिने गरी अब बोर्डलाई पेपरलेस बनाउनेछु ।

क्षमता बढाउन आवश्यक
नेपाली चलचित्र उद्योगमा दक्ष जनशक्तिको अभाव छ । भारतीय दूतावाससँगको सहकार्यमा चलचित्रकर्मीलाई तालिम दिन लागिरहेका छौँ । त्यो नयाँ प्रविधि सिक्ने मौका हुनेछ । पुराना चलचित्रहरूलाई डिजिटलाइज गरेर म्युजियम बनाउने तयारी पनि भइरहेको छ ।
चलचित्र क्षेत्र सञ्चार मन्त्रालयअन्तर्गत पर्ने भएकाले सेन्सर बोर्डमा मन्त्रालयका कर्मचारी हुने प्रावधान छ । तर, उहाँहरूलाई चलचित्रसम्बन्धी कम थाहा भएको हुन सक्छ । तसर्थ, अब सेन्सर बोर्डमा पनि चलचित्र संघ र निर्माता संघका एक–एकजना प्रतिनिधि हुने प्रावधान हुन आवश्यक छ । अब करिब एक महिनाभित्र चलचित्र नीति लागू हुने विश्वास छ । तयार भइसकेको छ । मन्त्रालयसँगको केही प्रक्रिया मात्र बाँकी छ । समयसापेक्ष नीति आएपछि काम गर्न सहज हुन्छ ।

सुधार गर्नुपर्ने पक्ष
चलचित्रमा अहिले राम्रो मेकरहरू आउनुभएको छ । अहिलेको पुस्ता पढेको, बुझेको हुनुहुन्छ । त्यहीकारण राम्रा चलचित्र बन्दै आएका छन् । हल्का तरिकाले स्टोरी फ्लो हुनुपर्छ । जहाँ नेपालीपन होस् । त्यस्तो टाइपको चलचित्र अझै चल्छ । आफ्नोवरिपरि भएका विषयवस्तुमा आधारित भएर चलचित्र बनाउने र नेपालीपन छोडिएन भने त्यो चलचित्र चल्छजस्तो लाग्छ । फिल्मको मेकिङ एकदम राम्रो छ । तर, त्यो बलिउड, हलिउडबाट लिएकोजस्तो देखियो भने लगानी धेरै र प्राविधिक रूपमा राम्रो भए पनि दर्शकको रुचि त्यसमा नरहन सक्छ । नेपालीपनमा आधारित भएर बनाएका सिनेमालाई मान्छेले मनपराउँदा रहेछन् भन्ने उदाहरण देखिँदै आएको छ । आफ्नोपन भएको चलचित्र चलेको देखिन्छ । आफ्नै संस्कृति, सामाजिक संस्कारअनुसारको फिल्म होस् भन्ने नै दर्शकको भावना बुझिन्छ । त्यसकारण हामीले रिसर्च गरेर आफ्नै परिवेशमा  चलचित्र बनाउनुपर्छ ।

(प्रेम गौतमसँगको संवादमा आधारित)

निकिता पौडेल, अध्यक्ष, चलचित्र विकास बोर्ड

तपाईको प्रतिक्रिया