ययाति : यौनसत्ता र नारी विद्रोहको कथा - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

ययाति : यौनसत्ता र नारी विद्रोहको कथा

रङ्गमञ्च

जवानीको चरम अनुभूति भोगिरहेको मान्छेले आफू एक्कासि वृद्ध हुने खबर पायो । अब ऊ के गर्ला ? आत्महत्या ?
अथवा के सोच्ला, निराशा ?
वा हिम्मत ?
अचानकको परिवर्तनले पक्कै हतास होला । वृद्ध भएका आफ्ना हजुरबुबा सम्झेला । सेता कपाल, चाउरिएका गाला, कुप्रो शरीर, थरथर काँपेका हात, काँपेको आवाज र धमिला आँखा सम्झेला । हि“ड्दा दम बढेको सम्झेला । शौचालय जान पनि बोकिनुपर्ने अवस्था सम्झेला । भान्साको पानी खानसमेत कसैको सहारा चाहिएको सम्झेला । हजुरबुबाको संसार नै घरको एउटा कोठा थियो भन्ने सम्झेला । र, अरू धेरै वृद्धहरू आँखामा आउलान् ।

प्रकाश गुरागाईं

अनि आफ्नो हात र खुट्टा पटक–पटक हेर्ला । ऐनाअगाडि आफ्नै अनुहार हेरी बस्ला । अहिलेसम्म बाँचेको जवानी सम्झेर लोभ लागेर आउला । यसरी नै दुखी हुँदाहुँदै घाम डुब्ला । र, ऊ वर्तमानबाट भविष्यमा प्रवेश गर्ला ।

तर, ययाति महाराजका लागि यति छिटै घाम डुबिहाल्दैन । गुरु शुक्राचार्यले आज घाम डुबेपछि वृद्ध हुने श्राप दिएको खबर पाएपछि जरुर हतोत्साही छन् । आफ्नो जर्जर भविष्य सम्झिएर दुःखी छन् । छट्पटाइरहेका छन् । भोग गर्न बाँकी जवानीको लोभ लागिरहेको छ । यो नै शिल्पी थिएटरमा चलिरहेको नाटक ययातिको चरम दृश्य हो ।

भारतीय लेखक गिरीश कर्नाडको महाभारतकालीन कथामा आधारित नाटक ययाति यतिवेला शिल्पी थिएटर बत्तिसपुतलीमा मञ्चन भइरहेको छ । ययाति महाराज पाण्डवहरूको पुर्खा हुन् । ययातिकी आमा महादेव र पार्वतीकी छोरी हुन् । ययाति महाराजबारे महाभारतको आदिपर्वमा उल्लेख छ । त्यस्तै भागवत पुराणमा पनि उल्लेख छ ।

ययाति विश्वविजेता सम्राट् हुन् । उनलाई आफ्नो धनदौलतको ठूलो घमन्ड छ । उनको कमजोरी स्त्री हो । मोजमस्ती गर्नु उनको सोख हो । जस्तो आधुनिक युगमा पनि राजामहाराजा मोजमस्तीमा नै रमाएर मर्छन् ।

नाटक सुरु हुन्छ ययातिकी महारानी देवयानी र सुसारे स्वर्णलताको संवादबाट । स्वर्णलता असन्तुष्ट छे । अर्की सुसारे शर्मिष्ठाविरुद्ध ऊ कुरा लगाइरहेकी छे । शर्मिष्ठा देवयानीकी सुसारे भएर दरबार पसेकी हो । स्वर्णलता के कारणले खुसी छैन भन्ने स्पष्ट खुल्दैन । तर, देवयानी स्वयं पनि शर्मिष्ठासँग खुसी छैन।

यसरी नाटक तनावबाट सुरु भएको छ । त्यो तनावको कारण ययाति महाराज नै हुन् । तर, मञ्चको सजावट भने तनाव देखाउने प्रकारको छैन । पूरा नाटक एउटै सजावटमा सकिने हुनाले त्यसले दर्शकलाई ‘मनोटोनस’ भने बनाएको छ । नाटकको सुरुवातमा मञ्चमा चारवटा दियो फरक ठाउँमा राखिएको छ । त्यसले दरबारको सजावटको संकेत गर्छ । पछाडिको दियो निकै मधुरो छ । महाराजको भविष्य देखाउन निर्देशकले गरेको मधुरो दियोको संकेत निकै सुन्दर छ ।

मञ्चमा प्रवेश गर्ने दोस्रो पात्र हो शर्मिष्ठा । ऊ राक्षस कुलकी हो । नाटकको कथालाई अघि बढाउन उसको प्रमुख भूमिका छ । उसले देवयानीलाई नांगै पारेर कुवामा धकेलिदिएकी हुन्छे । त्यतिवेला ययाति त्यहाँ आइपुग्छन् । आफ्ना लुगा दिएर देवयानीलाई बाहिर निकाल्छन् । बाहिर निकाल्ने क्रममा आफ्नो दाहिने हात दिन्छन् । दाहिने हात दिएकै कारण देवयानीलाई बिहे गर्छन् । उता आफ्नी छोरीलाई कुवामा खसाल्ने शर्मिष्ठालाई शुक्राचार्यले श्राप दिन्छन् । त्यही श्रापको प्रायश्चित गर्न शर्मिष्ठा सुसारे बनेर देवयानीसँगै दरबार पस्छे । ऊ आफू मात्र पस्दिन, सँगै तनाव पनि ल्याउँछे । यी सबै ‘अफ स्टेज’ दृश्य हुन् । पात्रहरूको संवादबाट दर्शकले कथाको भूमिका बुझ्ने मौका पाउँछन् ।

जब मञ्चमा ययातिपुत्र पुरुराजको प्रवेश हुन्छ, अर्को नयाँ द्वन्द्वको सुरुवात हुन्छ । पुरुराज राजकाज सम्हाल्न तयार छैन । ऊ सर्वसाधारणको जीवन बिताउन चाहन्छ । अर्थात् वैराग्य हुन चाहन्छ । यसले समाजको ‘जेनेरेसन ग्याप’लाई देखाएको छ । तर, बिहे गरेर बेहुलीसँगै दरबार पसेको दिन वैराग्य हुने कुरा आफैँमा ठूलो ‘आइरोनी’ हो ।

पुरुराजको आमा को हुन् भन्ने विषय नाटकमा रहस्यमै राखिएको छ । आमाका बारे जानकारी नदिएकाले नै बाबुसँग खुसी नभएको पनि देखिन्छ । महाभारत कथाअनुसार पुरुराज शर्मिष्ठाबाट जन्मिएको हो । तर, नाटकमा पुरुराज शर्मिष्ठाको छोरो हो भन्ने संकेत पाइँदैन । शर्मिष्ठाको छोरो मान्दा नाटकको कथा बनोट बिग्रन्छ । यसलाई निर्देशकले रहस्यमा छाडेका छन् ।

नाटकको वास्तविक द्वन्द्व त्यतिवेला सुरु हुन्छ, जतिवेला शुक्राचार्यले ययातिलाई ‘आज घाम अस्ताउनेबित्तिकै वृद्ध हुने’ श्राप दिन्छन् । यो श्रापको कारण ययाति आफैँ हो । तर, उनी यो स्वीकार गर्दैनन् । किनभने उनलाई धन, शक्ति र यौवनको घमन्ड छ । जब उनको सम्बन्ध शर्मिष्ठासँग छ भन्ने देवयानीले थाहा पाउँछे, ऊ घर छाडेर हिँड्छे । देवयानीले घर छाडेपछिको संवादमा शर्मिष्ठालाई ययाति ‘वेश्या’ भन्छ । तर, यो एकदमै भद्दा लाग्छ । ययातिले नै उसलाई वेश्या बनाएको छ ।

ययाति विश्वविजेता सम्राट् हुन् । उनलाई आफ्नो धनदौलतको ठूलो घमन्ड छ । उनको कमजोरी स्त्री हो । मोजमस्ती गर्नु उनको सोख हो । जस्तो आधुनिक युगमा पनि राजामहाराजा मोजमस्तीमा नै रमाएर मर्छन् ।

यता ययातिको बुढ्यौली स्वीकार गरेर उसलाई जवान नै राख्न कोही तयार हुँदैन । न रैतप्, न प्रजा, न सुसारे र सहयोगीहरू । त्यसपछि ऊ आफू बुढ्यौलीले जर्जर भएको कल्पना गर्छ । तर, यति नै वेला छोरो पुरुराजले बुढ्यौली लिन स्वीकार गर्छ । रोचक के छ भने केही समयअघिसम्म छोराको वैराग्य नस्विकार्ने ययाति यतिवेला आफ्नो जवानी बचाउन छोरालाई बुढ्यौली दिन तयार हुन्छ । यसले राजा महाराजाको सन्तानप्रति दायित्व त्यो समयमा र यो समयमा कति थियो र छ भन्ने देखाउ“छ । सायद वैभवको अगाडि सन्तान पनि प्यारो हुँदैन ।

नारी आक्रोश चरम
नाटकका हरेक पात्रमा तनाव छ । जम्मा ६ जना पात्रलाई मञ्चमा देखाइएको छ । हरेक पात्रबीचको सम्बन्ध तनावपूर्ण छ । दुई पुरुष र चार महिला पात्र छन् । तर, नाटकमा पुरुष पात्र नै हाबी छन् । महाराज ययातिको घमन्ड र कामुकतामा हरेक महिला पात्र पीडित छन् । स्वयं युवराज पुरुराज पनि पीडामा छ । हुन त पुरुराजले आफ्नो महानता देखाउन खोजे पनि त्यो पूर्ण छैन । उसले पनि नवविवाहित रानीलाई अन्याय गरेको छ । उसले बाबुको बुढ्यौली स्वीकार गरेपछि चित्रलेखा भन्छे, ‘विनाकारण बलिदान पनि अहंकार हो ।’

शुक्राचार्यले ययातिलाई शुक्रकीटहीन बुढो हुने श्राप दिएको हुन्छ । त्यो श्राप पुरुराजले लिएको छ । ययाति आफूले चार–पाँच वर्षमा बुढ्यौली फिर्ता लिने बताउँछ । तर, पुरुराज जवान भए पनि ऊबाट अब सन्तान हुँदैन । अब आमा बन्न नसक्ने थाहा पाएपछि पुरुराजकी रानी चित्रलेखाले ययातिलाई चुनौती दिन्छे । उसले आफूलाई स्वीकार गर्न र सन्तान दिन माग गर्छे । यो नै नारी विद्रोहको चरम रूप हो ।

ययाति र चित्रलेखाबीचको संवादले अहिले पनि हरेक घरमा हुने पुरुष र नारीको द्वन्द्वलाई देखाउँछ । यी संवाद चलिरहँदा दर्शकसमेत चकित पर्छन् । चित्रकलाको हिम्मतले नारी आवाजलाई सशक्त बनाएको छ ।

रोचक तर कमजोर उपकथा
नाटकमा धेरै उपकथा छन् । यी त्यस्ता उपकथा हुन्, जुन मञ्चमा देखाइँदैन । तर, संवादहरूको माध्यमबाट दर्शकले बुझ्न सक्छन् । नाटकमा जोडिएका उपकथा निकै रोचक छन् । जस्तो– देवयानी कुवामा खसेको र ययातिले निकालेको उपकथाले सम्पूर्ण नाटकको आधार तयार भएको छ ।

पुरुराजले गुरुकुलमा पढ्दाखेरिको उपकथाले ययातिको चरित्रलाई थप स्पष्ट पारेको छ । राजकुलको इतिहास छ त्यसमा । स्वर्णलताको उपकथाले दरबारको चरित्र देखाएको छ ।

तर, पहिलो उपकथाबाहेक अरू उपकथालाई निर्देशकले सशक्त ढंगले प्रस्तुत गर्न सकेका छैनन् । ती उपकथा दर्शकलाई झड्का दिने गरी आउँदैनन् । न त तिनले कथालाई नयाँ मोड नै दिएका छन् ।
नाटकमा शुक्राचार्य नेपथ्यको बलियो पात्र हो । मञ्चमा शुक्रचार्यको प्रवेश छैन । तर, नाटकमा सम्पूर्ण सम्बन्ध उसकै कारण जोडिएका छन् । नाटकमा भएका तनावको कारण पनि शुक्राचार्य नै हुन् । पहिलो श्रापले शर्मिष्ठा दरबार आइपुगी । जहाँबाट मञ्चमा नाटकको सुरुवात भएको छ । दोस्रो श्रापले नाटकलाई उत्कर्षमा पुर्‍याएको छ । यही श्रापले नाटकलाई वियोगान्त बनाएको छ ।

कमजोर प्रविधि, बलियो प्रस्तुति
मञ्चमा १४ वटा लाइटको प्रयोग गरिएको छ । तर, ‘लाइट इफेक्ट’ भने निकै कम मात्र प्रयोग गरिएको छ । जब पुरुराजले आफ्नो बाबुको बुढ्यौली स्वीकार गरेको चित्रलेखाले थाहा पाउँछे, ऊ निकै ठूलो तनावमा हुन्छे । यो तनाव देखाउन भुइँमा बसिरहेकी चित्रलेखालाई भुइँकै लेभलबाट लाइट दिइएको छ । अन्य लाइट निभाइएको छ । लाइटमा दर्शकका आँखा केन्द्रित हुन्छन् । दर्शकको दिमागमा पनि तनाव सिर्जना हुन्छ । निर्देशकले यहाँ भने लाइटको निकै राम्रो प्रयोग गरेका छन् ।

नाटकमा दृश्यहरू निकै लामा छन् । डेढ घन्टाको नाटक अवधिभर स्टेजमा बिरलै मात्र बत्ती निभ्छ । वेशभूषा भने निकै राम्रोसँग प्रयोग गरिएको छ । पौराणिककालको विषयवस्तु हुनाले पात्रहरूको भाषा कस्तो हुनुपर्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था हुँदैन । तर, आधुनिक समयमा बोलिने भाषाभन्दा पक्कै फरक हुनुपर्छ । नाटकमा प्रयोग भएको भाषा अस्वाभाविक लाग्दैन । र, त्यो भाषाले आधुनिककालभन्दा फरक समयको कथा हो भन्ने पनि देखाउँदैन । कतै–कतै पात्र संवादमा भने झुक्किन्छन् । खासगरी नाटकको पहिलो आधा भागका संवाद लामा छन् । लामा–लामा संवादका कारण पात्रहरूलाई समस्या भएको हुन सक्छ ।

कलाकारको बलियो उपस्थिति
ययातिको भूमिकामा चर्चित नाट्यकर्मी घिमिरे युवराज छन् । पुरुराजको भूमिकामा प्रकेश सिन्धुलीय छन् । उनको अभिनय निकै राम्रो छ । त्यस्तै देवयानीको भूमिकामा सरस्वती अधिकारी, शर्मिष्ठाको भूमिकामा पवित्रा खड्का, स्वर्णलताको भूमिकामा आकांक्षा जिसी र चित्रलेखाको भूमिकामा अर्चना पन्थीको अभिनय छ ।

निर्देशक टंक चौलागाईंले पनि निकै मिहिनेत गरेका छन् । पौराणिक कथावस्तुलाई यो समयमा देखाउँदाको चुनौतीलाई उनले मजैले पार लगाएका छन् । नाटक शिल्पी थिएटरमा ३ चैतसम्म चल्नेछ।

तपाईको प्रतिक्रिया