स्वार्थको लडाइँले निम्त्याएको सिरियाली संकट : मुख्य दोषी अमेरिका - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

स्वार्थको लडाइँले निम्त्याएको सिरियाली संकट : मुख्य दोषी अमेरिका

सिरियामा विगत सात वर्षयता भएका अधिकांश नरसंहार अमेरिका र उसका सहयोगी राष्ट्रको हस्तक्षेपका कारण भएको छ । मध्यपूर्वमा उनीहरूले चालेको कदमका कारण हिंसाले उग्ररूप धारण गरेको छ । अब पनि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् चुप लागेर बस्ने अवस्था छैन । सिरिया संकट रोक्न परिषद्ले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने समय आइसकेको छ । परिषद्का स्थायी सदस्य राष्ट्रहरू स्वयंले गरेको नयाँ सहमतिअनुसार नयाँ कदम चाल्न ढिला गर्नु हुन्न ।

जेफ्री डी. साच्स

सन् २०११ बाट सुरु भएको सिरिया संकटको पृष्ठभूमिबाट सन्दर्भको उठान गरौँ । त्यो बखत ‘अरब स्प्रिङ्ग’ आन्दोलनले उग्ररूप लिइरहेको थियो । आन्दोलनले धमिलिएको सिरियाको वातावरणको फाइदा उठाउँदै अमेरिकाले साउदी अरब, कतार, टर्की र इजराइललाई हातमा लियो । उसले सिरियाली राष्ट्रपति बसर अल असदको सत्ता पल्टाउने योजना बनायो । अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गर्दै अर्काे देशको सरकारमाथि हस्तक्षेप गर्न अमेरिका पछि परेन । सन् २०१२ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले सिरियाका विद्रोही समूहलाई सहयोग गर्न अमेरिकाको केन्द्रीय जासुस एजेन्सी (सिआइए) को प्रयोग गरे । सिरियाका असन्तुष्ट विद्रोही समूह तथा गैरसिरियाली लडाकुलाई समेत अमेरिकाले हतियार तथा प्रशिक्षण उपलब्ध गराएर सहयोग गर्न थाल्यो । यस कार्यका लागि अमेरिकाले आफ्ना समर्थक देशलाई पनि सहमतिमा लिएको थियो । यस्तो कदमबाट छिटै असदसत्ता ढल्ने विश्वास अमेरिकाको थियो । अरब स्प्रिङ्ग आन्दोलनकै क्रममा ट्युनिसिया तथा इजिप्ट सरकार ढलेझैँ सिरिया सरकार पनि धेरै समय टिक्न नसक्ने विश्लेषण अमेरिकाले गरेको थियो ।

अल्पसंख्यक अलावी सिया मुसलमान समुदायले असदसत्ता हाँकेको छ । सिरियाको जनसंख्यामा १० प्रतिशत सिया मुसलमान, ७५ प्रतिशत सुन्नी मुसलमान, १० प्रतिशत क्रिस्चियन र ५ प्रतिशत अन्य समुदाय रहेका छन् । असदसत्ताको आडको रूपमा रुस र इरानजस्ता क्षेत्रीय शक्ति रहेका छन् । सिरियाको मेडिटेरानियन समुद्री तटमा यी शक्तिराष्ट्रले आफ्नो नौसेनाका लागि आधार थालो बनाएका छन् । यसर्थ, इरानी तथा रुसी प्रभावलाई निस्तेज बनाउने उद्देश्यका लागि अमेरिका असदसत्ता ढाल्न चाहन्छ । अर्कोतर्फ, क्षेत्रीय स्वायत्तताका लागि सिरियाको कुर्दिस पक्ष लडिरहेको छ । तर, कुर्दिस विद्रोहीलाई दबाउन र पुरानो ओटोमन भूमिमा आफ्नो प्रभाव विस्तार गर्ने कार्यमा टर्की उद्यत छ । सिरिया र इराकमा पनि प्रभाव बढाउन टर्की चाहन्छ । त्यस्तैमा, सिरियामा बढिरहेको इरानी प्रभावलाई रोकेर आफ्नो प्रभाव बढाउन साउदी अरब चाहन्छ । अनि इजरायलले पनि इरानविरुद्ध कदम चाल्ने अवसर खोजिरहेको छ । इरानले लेबनानमा हेज्बुल्लाह र गाजा क्षेत्रमा हमास लडाकुलाई सहयोग गरेकाले इजरायलले आफूलाई असुरक्षित महसुस गरेको छ । कतारको कुरा गर्नुपर्दा, सिरियामा सुन्नी मुसलमानलाई ऊ सत्तामा ल्याउन चाहन्छ ।

अमेरिका र उसका समर्थक देशले सहयोग गरेका सिरियाली हतियारधारी समूहले सन् २०११ मा एउटै नारामा सहमति जनाए । उनीहरूले ‘स्वतन्त्र सिरियाली सेना’ को नामबाट एकीकृत भएर सत्ताविरुद्ध लड्ने प्रतिबद्धता जनाए । उक्त समूहमा फरक–फरक समर्थक, विचारधारा तथा उद्देश्य भएका विद्रोही समूह संलग्न थिए । असन्तुष्ट सिरियाली तथा स्वतन्त्रता खोजिरहेका कुर्ददेखि सुन्नी जिहादवादी समूहलाई साउदी अरब र कतारले सहयोग गरिरहेका छन् ।

यसरी असदसत्ता उल्ट्याउन अमेरिका र उसका समर्थक देशले ठूलो सैन्य बल र स्रोतको प्रयोग गरेता पनि सफल हुन सकेनन् । एक त उनीहरूले भयानक नरसंहार निम्त्याए । अर्कोतर्फ लाखौँ सिरियाली शरणार्थीमा परिणत भए । अधिकांश शरणार्थी युरोपमा शरण लिन पुगेका छन् । यसले युरोपमा शरणार्थी संकट निम्त्याएको छ । फलस्वरूप आप्रवासीविरोधी भावनाले युरोपमा राजनीतिक समर्थन पाएको छ ।

असदसत्ता पल्टाउन नसक्नुका चार मुख्य कारण छन् । पहिलो कारण, असदसत्ताले सिया मुसलमान समुदायलाई मात्र हातमा लिएको थिएन, सुन्नी मुसलमानबाट असुरक्षित महसुस गरेका क्रिस्चियन तथा अन्य अल्पसंख्यक समुदायको साथ पनि असदसत्तालाई थियो । सुन्नी अतिवादी मुस्लिम सत्ताको डर यस्ता अल्पसंख्यक समुदायमा व्याप्त थियो । दोस्रो कारण भनेको अमेरिकाले नेतृत्व गरेको गुटमाथि इरान र रुसले प्रतिवाद गरिरहेका थिए । तेस्रो कारण जिहादी मुसलमानको एउटा समूह छुट्टिएर स्लामिक स्टेट (आइएस) बन्यो । त्यसपछि, असदसत्तालाई ढाल्नेभन्दा पनि आइएसलाई सखाप पार्न अमेरिकाले ठूलो स्रोत र बल खर्चिन थाल्यो । चौथो तथा अन्तिम कारण भनेको असदविरोधी समूह पनि आफैँमा विभाजित हुन थाले । उदाहरणका लागि अमेरिकाले सहयोग गरेका कुर्दिस लडाकुविरुद्ध टर्कीले गरिरहेको आक्रमणलाई लिन सकिन्छ । असदसत्ता पल्टाउने अमेरिकी गुटको असफलताका यी कारण अहिले पनि सान्दर्भिक छन् । अहिले युद्ध उपलब्धिविहीन अवस्थामा छ । केवल रक्तपात मच्चिरहेको छ ।

असदसत्तालाई फ्याँक्ने नाममा अमेरिकाले अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघीय घोषणापत्रको उल्लंघन गरेको छ । तर, अमेरिकाको कदमले निम्त्याएको विध्वंसात्मक परिणामलाई अमेरिकी आधिकारिक भनाइमा समेटिएको छैन । आफ्नो गल्ती स्विकार्न अमेरिका तयार छैन । सिरियामा रुस र इरानको प्रभावको व्यापक विरोध अमेरिकाले गर्दै आएको छ । तर, अमेरिका र उसको गुटले सिरियाको सार्वभौमसत्तामाथि बारम्बार आक्रमण गरेका छन् । सिरियामा व्याप्त युद्धलाई गृहयुद्धको संज्ञा दिएर अमेरिकी सरकारले भ्रम छरेको छ । यो केवल अमेरिका, इजरायल, रुस, साउदी अरब, इरान र कतारबीचको शक्तिको लडाइँ हो भनी ऊ भन्न सक्दैन ।

जुलाई ०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली विद्रोहीलाई दिइँदै आएको सहयोग रोक्ने घोषणा गरे । तर, व्यवहारमा भने सहयोग जारी नै राखियो । अहिले असदलाई सत्ताबाट हटाउनेभन्दा पनि उनलाई कमजोर बनाउने रणनीति अमेरिकाले अपनाएको छ । युद्धलाई लम्ब्याउने नियतका साथ गत डिसेम्बर महिनामा पेन्टागनले एउटा घोषणा ग¥यो । अनिश्चितकालसम्मका लागि अमेरिकी फौज सिरियामै रहने घोषणा बाहिर आयो । आइएस नियन्त्रित क्षेत्रमा असदविरोधी विद्रोही फौजलाई सहयोग गर्न अमेरिकाले रणनीति बनाएको छ । तर, यसका लागि सिरियाली सरकारको सहमति लिन जरुरी ठानिएन ।

अहिले युद्धले झनै उग्ररूप लिएको छ । असद सरकारले हालै सरकारविरोधी विद्रोही समूहमाथि आक्रमण गर्यो । लगत्तै अमेरिकी गुटले जवाफी हवाई आक्रमण गर्यो । आक्रमणमा पनि सयभन्दा बढी सिरियाली सरकारी सेना र रुसी लडाकु मारिए । उक्त विकसित घटनाक्रमलाई लिएर अमेरिकी रक्षामन्त्री जिम म्याटिसले सिरियाली गृहयुद्धमा अमेरिकाको कुनै संलग्नता नभएको भन्दै बेइमानीपूर्ण भनाइ व्यक्त गरे । अर्कोतर्फ, सिरियामा इरानको भूमिकालाई लिएर इजरायलले आपत्ति जनाएको छ ।
अमेरिका र उसको गुटले वास्तविकताको सामना गर्नुपर्छ । अलोकप्रिय नै भए पनि असदसत्ताको अस्थित्वलाई स्वीकार गर्नुपर्छ । सिरियाको सम्प्रभुता तथा सार्वजनिक सेवालाई पुनः स्थापित गर्नका लागि अमेरिका, रुसलगायत प्रमुख शक्तिको समर्थनमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले तल्काल कदम चाल्नुपर्ने हुन्छ । साथै, सुरक्षा परिषद्ले असदसत्ताले पूर्वविद्रोही तथा विद्रोही समर्थक नागरिकमाथिको आक्रमण रोक्न पनि भूमिका खेल्न आवश्यक छ ।

निःसन्देह असदसत्ता शक्तिमा रहनेछ । इरान र रुसले सिरियामा आफ्नो प्रभाव बनाई राख्नेछन् । तर, सिरियामा कसले शासन गर्ने तथा कसको गुटमा रहने भन्नेजस्ता अमेरिकाको आधिकारिक भ्रमको अन्त्य हुनुपर्छ । साउदी अरब, टर्की, इरान र इजरायललाई व्यावहारिक शान्तिको दायरामा ल्याउन राष्ट्रसंघीय सुरक्षा परिषद्ले सटिक कदम चाल्नुपर्छ । यसले गर्दा सिरियामा जारी रक्तपातको अन्य हुने वातावरण बन्नेछ । सिरियाली जनताले पुनः आफ्नो जीवन बाँच्न पाउनेछन् ।

(जेफ्री डी. साच्स कोलम्बिया विश्वविद्यालयका दिगो विकास र स्वास्थ्य नीति तथा व्यवस्थापन विषयका प्राध्यापक हुन् । उनी कोलम्बियाको दिगो विकास केन्द्र र संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान सञ्जालका निर्देशकको रूपमा कार्यरत छन् ।)

कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१८
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
www.project-syndicate.org

तपाईको प्रतिक्रिया