नेप्से र कारोबार रकम दुवै बढ्यो - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नेप्से र कारोबार रकम दुवै बढ्यो

मंगलबार नेप्से परिसूचक बढेको छ । पछिल्लो ६ कारोबार दिन ओरालो लागेको नेप्से यस दिन बढेसँगै लगानीकर्ताको मनोबल बढेको देखिन्छ । बजार निरन्तर ओरालो लाग्दा अधिकांश कम्पनीको सेयरमूल्य तुलनात्मक रूपमा सस्तिएको छ ।

सस्तो मूल्यमा राम्रा कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताको चाप बढेपछि यस दिनको बजार सकारात्मक रहेको हो । साथै, नयाँ अर्थमन्त्री नियुक्तिले पनि बजारमा उत्साह थपिएको हो । सोमबार प्रधानमन्त्री केपी ओलीले सरकार विस्तार गर्ने क्रममा डा. युवराज खतिवडालाई अर्थमन्त्री नियुक्त गरेका थिए । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनरसमेत रहिसकेका खतिवडा अर्थमन्त्री भएपछि लगानीकर्तामा उत्साह छाएको छ । नवनियुक्त अर्थमन्त्रीले लगानीमैत्री वातावरण सिर्जना गर्ने र लगानीमैत्री नीति ल्याउने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् । मुलुकमा देखिएको आर्थिक अराजकतालाई व्यवस्थित गर्न सक्ने व्यक्ति अर्थमन्त्री भएको एक लगानीकर्ताले बताए । नयाँ अर्थमन्त्रीले आर्थिक एजेन्डाहरूलाई उपयुक्त ढंगले सम्बोधन गर्ने उनको भनाइ छ ।

यस दिन नेप्से परिसूचक ५ दशमलव ८६ अंक बढेर १ हजार ३ सय ६४ दशमलव ८१ बिन्दुमा पुगेको छ । बजार खुलेदेखि सुस्त गतिमा उकालो लाग्दै गरेको नेप्से मध्याह्नपछि तीव्र गतिमा उकालो लागेको थियो । तर, सो गतिलाई निरन्तरता दिन नसक्दा केही समयपछि नै नेप्से ओरालो लागेको थियो । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ५१ अंक बढेर २ सय ८९ दशमलव १६ बिन्दुमा पुगेको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ३६ दशमलव ६५ स्केलमा पुगेको छ । न्यट्रल जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । लगानीकर्ताको सम्पत्ति अघिल्लो दिनको तुलनामा रु. ६ अर्ब ८५ करोड बढेर रु. १५ खर्ब ९६ अर्बमा पुगेको छ ।

कारोबार रकमका आधारमा यस दिन पनि नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । यस दिन सो कम्पनीको ५ सय २ पटकको कारोबारमा रु. ६ करोड ७१ लाखबराबरको सेयर खरिदबिक्री भएको छ । कम्पनीले ४२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेका कारण लगानीकर्ताहरू सोतर्फ आकर्षित भएका हुन् । त्यसैगरी, प्रभु बैंकको यस दिन रु. ६ करोड १८ लाखभन्दा बढीको २ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ । गुर्खाज फाइनान्सको सेयरमूल्य यस दिन ५ दशमलव ४७ प्रतिशत बढेको छ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य यस दिन ९ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५३ कम्पनीमध्ये ७६ कम्पनीको सेयरमूल्य बढेको छ भने ५२ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २५ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिन कारोबारमा आएका नौ समूहमध्ये पाँच समूहको परिसूचक बढेको छ भने चार समूहको परिसूचक घटेको छ । यस दिन अन्य समूहको परिसूचक सर्वाधिक १ दशमलव ६१ प्रतिशत बढेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक १ दशमलव ५८ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ४९ प्रतिशत, वित्त समूहको शून्य दशलमव ४४ प्रतिशत र माइक्रोफाइनान्स समूहको शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ । यस दिन उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव ४३ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव शून्य ७ प्रतिशत, बिमा समूहको शून्य दशमलव शून्य ४ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव शून्य २ प्रतिशत घटेको छ ।

आरम्भको आइपिओ निष्कासन खुला
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फागुन १५ गतेदेखि सर्वसाधारणका लागि २ लाख ९४ हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा फागुन २९ गते हुनेछ । कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये ८ हजार ८ सय २० कित्ता साधारण सेयर कम्पनीको कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ ।

त्यसैगरी, १४ हजार ७ सय कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिएको छ । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन् ।

 रिलायन्सको हकप्रद बाँडफाँट
रिलायन्स फाइनान्स लिमिटेडले फागुन १० गते हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले मंसिर ७ गतेसम्म कायम सेयरधनीहरूका लागि निष्कासन तथा बिक्री गरेको २३ लाख ६ हजार ५ सय ७१ दशमलव ६० कित्ता हकप्रद सेयर बाँडफाँट गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

 एसियन लाइफ इन्स्योरेन्सको लाभांश
एसियन लाइफ इन्स्योरेन्सले १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट विद्यमान चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर तथा शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने भएको हो ।

कम्पनीको फागुन १४ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो प्रस्ताव बिमा समितिबाट कम्पनीको आर्थिक वर्ष ०७३-७४ को वित्तीय विवरण स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात् वितरण गरिनेछ ।

नेपाल फाइनान्सको बुक क्लोज
नेपाल फाइनान्स लिमिटेडले फागुन २९ गते साधारणसभा आयोजना गर्ने भएको छ । कम्पनीको सेयर कारोबार ०७१ मंसिर १८ गतेदेखि बन्द भएको साधारणसभा प्रयोजनका लागि पुनः बुक क्लोज गर्न नपर्ने कम्पनीले बताएको छ । तर, नेपाल राष्ट्र बैंकको स्वीकृतिबाट कायम सेयरधनीहरूलाई समेत विशेष सधारणसभामा समावेश गर्ने प्रयोजनका लागि फागुन १५ गतेपश्चात् बुक क्लोज गर्न नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु