टोपबहादुरलाई नेपाल फर्काउन एनआरएन युएईले आर्थिक संकलन गर्ने - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

टोपबहादुरलाई नेपाल फर्काउन एनआरएन युएईले आर्थिक संकलन गर्ने

युएईको अदालतले फैसला सुनाएको ब्लडमनी तिर्न नसकेर नेपाल फर्कन नपाएका चितवन खैरेनीका टोपबहादुर विकलाई आर्थिक सहायता जुटाउन एनआरएन युएईले अभियान थाल्ने भएको छ ।

विकलाई रिहाइका लागि युएईको अदालतले एक लाख युएई दिहराम (करिब २८ लाख नेपाली रुपैयाँ) तोकेको छ । पैसा जुटाउन नसक्दा उनी नेपाल फर्कन पाएका छैनन् ।

गैर आवासीय नेपाली संघ(एनआरएन) युएईको राष्ट्रिय समन्वय परिषद्को शुक्रबार बसेको बैठकले आर्थिक सहायता जुटाउन अभियान सुरु गर्ने निर्णय गरेको संघका प्रवक्ता मनु क्षेत्रीले नयाँ पत्रिकालाई जानकारी दिए ।

बैठकले विकलाई नेपाल फर्काउने अभियानलाई सफल बनाउन एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ संयोजकको जिम्मेवारी दिएको छ ।

श्रेष्ठले नेपाली दूतावास युएई र युएईमा क्रियाशील नेपाली संघसंस्थाहरूसँग समन्वय गरेर छिट्टै राहत संकलन समिति बनाउने बताए ।

यसअघि विकलाई नेपाल फर्काउन कुल रकमको दश प्रतिशत अर्थात करिब २ लाख ८० हजार नेपाली रुपैयाँ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले सहयोग गर्ने निर्णय भइसकेको छ ।

 

रोजगारको सिलसिलामा चार वर्ष पहिले क्रेन दुर्घटना भई दुईजना थाइल्यान्डका नागरिकको मृत्यु भएपछि युएई अदालतले मृतकका परिवारलाई ब्लडमनी स्वरूप करिब २८ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो ।

ब्लडमनी तिर्न नसक्दा उनी चार वर्षदेखि घर फर्कन पाएका छैनन् ।

तपाईको प्रतिक्रिया