हरेक वस्तुमा नेपाल आत्मनिर्भर बन्न सक्छ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

हरेक वस्तुमा नेपाल आत्मनिर्भर बन्न सक्छ

प्रदेश १ र प्रदेश २ मा उत्पादन हुने खाद्य पदार्थ फरक हुन्छ । हरेक प्रदेशमा फरक–फरक उत्पादन हुन्छ । कुनै प्रदेशमा दूधको उत्पादन बढी हुन्छ, कुनैमा माछामासु, कुनैमा फलफूल त कुनैमा धानका लागि एकदम राम्रो हुन्छ । हिमालमा उत्पादन भएको तराईसम्म र तराईमा उत्पादन भएको वस्तु तराई–हिमालसम्म पुग्छ । केही वर्षदेखि कृषिमा लगानी कम र कृषकमा पनि मनोबल कम भएको छ । कुनै पनि काम छैन भने मात्र कृषि पेसा भन्ने अवस्था छ । कृषि पेसा अपहेलितजस्तो देखियो । तर, पछिल्लो समय केही परिवर्तन आएको छ । विदेशमा श्रममा गएर (कोरिया, साउदी, इजरायल आदि) फर्केर आएकाहरूले कुखुरा पालन गर्ने, बंगुर पालन गर्ने, बाख्रा पालन गर्ने, कृषिमा लगानी गर्न थालेका छन् । उपभोक्ताको माग पनि अर्गानिक छ । केही समय लाग्छ, तर कृषि पेसाको भविष्य उज्वल छ ।
एउटा प्रदेशमा उत्पादन भएको वस्तु अर्को प्रदेशमा प्र्रयोग गर्न पाइन्छ । कृषिमा सरकारले सहयोग गरेर कृषकको मनोबल उच्च बनाउनुपर्छ । त्यसपछि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिन्छ । र, निर्यात गर्ने अवस्था आउँछ । अर्गानिक चिया, अर्गानिक कफी, मह, छुर्पीजस्ता पदार्थलाई नेपाल सरकारले पनि उच्च प्राथमिकताका साथ राखेर निर्यात गर्ने भन्ने छ । अहिले चिनजानका आधारमा थोरै मात्रामा निर्यात हुँदै आएको छ । अदुवा, अलैँचीले फड्को मारेको छ तर निर्यातमा धेरै गाह्रो छ । क्यालिटीलगायत प्यारामिटरहरू जति मिट गर्नुपर्ने हो, त्योअनुसार हामी पुग्न सकेका छैनौँ । त्यहाँ पुग्न आवश्यक छ ।
अझ धेरै सम्भावना छ
जडीबुटी स्थानीय तहको सम्पत्ति हो । तर, जडीबुटीमै ठूलो समस्या छ । उद्योगहरू तयार भएका छैनन् । कच्चा पदार्थ बाहिर जाने र औषधि आयात हुने अवस्था छ । सस्तोमा कच्चा पदार्थ विदेश पठाइन्छ भने महँगोमा औषधि किन्नुपर्ने अवस्था छ ।
हामीले के उत्पादन गरिरहेका छौँ भन्ने जानकारी नै हुँदैन । गुणस्तर कस्तो छ, उपभोक्ताहरूको चाहना कस्तो छ, सरकारले तोकेका मापदण्ड कस्तो छ । त्यो पूरा गर्न नसकेर पनि समस्या हुने गरेको छ । अर्को एउटा तप्का छ, उहाँहरूले जानेर तयार गर्नुहुन्छ । तर, बजारमा धेरैले किनेर खान सकिराख्नुभएको छैन । विदेशबाट मगाएर खाने वर्ग पनि नेपालमा छ । त्यसकारण उत्पादनकर्ता र सरकारले सहकार्य गरेर उत्पादन गर्नुपर्छ । ठूला उद्योग स्थापना गर्नु परे पनि तयार हुनुुपर्छ । कच्चा पदार्थलाई नेपालमै प्रशोधन गर्ने वातावरण बनाउनुपर्छ । बजारमा तयारी अवस्थामा ल्याउन लगानी धेरै लाग्छ । प्रोडक्ट बिक्री हुन्छ कि हुँदैन भन्ने डर रहेसम्म लगानी गर्न निजी क्षेत्र आउँदैन । मापदण्डअनुसार उत्पादन भएका वस्तुको बिक्रीवितरण हुन्छ भन्ने चेतना फैलाउन आवश्यक छ । सरकारले पनि मेसिन खरिदमा सहुलियत दिने, बाहिर निर्यात गर्छ भने त्यसमा पनि केही छुट
दिने गरियो भने नेपालमा अझ धेरै सम्भावना छ ।
अलैँची, चिया, कफी, अदुवा, छुर्पी, घ्यु, मासुजन्य पदार्थमा सम्भावना धेरै छ । नेपाल मासुमा आत्मनिर्भर भइसकेको छ । कुखुरा बाहिरबाट ल्याउनुपर्दैन, बिस्तारै खसीमा पनि आत्मनिर्भर हुँदै छ । नयाँ–नयाँ डिमान्ड पनि आइरहेका छन् । रुसबाट पनि चियाको माग भइरहेको छ ।

पपुलर कार्यक्रम आवश्यक
कृषकका लागि पपुलर कार्यक्रम ल्याउनुपर्छ । ‘एक गाउँ, एक उद्यम’ अभियान सञ्चालन गर्न सकिन्छ । त्यो गाउँमा जे उत्पादन राम्रो हुन्छ, त्यसमा सरकारले सहुलियत दिएर अगाडि बढ्नुपर्छ । हामीमा व्यावसायिकताको कमी छ, व्यावसायिक हुनैपर्छ । हामी उत्पादन गर्छौं, तर हामी आफैँलाई के उत्पादन गरिरहेका छौँ, मार्केट कस्तो छ भन्ने थाहा हुँदैन । छिमेकीले केही बनायो, मैले पनि त्यही बनाउनुपर्छ भन्ने संस्कार छ । प्राविधिक पक्ष थाहा हुँदैन । धेरै सम्भावना छ, तर फरक ढंगले चल्नुपर्छ । राम्रो वातावरणमा उत्पादन भएको खानेकुराको ब्रान्डिङ गर्न सक्यौँ भने नेपाली उत्पादन नेपालभित्र र बाहिर पनि जाने सम्भावना छ । राम्रो ब्रान्डिङ गर्न सकियो भने विश्वास हुन्छ । त्यसमा युवालाई अलि बढी जागरूक गराउनुपर्छ । स्थानीय तहलाई अधिकार पनि छ, बजेट पनि छ । स्थानीय तहले यसरी सोचेर अगाडि बढ्ने हो भने धेरै कम गर्न सकिन्छ । स्थानीय तहमा पोषणसम्बन्धी ज्ञान दिने र बनाउन सिकाउने खाद्य अधिकृतहरू हुन जरुरी छ । चामलका लागि लाइन बस्ने, तर बारीभरि भएको कोदो फापर खान नजान्ने समस्या पनि छ । कोदो, फापरको परिकार बनाउन पनि सिकाउनुपर्छ ।
मौलिक खानाको ब्रान्डिङ गर्नुपर्छ
आफ्नो व्यवसायको प्रमोसनका लागि ब्रान्डिङ गर्ने काम व्यक्ति स्वयंको हो । कसरी दर्ता गर्ने भन्ने राज्यले हेर्छ । व्यावसाय फस्टाउँदा व्यक्तिलाई मात्र नभएर राज्यलाई पनि फाइदा हुन्छ । अन्य देशले केही वस्तुको ब्रान्डिङ गरिसकेका छन् । जस्तो, बास्मती चामल पाकिस्तानले ब्रान्डिङ गरिसक्यो । बास्मती चामलको त्यो बिउ प्रयोग गर्नुप¥यो भने हामीले उसलाई रोयल्टी तिर्नुपर्ने हुन्छ । हाम्रा परम्परागत खानेकुराको ब्रान्डिङ हामीले गर्न सक्छौँ । नेपालको सेल ब्रान्डिङ ग¥यौँ भने अरू ठाउँमा पाक्छ भने हामीलाई रोयल्टी तिर्नुपर्छ । गुन्द्रुक, मस्यौरालगायतका वस्तु विदेश पठाउन पनि सजिलो हुन्छ र विदेशमा धेरै नेपालीले त्यही खोजेर खान्छन् । त्यसकारण मौलिक खानालाई ब्रान्डिङ गरियो भने अझै धेरै अवसर आउँछ । गुणस्तर कायम गर्दा स्वास्थ्य राम्रो हुन्छ, त्यो अवस्थामा अझ धेरै काम गर्न सकिन्छ । जिडिपीमा योगदान हुन्छ ।
कृषिले जिडिपीमा ३३ प्रतिशत योगदान गर्छ । अन्य देशलाई हेर्दा कृषिको यति योगदान राम्रो मानिन्छ । १० प्रतिशत बजेट कृषि मन्त्रालयलाई छुट्याइन्छ । त्यो पैसा स्थानीय कृषकसम्म पुग्नुपर्छ । कतिपय अवस्थामा बजेट अफिस, कर्मचारी, सामान आदिमै खर्च हुन्छ । कृषकसम्म कतिपय अवस्थामा पुग्न नसकेको पनि देखिन्छ । अनुसन्धान गर्दा खर्च पनि हुन्छ । कृषि बुझेको मन्त्री आउने अवस्था भयो भने रमाएर काम गर्नुुहुन्छ । सुरुमा रुचि नभए पनि मन्त्रालय सम्हालेपछि भने म पनि कृषक हुन्छु, उद्यमी हुन्छु भन्नुहुन्छ । सांसदहरूले पनि यही निष्कर्ष निकालेको देखिन्छ । कृषिमा लागे आत्मनिर्भर हुन सकिन्छ भन्ने चेतना विकास हुँदै गएको छ ।

यस्ता समस्या छन्
हामी राम्रोसँग प्याकेजिङ पनि गर्न जान्दैनौँ । त्यसलाई ब्रान्डिङ पनि गर्न जान्दैनौँ । कतिलाई ऐन नियमका बारेमा थाहा हुँदैन । कतिपयलाई प्राविधिक कुराहरू थाहा हुँदैन । कहाँ प्याकेजिङ मेटेरियल किन्ने, कस्तो प्रयोग गर्ने भन्ने थाहा हुँदैन । मलाई दूधको परिकार बनाउन मन छ, तर केही पनि आउँदैन । कस्तो खालको उपकरण चाहिन्छ, कस्तो खालको वातावरण चाहिन्छ भन्ने ज्ञान पनि कमी छ । बजार कहाँ छ भन्ने पनि थाहा हुँदैन । चिज बनाउन थालिसके, तर बजार थाहा छैन । व्यवसाय सुरु गर्नुभएको छ, तर प्राविधिक ज्ञान नहुने, नेपाल सरकारले तोकेका मापदण्ड पूरा नहुने अवस्था पनि छ । उद्योगमा दर्ता गर्नुपर्ने विषयमा ज्ञान नभएको पनि देखिएको छ ।

सचेत बनौँ
फास्टफुड र जंकफुडमा अलिकति फरक छ । जंकले इनर्जी पनि दिँदैन, प्रोटिन पनि पाइँदैन । फास्टफुडमा पनि केही जंकफुड छ । दाल, भात, तरकारी खायौँ र कहिलेकाहीँ रेस्टुरेन्टमा गएर स्वच्छ, सफा खानेकुरा खायौँ भने असर गर्दैन । तर, बिहान, दिउँसो, बेलुकै फास्टफुडमै निर्भर भयौँ भने त्यसले असर गर्छ । अहिले राज्यलाई दुईखाले समस्या छ । एकाथरी (दुर्गम) खान नपाएर समस्यामा छन् भने अर्कोतिर (सहर) धेरै खाएर समस्यामा छन् ।

जीवनप्रभा लामा, पूर्वकामु सचिव एवं खाद्यविज्ञ, (प्रेम गौतमसँगको संवादमा आधारित)

तपाईको प्रतिक्रिया