गुरुङ समुदायको भरमा लमजुङको ग्रामिण पर्यटन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

गुरुङ समुदायको भरमा लमजुङको ग्रामिण पर्यटन

पर्यटकीय जिल्ला लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पहिले रोधी हुँदै सामुहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, युवा क्लब, बाबा समूह भएर गाउँको विकास निर्माणमा जुटेका छन् । यस्तै, उनीहरु पछिल्लो समय ग्रामीण पर्यटनतर्फ समेत आकर्षित हुन थालेका छन् ।

पुर्खौदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयवासिन्दाको आफ्नै मौलिक कला, संस्कार र संस्कृति छन् । एकै ठाउँमा सँगै बस्न रुचाउने गुरुङ समुदायभित्र एकता पनि छ, यहाँ । सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँदेखि एउटै वडा र एउटै गाउँले परिचित भुजुङ गाउँ, लमजुङमै पर्छ ।

 यस्तै, गुरुङ जातिको उद्गमथलो घनपोखरा पनि लमजुङमा नै पर्दछ । ती गाउँठाउँबाट सुरु भएको सामुहिक एकता अहिले अन्य गुरुङ गाउँहरुमा पनि फैलिएको छ । समूह, समूह हुँदै पछिल्लो समय स्थानीयवासिन्दाले गाउँमा पर्यटन प्रवद्र्धन गर्न, गराउँन छुट्टै समिति समेत स्थापना गरेका छन् ।

अहिले लमजुङका प्रायः गुरुङ गाउँमा पर्यटन समिति भनेर छुट्टै गठन गरिएको छ । मुलुकको विषम परिस्थितिका बाबजुत पनि लमजुङमा ग्रामिण पर्यटकीय गाउँ घलेगाउँबाट ग्रामीण पर्यटनको शुरुवात भएको हाे । २०५७ सालमा पहिलोपटक महोत्सव आयोजना गर्न सफल घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटनको अवधारणा पछिल्लो समय अन्य समुदायका गाउँहरु सम्म पुगेको छ ।

घलेगाउँ, भुजुङ, पसगाउँ, सिउरुङ, खासुर, घनपोखरा, हिलेटक्सार, राईनासमोहोरियाकोट हुँदै पछिल्लो समय तार्कु पुरानकोट, गाउँशहर, इलमपोखरी, नाल्मा, छापा, मिप्रा, भुष्मे लगायतका गाउँहरुमा पुगेको हो । ती ठाउँका बासिन्दा पर्यटन समिति गठन गरेर आफ्नो गाउँमा पर्यटक डाक्न जुर्मुराएका छन् ।

विशेष गरि डा. हर्क पिक, लमजुङ, अन्नपूर्ण र मनास्लु हिमाललाई छर्लङ्ग गरी नियाल्न सकिने ठाउँ भएकाले गाउँहरुबाट मस्र्याङ्दी, खुदी, मिदिम लगायतका नदीनाला देखिन्छ । कला, संस्कार, संस्कृति र रहनसहनसँगै लमजुङका विभिन्न ठाउँका अलवा अन्य जिल्लाका भिन्दाभिन्दै ठाउँहरु देख्न सकिन्छ, लमजुङका ग्रामीण क्षेत्रबाट । त्यसैले त पर्यटक पनि यी ठाउँप्रति निकै आकर्षित छन् ।

चर्चित चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्धारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गाउँ हुन्, तर, सबै पर्यटकीय गाउँहरु गुरुङ गाउँ भने हैनन् । ग्रामीण पर्यटनको अवधारणाको शुरुवात गुरुङ गाउँबाट नै भएको हो ।

घनपोखराको नाल, दशथरमा पर्ने घलेगाउँ अहिले विश्वमै चर्चित छ, सार्क राष्ट्रकै नमुना गाउँको रुपमा प्रख्यात घलेगाउँ । जुन, समुन्द्री सतहदेखि करीब २ हजार १ सय मीटरको उचाईरमा रहेको छ । घलेगाउँमा १ सय १५ घर छन् ।

उनीहरुले पहिलोपटक २०५६ सालदेखि ग्रामीण पर्यटनको अवधारणा भित्र्याएर २०५७ सालदेखि महोत्सव मनाउन थालेका हुन् । अहिले घलेगाउँमा आन्तरिक तथा बाह्य पर्यटकको चाप छ । ग्रामीण पर्यटनबाट नै स्थानीयवासिन्दाले अहिले वार्षिक लाखौँ रुपैँया कमाउने गरेको घलेगाउँ ग्रामीण पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष प्रेम घले बताउँछन् ।

घलेगाउँमा अहिले ३२ घरमा होमस्टे रहेको छ । पर्यटन ब्यवसाय विस्तारै सफल बन्दै गएपछि केही विदेश गएका युवाहरु पनि गाउँमै फर्केर बस्न पर्यटन व्यवसायमा लागेका छन् । त्यसैगरी घनपोखराका वासिन्दा पनि पर्यटन प्रवद्र्धनमा जुटेकाछन् ।

सदरमुकाम नजिकै रहेको खासुरमा पनि २०५८ सालदेखि ग्रामीण पर्यटन प्रवद्र्धनको अवधारणा भित्रिएको हो । त्यसयता केही सेलाएको खासुर पछिल्लो समय पुनः पर्यटन प्रवद्र्धनमा जुटेको छ ।

परिचित भुजुङ, जहाँ ४ सय ५० बढी त घरधुरी गुचुमुच्च भएर रहेका छन् । समुन्द्री सतहदेखि १६ सय ५० मीटरको उचाईमा रहेको भुजुङ पर्यटकीय हिसाबले निकै अगाडी छ । अहिले २५ घरमा होमस्टे राखिएका छन् भने आधा दर्जन त होटल नै छन् ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २ बर्षअघि महोत्सवको आयोजना गरिएको थियो । तर, समयसमयमा लाग्ने मेला र पर्वले भुजुङको पर्यटन प्रवद्र्धनमा थप टेवा पुगेको छ । बर्षेनी आन्तरिक तथा बाह्यय हजारौँ पर्यटकहरु भुजुङ पुग्ने गरेका छन् ।

भुजुङमा पछिल्लो समय चियाखेति विस्तार भएपछि पर्यटकहरु झन भुजुङ जान रुचाउँछन् । भुजुङमा २०५६ सालदेखि चौविसै घण्टा विजुलीको झिलिमिली छ । त्यसो त, भुजुङबाट कास्कीका गुरुङ गाउँहरु ताङतिङ र सिक्लेस समेत जान सक्ने भएकाले पर्यटकहरु कास्कीबाट आउने र लमजुङबाट जाने गर्दछन् ।

लमजुङको सिउरुङ गाउँ, मनास्लु हिमालको काखमा छ, जहाँबाट मस्र्याङ्दी नदीको नागबेली मनमोहक तरिकाले देख्न सकिन्छ । समुन्द्री सतहदेखि १६ सय ८० मिटरको उचाइमा रहेको सिउँरुङमा आमा समूह, युवा समूह तथा स्थानीयवासिन्दा निकै सक्रिय छन् ।

पर्यटन प्रवद्र्धनका लागि सिउरुङका वासिन्दाले २०६२ सालदेखि महोत्सव मनाउँदै आएकाछन् । यसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको पर्यटन ब्यवस्थापन समिति सिउरुङका सचिव उमरबहादुर गुरुङ बताउँछन् ।

सिउरुङमा १५ घर होमस्टे रहेकाछन् । त्यस्तै, धैरै समूहमा आउने पर्यटकलाई स्थानीय आमा समूहले सामुदायिक भवनमा नै राख्ने गर्छन् । सिउरुङ नजिकैको हर्सिङडाँडा पछिल्लो समय पर्यटकका लागि गन्तब्य बनेको छ ।

ग्रामिण पर्यटकीय गाउँले प्रख्यात गाउँशहर काउलेपानी पसगाउँ, खासुर, तार्कु, बाग्लुङपानी, राईनासमोहोरियाकोट, तातोपानी कुण्ड, पुरानकोट, नाल्मा, गिलुङ, करापु, भाचोक, भुष्मे, छापा, मिप्रा लगायतका ठाउँहरु पर्यटकले रुचाउने ठाउँहरु हुन् ।

यी ठाउँहरुमा पर्यटकीय पूर्वाधारको विकास सुरु भईरहेको छ । जहाँ खानेपानी, तातो र चिसोपानीले नुहाउने ब्यवस्था, भ्यू प्वईन्ट लगायतका सुविधा छन् भने होमस्टेको पनि राम्रो व्यवस्था छ ।

विशेषगरि प्राकृतिक छटा र स्थानीयवासिन्दाको कला संस्कृति हेर्न पर्यटकहरु ती ठाउँहरु पुग्ने गर्छन् । विश्वविख्यात अन्नपूर्ण पदमार्गमा जाने विदेशी तथा स्वदेशी पर्यटकहरु यी ठाउहरुमा जाने गरेकाछन् भने यसै ठाउँलाई गन्तब्य बनाएर पर्यटकहरु आउने क्रम पनि बढेको छ । यसले गर्दा ग्रामीण पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानीयवासिन्दाको जनजीवनमा समेत सकरात्मक परिवर्तन आएको छ ।

लमजुङको पर्यटन प्रवद्र्धनका लागि लमजुङमा जिल्लास्तरमै महोत्सव समेत हुँदै आएको छ । लमजुङ जिल्लामै गरिने महोत्सवहरु ग्रामीण क्षेत्रको सिको गर्दै आयोजना गरिएका हुन् ।

होमस्टेले उकास्यो स्थानीयको जीवनस्तर

पछिल्लो समय होमस्टेले स्थानियको जीवनस्तर उकास्न समेत सहयोग पुगेको छ । घलेगाउँमै लामो समयदेखी होमस्टे सञ्चालन गर्दै आएकी दुर्गादेवी घलेले होमस्टे सञ्चालन गरेसंगै त्यसबाट हुने आम्दानीले जीवन चलाउन निकै सहज भएको अनुभव सुनाइन् । ‘होमस्टे चलाएपछि आम्दानी भएको छ, जीवनस्तर उकासिएको छ,’ उनले भनीन् । होमस्टे सुरु नहुँदा दुईचार सय पैसाको पनि समस्या हुन्थ्यो अहिले पन्ध्र हजार मासिक बचत गर्छु ।

सन् २०११ सालदेखि काउलेपानीमा होमस्टे सुरु गरेकी तिलमायाँ गुरुङको जिवन होमस्टेकै कारण फेरीएको छ । सुरुमा २ कोठाको होमस्टेबाट सुरु गरेकी तिलमायाँले अहिले बार्षिक ६ लाख आम्दानी गर्छीन् ।

सुरुमा आफु घरायसी काममा व्यस्त भएकी तिलमायाँ यतिवेला पाहुनालाई सत्कार गदैमा व्यस्त छिन् । उनले भनीन् पहिले ढाकाको पछ्यौरा बुनेर दिन बिताउने गर्थे अहिले पाहुनालाई स्वागत गदै दिन बिताउँछु ।

उनीमात्र होइन काउलेपानीमै होमस्टे सुरु गरेकी लक्ष्मी श्रेष्ठको पनि दैनिकी फरक छैन । उनी भन्छीन् होमस्टे सुरु गरेसँगै आम्दानीमा समेत वृद्धि भएको छ । सुरुमा श्रीमानको भर पर्नुपर्ने थियो अहिले ४ वटा छोरी र २ वटा छोरालाई पढाउने पैसा होमस्टे सञ्चालन गरेसँगै आफैले कमाएकी छु । उनी भन्छिन् होमस्टेबाट वार्षिक ८ लाख कमाई हुन्छ ।

तपाईको प्रतिक्रिया