विश्व बैंक गरिबलक्षित मिसनमा फर्किन आवश्यक - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विश्व बैंक गरिबलक्षित मिसनमा फर्किन आवश्यक

विश्व बैंकले चरम गरिबी हटाउनु र साझा प्रगतिलाई बढावा दिनुलाई आफ्नो मिसनको रूपमा घोषणा गरेको छ । दिगो विकास लक्ष्यहरू (एसडिजी) मा पनि यी पक्षप्रति विश्वस्तरबाट सहमति जनाइएको छ । तर, विश्व बैंक दिगो विकास लक्ष्य हासिल गर्ने रणनीति बनाउनेतर्फ कमजोर देखिएको छ । वासिङ्टनमा रहेका राजनीतिक गुरुहरूलाई खुसी बनाउन वाल स्ट्रिटतर्फ विश्व बैंक लम्किरहेको छ । बैंकका अध्यक्ष जिम योङ किमले अब सही बाटोमा हिँड्नुपर्ने हुन्छ । उनले आफैँले गरेका ठूला सफलतालाई आत्मसात् गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।

किम र मैले एड्स महामारीप्रति विश्व समुदायको ध्यानाकर्षण गराउन सन् २००० देखि २००५ सम्म सँगै काम गर्‍यौँ । स्वास्थ्य क्षेत्रमा कार्यरत साझेदार एनजिओ तथा विश्वविद्यालयले सहयोगी भूमिका निर्वाह गरे । हाइटीको ग्रामीण भेगका लगभग एक हजार एचआइभी संक्रमित रोगीको स्वास्थ्यमा सुधार गर्न उनीहरूले एन्टिरेट्रोभाइरल औषधि (एआरभी) उपलब्ध गराए । यस कार्यमा किमका सहकर्मी तथा हार्वर्ड विश्वविद्यालयका पाउल फार्मरले ठूलो मूमिका निभाए । मैले १८ वर्षपहिले नै किम र फार्मरलाई हाइटीमा उनीहरूले पाएको सफलतालाई विश्वका अन्य लाखौँ मानिससम्म पुर्‍याउन सकिन्छ भनेर सुझाब दिएको थिएँ । एड्सविरुद्ध लड्न नयाँ बहुपक्षीय आर्थिक सहायता संयन्त्र (एउटा विश्व कोष) को स्थापना र यसमा अमेरिकाको नयाँ आर्थिक सहयोगको अवश्यकता सुझाबमा उल्लेख गरेको थिएँ ।

सन् २००१ को सुरुवातमा एड्स, टिबी र मेलेरियाविरुद्ध लड्न संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानले त्यसैअनुरूपको विश्व कोषको स्थापना गरे । सोही उद्देश्यका लागि सन् २००३ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले पेप्फार कार्यक्रम ल्याए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक ग्रो हर्लेम ब्रुन्डल्यान्डले डब्लुएचओको प्रयासलाई बढावा दिनका निम्ति किमलाई नियुक्त गरे । नभन्दै किमले प्रशंसनीय काम गरे । उनको प्रयासले लाखौँ एचआइभी संक्रमित रोगी तथा परिवारसमक्ष रोगको प्रभावलाई कम गर्दै लाने एआरभी औषधि उपलब्ध हुने आधार तयार भयो ।

उनको अभूतपूर्व सफलताले चारवटा शिक्षा दिएको छ । निजी क्षेत्रसँग सहकार्य गर्नु पहिलो शिक्षा रह्यो । उनीहरूले पेटेन्ट अधिकारबाट संरक्षित औषधिलाई सस्तो मूल्यमा उत्पादन गराउन बाटो खोले । औषधि उत्पादक कम्पनीहरूले गरिब देशबाट फाइदा कमाउनुभन्दा पनि उनीहरूको प्रतिष्ठाका लागि औषधि उपलब्ध गराए । पेटेन्ट अधिकारलाई मात्र मुद्दा बनाएर अघि बढ्नु भनेको लाखौ“ गरिब मानिसलाई मृत्युको मुखमा धकेल्नु हो भन्ने कुरा उनीहरूले बुझे ।

उक्त प्रयासलाई बिल गेट्सजस्ता धनाढ्य तथा परोपकारी भावना भएका व्यक्तिले सहयोग गर्नुलाई दोस्रो शिक्षाको रूपमा लिन सकिन्छ । उनको कदमले अन्य व्यक्ति तथा संस्थालाई यस्तो परोपकारी कार्यमा लाग्न प्रेरित गर्‍यो । द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोफी अन्नानले स्थापना गरेको विश्व कोष र ‘कमिसन अन म्याक्रोइकोनोमिक्स एन्ड हेल्थ’लाई सहयोग गर्‍यो । सन् २००१ मा डब्लुएचओलाई सहयोग गर्ने उद्देश्यका साथ कमिसन अन म्याक्रोइकोनोमिक्स एन्ड हेल्थको नेतृत्व मैले गरेको थिएँ । यो संस्था एचआइभी तथा अन्य प्राणघातक रोगविरुद्ध लड्ने कार्यमा दाताबाट आर्थिक सहयोग जुटाउने अभियानमा सफल भयो ।

तेस्रो शिक्षा, एड्ससँग लड्न उठाइएको सम्पूर्ण कोष अनुदानबाटै चल्यो । यसरी ऋण खोज्न वाल स्ट्रिटको ढोका घचघच्याउनु परेन । गरिब देशका लागि एड्सविरुद्धको लडाइँ लड्नुलाई आम्दानी भित्राउने लगानीको रूपमा हेरिएको थिएन । गरिब र मृत्युबाट जीवन गुमाउन लागेका मानिसको जीवनरक्षाका लागि उच्च अर्थिक आम्दानी हुने देश र परोपकारी मानिसले आर्थिक सहायता प्रदान गर्नुपर्छ भन्ने भावनाको विकास भएको थियो ।

चौथो शिक्षा, दक्ष सार्वजनिक स्वास्थ्य विशेषज्ञहरू मात्र सो कार्यमा सरिक भए । किम र फार्मर व्यावसायिकता तथा सदाचारको नमुना भएर प्रस्तुत भए । विश्व कोषले भ्रष्ट मन्त्रीहरूको खल्ती भर्ने काम गर्दैन । न त यो तेल तथा हरियार सम्झौताका लागि नै खर्च हुन्छ । सार्वजनिक स्वास्थ्यका लागि नियमसंगत रूपमा विश्व कोषको खर्च गरिन्छ । सहयोग प्राप्त गर्ने देशलाई त्यसप्रति जवाफदेही बनाइन्छ । सहयोग उपलब्ध भएपछि पारदर्शिताको पक्षलाई पनि त्यत्तिकै ध्यान दिइएको हुन्छ ।

किमको दायित्व
यसरी हेर्दा विश्व बैंक अब आफ्नो पुरानो मिसनमा फर्किन आवश्यक छ । दिगो विकास लक्ष्यलाई आधार मान्दा सन् २०३० सम्म चरम गरिबी तथा भोकमरीको उन्मूलन, आधारभूत स्वास्थ्य सेवाको संस्थागत विकास, आधारभूत उच्च माध्यमिक शिक्षाको प्रत्याभूति गराइसक्नुपर्ने हुन्छ । तर, विश्व बैंकले यी लक्ष्यप्रति सुस्त प्रगति गरिरहेको सन्दर्भबाट सन् २०३० सम्म लक्ष्य प्राप्तिका लागि सहयोगी भूमिका खेलेको देखिँदैन । उसले कुनै रणनीति बनाएको वा सोतर्फ उन्मुख भएको पनि देखिन्न । दिगो विकासका लक्ष्यप्रति विश्व बैंक मौन देखिन्छ । यसका अधिकारीले शक्ति राष्ट्रसमक्ष यस्ता लक्ष्यबारे नकारात्मक टिप्पणी दिएको कुरा पनि सुन्नमा आएको छ ।

यसैगरी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दिगो विकास लक्ष्यप्रति आफ्नो जिम्वेवारी महसुस गरेको देखिँदैन । अमेरिकी राष्ट्रपति र कंग्रेसलाई उनीहरूको दायित्वबारे सम्झाउने काम किमको हो । किनभने उनकै प्रयासमा रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुसले एड्सविरुद्धको लडाइँ रचनात्मक र सफलतापूर्वक लडे । अमेरिकाले ठूलो स्तरका नवीकरणीय ऊर्जासम्बन्धी प्रोजेक्ट, सार्वजनिक यातायात, लोकमार्ग र अन्य पूर्वाधारका लागि आवश्यक आर्थिक संरचना विकासमा सहयोग गर्न सक्छ । विश्व बैंक र वाल स्ट्रिटको सहकार्यले प्रभावित समुदायको वातावरणप्रति त्यस्ता प्रोजेक्ट उपयुक्त तथा न्यायोचित छन्–छैनन् भन्ने सुनिश्चित गर्न सहयोगी भूमिका निर्वाह गर्न सक्छ । यस्तो कदम सर्वहितका लागि हुनेछ ।

तर, यस्ता प्रोजेक्ट नाफा कमाउने वा लगानी उठाउने उद्देश्यका साथ डिजाइन गरिएको खण्डमा चरम गरिबी उन्मूलन गर्ने लक्ष्यका लागि समेत पर्याप्त हुनेछैन । स्वास्थ्य र शिक्षाजस्ता आधारभूत अवश्यकता पूर्तिका लागि गरिब मुलुकलाई ऋण होइन, अनुदानको खाँचो छ । एड्सविरुद्धको लडाइँमा सफलता हासिल गरेका किमले आफ्नो अनुभवलाई अहिलेको सन्दर्भमा पनि आत्मसात् गर्न जरुरी छ । यसर्थ गरिब देशलाई ऋणमा डुबाउने कदम चाल्ने काम किमले गर्नुहुँदैन । दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि आवश्क आर्थिक अनुदान परिचालन गर्न विश्व बैंकले आवाज उठाउनु आवश्यक छ ।

गरिबलक्षित स्वास्थ सेवाका लागि सामुदायिक स्वास्थ्यकर्मी, उपचारपद्धति, औषधि र सूचना प्रणालीलाई व्यवस्थित प्रशिक्षण तथा परिचालन गर्नुपर्ने टड्कारो आवश्यकता छ । गरिबलक्षित शिक्षाका लागि दक्ष शिक्षक–शिक्षिका, सफा तथा आधुनिक कक्षाकोठा र विद्यालय–विद्यालयबीच तथा अनलाइन पाठ्यसामग्रीका लागि कनेक्टिभिटीको व्यवस्था हुनुपर्छ । समष्टिगत रणनीति, आर्थिक अनुदान र स्पष्ट वितरण प्रणालीको सुनिश्चितता गरिएको खण्डमा मात्र दिगो विकासका यी लक्ष्य प्राप्त गर्न सकिन्छ । लक्ष्य प्राप्तिका लागि विश्व बैंकले दाता र सहयोग पाउने सरकारलाई सहयोग गर्न आफ्नो विज्ञताको परिचालन गर्नुपर्ने हुन्छ । किमले आफ्नो अनुभवबाटै यी कार्य गर्न सक्छन् ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि ट्रम्प र अन्य विश्व नेताहरू व्यक्तिगत रूपमा जिम्मेवार छन् । उनीहरूले अझ धेरै गर्न बाँकी छ । त्यसैगरी विश्वका धनाढ्य व्यक्तिको हकमा पनि यो कुरा लागू हुन्छ । धनाढ्यहरूले एकपछि अर्को कर छुट तथा विशेष कर छुट पाइरहेका छन् । साथै केन्द्रीय बैंकबाट उनीहरूले सस्तो ऋण पनि पाउँछन् । अर्कोतर्फ प्रविधिको प्रयोगबाट उनीहरूले अत्यधिक लाभ लिइरहेका छन् । तर, अदक्ष कामदारको पारिश्रमिकमा उनीहरूले व्यापक कटौती गरिरहेका छन् । वर्तमान अवस्थामा विश्वका दुई हजार अर्बपतिहरूसँग १० खर्ब अमेरिकी डलरबराबरको सम्पत्ति छ । चरम गरिबी उन्मूलन गर्न आवश्यक आर्थिक सहयोगका लागि यस्ता धनाढ्यले महत्वपूर्र्ण भूमिका खेल्न सक्छन् । यसनिम्ति सरकारहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ ।

वाल स्ट्रिट जाँ होस् या डाभोस या त कुनै पनि सम्पन्न सहर जाँदा होस्, धनाढ्यहरूलाई दिगो विकास लक्ष्य भेट्टाउने अभियानमा सरिक गराउन विश्व बैंकले प्रेरित गर्नु पर्दछ । उनीहरूको सम्पत्तिलाई परोपकारी कार्यमा खर्च गराउन रचनात्मक भूमिका खेल्नुपर्ने हुन्छ । सार्वजनिक स्वास्थ्यका लागि बिल गेट्सले ऐतिहासिक काम गरेका छन् । शिक्षा, नवीकरणीय ऊर्जा, सुरक्षित पानी, सरसफाइ तथा दिगो कृषिका लागि सहकार्य गर्न को–को अर्बपति तयार छन् भन्नेबारे गृहकार्य गर्नुपर्छ । विश्व बैंकले आफ्नो ऐतिहासिक तथा मुख्य मिसन पूरा गर्न दिगो विकासको स्पष्ट योजना लिएर सहकार्यका लागि साझेदारहरूको खोजी गर्नुपर्ने हुन्छ ।

(जेफ्री डी साच्स कोलम्बिया विश्वविद्यालयका दिगो विकास र स्वास्थ्य नीति तथा व्यवस्थापन विषयका प्राध्यापक हुन् । उनी कोलम्बियाको दिगो विकास केन्द्र र संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान सञ्जालका निर्देशकको रूपमा कार्यरत छन् ।)

कपिराइटः प्रोजेक्ट सिन्डिकेट, २०१८
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)

तपाईको प्रतिक्रिया