प्रदेश २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु नियुक्त - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु नियुक्त

 प्रदेश २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् । बुधबार बिहान साढे ११ बजे प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका हुन्। राउतले बिहीबार बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् । लगत्तै उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै राउतले शहीदहरुको सपना पूरा गर्न आफू लागि पर्ने र प्रदेशको विकाशको लागि विपक्षीहरुको समेत साथ र सहयोग लिएर अघि बढ्ने बताए ।

राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन्, जुन बहुमत हो ।

को को छन् आकांक्षी ?
प्रदेश २ मा मन्त्री बन्नेको नामबारे चर्चा सुरु भएको छ । प्रदेशमा सरकार बनाउन फोरम र राजपाबीच औपचारिक सहमति भइसकेको छ । सरकार बनाउन दुवै पार्टीबीच मन्त्रालय बाँडफाँडसहित सहमति भएलगत्तै दुवै पार्टीमा मन्त्रीका आकांक्षीहरूले लबिङ थालेका छन् ।

फोरमभित्र सातजनाको नाम मन्त्री बन्ने चर्चामा छ । चर्चामा रहेका सबैजना प्रत्यक्ष निर्वाचित सांसद छन् । फोरमभित्र विजय यादव, शैलेन्द्रप्रसाद साह, सरोजसिंह कुशवाहा, रामअशिष यादव, कौशल यादव, ज्ञानेन्द्रकुमार यादव, योगेन्द्र यादवको नाम चर्चामा छ । जसमध्ये फोरमका कोषाध्यक्षसमेत रहेका विजय यादव मन्त्री बन्ने लगभग पक्काजस्तै छ । स्रोतका अनुसार उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया