चमेलियाले ३० मेगावाटको क्यास्केड आयोजना बनाउने - Naya Patrika
eNaya Patrika
  • ePaper

चमेलियाले ३० मेगावाटको क्यास्केड आयोजना बनाउने

सुदूरपश्चिमको पहिलो सरकारी जलविद्युत् आयोजना चमेलियाले थप ३० मेगावाटको ‘क्यास्केड’ आयोजना निर्माण गर्ने भएको छ । चमेलियाको विद्युत्गृहको पानी निष्कासन हुने स्थान ‘टेलरेस’देखि ३ किलोमिटर तल रहेको कर्कले भन्ने स्थानमा ३० मेगावाटकै अर्को आयोजना निर्माणका लागि पहल थालिएको चमेलिया जलविद्युत् आयोजनाका प्रमुख अजय दाहालले बताए । क्यास्केड आयोजनाको अध्ययन हाल विद्युत् विकास विभागले गरिरहेको छ ।

चमेलिया निर्माण गर्दा प्रयोग भएकै भौतिक पूर्वाधारको प्रयोग गरी आयोजनाले थप विद्युत् उत्पादन गर्न पहल गरेको हो । क्यास्केड आयोजना निर्माण गर्दा चमेलियाले निर्माण गरेको हेडबक्स, बालुवा छान्ने डिस्यान्डर, ड्यामलगायत भौतिक पूर्वाधारले नै काम गर्ने भएकाले चमेलियाको सुरुवाती लागत अनुमानभन्दा करिब ४० प्रतिशत सस्तो पर्ने उनको भनाइ छ । अब आयोजना निर्माण गर्न विद्युत्गृह र पेनस्टक पाइप मात्र राखे पुग्छ । ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना निर्माण सम्पन्न हुँदासम्म करिब १५ अर्ब लाग्ने अनुमान गरिएको छ । चमेलियाबाट वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन हुनेछ ।

विद्युत् विकास विभाग र विद्युत् प्राधिकरण ऊर्जा मन्त्रालयको मातहत नै रहने हुँदा आयोजनाको विकास तथा अन्तरसंस्था समन्वय गर्न सहज हुने ऊर्जासचिव अनुपकुमार उपाध्यायले बताए । ‘विद्युत् विकास विभागले अध्ययन गरिरहेको छ, चमेलियाले आयोजना निर्माणका लागि प्रस्ताव ल्याए त्यसमा सहयोग गर्न सकिन्छ,’ उपाध्यायले भने, ‘क्यास्केड आयोजनाले चमेलियामा लागेको खर्चसमेत केही न्यूनीकरण गरेर चाँडो फाइदामा पुग्न सक्छ ।’ सचिव उपाध्यायले क्यास्केड आयोजनालाई कम्पनी मोडेलमा विकास गरेर स्थानीय जनतालाई सेयर दिने किसिमले निर्माण गर्न सकिने बताए ।

क्यास्केड आयोजना निर्माण गर्दा प्रतिमेगावाट १० देखि १२ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको दाहालले बताए । विद्युत् विकास विभागले आयोजनाको अध्ययन सकेसँगै मन्त्रालयमा निर्माणको प्रस्ताव लैजाने उनले जानकारी दिए ।

यसअघि चमेलियामा ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत सुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको थियो । निर्माण सुरु भएसँगै बीचमा सुरुङको साइज खुम्चिएको र त्यसपछि संसद्को सार्वजनिक लेखा समितिले काम रोक्न आदेश दिएपछि आयोजना निर्माण सम्पन्न गर्न लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको थियो । पहिलो आयोजनाको खर्च व्यवस्थापन र वित्तीय लागत कम गर्नका लागि यो आयोजना विकास गर्न खोजिरहेको दाहालले बताए ।

क्यास्केड आयोजनाले प्रसारण लाइन पनि निर्माण गर्नुनपर्ने भएका कारण पनि निकै सस्तो हुनेछ । चमेलिया आयोजनाले दार्चुलाको बलाँचबाट कैलालीको अत्तरियासम्म १ सय ३१ किलोमिटर लम्बाइको प्रसारण निर्माण यसअघि नै गरिसकेको छ । चमेलियालाई प्रसारणलाइनको निर्माण गर्न मात्र करिब ६ अर्ब रुपैयाँ लागेको थियो ।

तपाईको प्रतिक्रिया