सन्तानको आशमा सन्तानेश्वर मन्दिरमा एक हजारले बाले ठाडो बत्ती - Naya Patrika
eNaya Patrika
  • ePaper

सन्तानको आशमा सन्तानेश्वर मन्दिरमा एक हजारले बाले ठाडो बत्ती

पश्चिम लमजुङको करापुटारस्थित इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा शिवरात्रिका दिन दिनभर दूध चढाउने र रात भर ठाडोबत्ती बाल्नेहरुको भिड लाग्यो । हजारौँ भक्तजनले दूध चढाए भने ठाडो बत्ती बाले ।

अघिल्लो दिनबाट निराहार ब्रत बसी शिवरात्रिको दिन रातभर उठेर बत्ती बाल्दा मनले चिताएको पुग्ने र सन्तान प्राप्ति गर्ने विश्वास छ । बेलुकी ६ बजेबाट बिहान ६ बजेसम्म उठेर बत्ति बाल्नुपर्छ ।

लमजुङको मध्यनेपाल नगरपालिका –७ मा रहेको करापुटार इशानेश्वर महादेव मन्दिर शिवरात्रिको दिन काठमाडौंको पशुपतिनाथपछि धेरै भक्तजनको घुइँचो लाग्ने पवित्र तीर्थस्थलको रूपमा परिचित छ ।

इशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्री घिमिरेका अनुसार यसवर्ष १ हजार बढीले ठाडो बत्ती बाले भने ३० हजार बढीले बसेर बत्ती बाले ।

उनले भने, ‘ठाडो बत्ती बाल्ने र शिवरात्रिमा महादवेको दर्शन गर्न आउने भक्तजनको संख्या वर्षेनी बढ्दो छ । गएको वर्ष ८ सय जनाले ठाडो बत्ती बालेका थिए । यस वर्ष हजारभन्दा बढीले बाले ।’

अध्यक्ष घिमिरेका अनुसार शिवरात्रिका दिन इशानेश्वर महादेव मन्दिरमा ठाडो बत्ती बाल्दा सन्तान प्राप्ति हुने, पुत्र लाभ हुने र पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

स्वस्थानी ब्रतकथामा पनि हालको इशानेश्वर महादेव मन्दिरमा सतिदेवीको दाँया तिघ्रा पतन भएको वर्णन गरिएको छ ।

त्यस पूण्यभूमिमा ताराकेश्वर महादेव उत्पन्न भई इशानकोणमा अवस्थित रहेकाले सो तारकेश्वर महादेवलाई इशानेश्वरस्वरूप भनी इशानेश्वर महादेव नामाकरण गरिएको भनाइ छ ।

कोषका अध्यक्ष घिमिरेले आजकै दिन सामूहिक ब्रतबन्ध, रुद्रीलगायतका विभिन्न कार्यक्रम भएको जानकारी दिए ।

उनका अनुसार मेलामा स्थानीय उत्पादनको व्यापार पनि भएको छ । मेलाको अवसर पारेर भलिवल प्रतियोगितालगायत विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रूपमा पनि पुज्ने चलन छ । महाशिवरात्रिको अवसर पारी सन्तान नभएका हजारौँ दम्पतीहरु मन्दिर परिसरमा रातभर जाग्राम रही ठाडो बत्ती बाल्न टाढाटाढाबाट समेत आउने गरेको महादेव क्षेत्र विकास समितिका सदस्य शंकरराज घिमिरेले बताए ।

उनले सन्तान प्राप्तिको आशामा बत्ती बाल्न काठमाडौं, पोखरा, चितवन, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, नवलपरासीलगायतका जिल्लाबाट हजारौँ संख्यामा भक्तजन आएका थिए ।

‘करापुटार महादेव मन्दिरमा शिवरात्रिका दिन वर्षेनी महाशिवरात्रि मेला लाग्छ,’ घिमिरेले भने, ‘मेलामा देशका विभिन्न जिल्ला र भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजनहरू आएका थिए ।’

शिवरात्रिका दिन निराहार जाग्राम बसी महिलाले आफ्नो श्रीमान्को उचाइबराबरको काँचो धागोको बत्ती बनाएर महादेव मन्दिरमा उभिएर बाल्दा सन्तान लाभ हुने धार्मिक विश्वास छ ।

मन्दिरवरपर मदिरा र मासुजन्य परिकार बेचबिखनमा पूर्ण रूपमा रोक लगाइएको मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताए । उनका अनुसार सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।

सन्तान माग्दै महिलाको घुइँचाे
इशानेश्वर महादेवको वरदानले सन्तान प्राप्ति भएको भन्दै मन्दिरमा आई महादेवलाई सन्तान देखाउनेहरू पनि थुप्रै भेटिन्छन् । तीमध्येकी एक हुन् काठमाडौँकी टिङ्कु चापागाइँ ।

उनका अनुसार बिहे भएको १० वर्षसम्म सन्तान नभएपछि गत वर्ष शिवरात्रिको दिन इशानेश्वर महादेव मन्दिरमा आई ठाडो बत्ती बालेकी थिइन् । बत्ती बालेर गएपछि छोरीको जन्म भएको टिङ्कुले बताइन् ।

यसवर्ष टिङ्कु आमा र एक वर्षे छोरी शिवानीलाई लिएर महादेवको दर्शन गर्न इशानेश्वर आइपुगेकी थिइन् ।

बाग्लुङकी कल्पना आचार्यको भनाइ पनि त्यस्तै छ । बिहे भएको ८ वर्षसम्म सन्तान नभएपछि तीन वर्षअघि यहाँ ठाडो बत्ती बालेकी आचार्यले पाँच महिनामै छोरो जन्माएको बताइन् ।

यसवर्ष छोरा शिवसँगै उनी मन्दिर आएकी थिइन् । सन्तान प्राप्तिको आशा र मनोकांक्षा पूरा हुने भएकाले ठाडो बत्ती बाल्न आएको लमजुङ करापुटार आएकी काठमाडौँकी शर्मिला पाण्डेले बताइन् ।

तपाईको प्रतिक्रिया