विदाको दिन कर्मचारीका परिवार र आफन्त ओसार्दै सरकारी गाडी - Naya Patrika
eNaya Patrika
  • ePaper

विदाको दिन कर्मचारीका परिवार र आफन्त ओसार्दै सरकारी गाडी

रौतहट जिल्लामा पछिल्लो समय सरकारी सवारी साधानको व्यापक रुपमा दुरुपयोग हुँदै आएको छ । मंगलबार सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिएको थियो । विदाको दिनको दिनभरी जसो सरकारी कर्मचारीका परिवार तथा आफन्त बोक्दै सरकारी गाडी गुडिरहेका थिए ।

बागमती सिंचाई आयोजना कर्मैया सर्लाहीको ना १ झ ४७० नम्बरको गाडीमा सो कार्यलयका कर्मचारीका आमा र श्रीमतीले शिब मन्दिरमा पुजा आजा गर्नका लागि दुरुपयोग गरेका थियो ।

बागमती सिंचाई आयोजनाका कर्मचारी नभएर महिला मात्र गाडीमा लिएर रौतहटको नुनथर पुगेका गाडीका चालकलाई नयाँ पत्रिकाकर्मीले आज बिदाको दिन कस्लाई लिएर आउनु भो भनेर सोध्दा उनले ढुण्डी खतिवडा सरको परिवार र आमलाई मन्दिर लिएर आएको बताए । बिदाको दिन हाकिमहरुले भनेपछि गाडी चलाउनै प¥यो नाम बताउन नहाने चालकले जवाफ दिए ।

खतिवडा बागमती सिँचाई आयोजनाको स्टोर किपर भएको समाचारस्रोतको भनाई रहेको छ । स्टोर किपरले यसरी सरकारी सवारी साधान निर्वाद रुपमा बिदाको दिनमा दुरुपयोग गर्दछन् भने अन्य कर्मचारीले के गर्लान तपाई आफै अनुमान लगाउनुस ,नुनथर क्षेत्रमा भेटिएका चन्द्रनिगाहपुरका समाजसेवी केदार थापाले प्रतिप्रश्न गरे ।

बागमती सिंचाई आयोजनाको गाडी त प्रतिनिधि मात्र हो रौतहटमा सरकारी सवारी साधान चढेर मदिरा सेवन गर्न जाने सरकारी कर्मचारीको संख्या बढदै जान थालेको हो ।

रौतहट र सर्लाही जिल्लाका सरकारी कार्यालयका सरकारी गाडी लिएर सरकारी कर्मचारीहरु हरेक शनिबार बिदा मनाउन नुनथरनै पुग्ने गरेका छन् । नियमनकारी निकायले सरकारी गाडी दुरुपयोगलाई नियन्त्रण गर्न नसक्दा रौतहट जिल्लाका अधिकास स्थानीय तहमा कार्यरत रहेका सरकारी कर्मचारीले स्थानीय तहको नाममा रहेका सरकारी गाडी तथा मोटर साईकल लिएरै मदिरा सेवन गर्न भट्टीमा जाने गरेको कुरा यस भन्दा पहिलानै सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया