सेना दिवसमा सन्देश, काठमाडौं–तराई द्रुतमार्ग समयमै : प्रधानसेनापति - Naya Patrika
eNaya Patrika
  • ePaper

सेना दिवसमा सन्देश, काठमाडौं–तराई द्रुतमार्ग समयमै : प्रधानसेनापति

प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माण परियोजना समयमै सम्पन्न हुने बताएका छन् । ‘सेना दिवस २०७४’ को अवसरमा बोल्दै उनले लक्षित समयसीमाभित्र तोकिएको मापदण्डमा कुनै सम्झौता नगरी निर्माण सम्पन्न गर्ने बताए ।

‘राष्ट्रिय गौरवको यो निर्माण परियोजना नेपाली सेनाले मागेको होइन, न त खोजेको नै हो,’ प्रधानसेनापतिले भनेका छन्, ‘यो नेपाली सेनाप्रति नेपाल सरकार र नेपाली जनताले दर्साएको भरोसा र विश्वासको प्रतिफल भएकोले यस्ता कार्यहरू सु–सम्पन्न गर्न रक्षा मन्त्रालयलगायत अन्य सरोकारवाला निकायबाट उचित सहयोग तथा सद्भाव रही आएको छ ।’

प्रधानसेनापतिले चेन अफ कमान्ड उल्लंघन नगर्न सैनिकलाई निर्देशनसमेत दिएका छन् । प्रधानसेनापतिले नेपाली सेनाको संरचनालाई समयसापेक्ष तुल्याउन परिमार्जित ढाँचा र पुनर्सन्तुलनका योजना कार्यान्वयनको चरणमा लगेको पनि बताएका छन् । उनले देशको संघीय संरचनाअनुसार फौजको तैनाथी व्यवस्थित गर्न थप दुई पृतना तथा दुई बाहिनी स्थापना भई तैनाथ भइसकेका समेत जानकारी गराएका छन् ।

प्रधानसेनापतिले हतियार खरिद तथा आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाइने बताएका छन् । त्यसैले स्वदेशमै हतियार उत्पादन गर्दै जाने लक्ष्य लिइएको उनले बताएका छन् । ‘सैनिक सामग्रीमाथिको परनिर्भरतालाई हटाई स्वदेशमै उत्पादन गर्दै जाने लक्ष्यअनुरूप समयसापेक्ष पहिरन सामग्री शाखा र सुन्दरीजल आर्सनल कार्यालयलाई आधुनिकीकरण गर्दै लगिएको छ,’ उनले भनेका छन् ।

उनले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यमा नेपाली सेनाको संख्या क्रमशः बढाउँदै लैजाने लक्ष्यअनुरूप शान्ति स्थापना कार्यमा कुल दरबन्दीको १० प्रतिशतसम्म शान्ति सैनिक पठाउन नेपाल सरकारबाट स्वीकृति प्राप्त भएको बताएका छन् । यही सिलसिलामा दक्षिण सुडानमा सेना तैनाथ भएको, सिरियामा मेकानाइज्ड कम्पनी र लिवियामा स्पेसल फोर्सको कम्पनी पठाएको उनले जानकारी दिएका छन् ।

भारतीय सेनाध्यक्ष काठमाडौंमा
भारतीय सेनाका सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी विपिन रावत काठमाडौं आइपुगेका छन् । नेपाल एकीकरणको २५०औँ वर्षगाँठ मनाउने क्रममा मंगलबार सेनाले आयोजना गर्ने ‘सेनादिवस २०७४’ मा उनी विशेष अतिथि रहनेछन् । रावतले मुस्ताङ र पोखराको भ्रमण गर्ने कार्यक्रम छ । उनी बुधबार भारत फर्कनेछन् । सेनाध्यक्ष रावतलाई १६ चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दज्र्यानी लगाइदिएकी थिइन् । प्रधानसेनापति क्षत्रीको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

क्षत्रीकै निमन्त्रणामा २४ माघमा आएका बेलायती सेनाध्यक्ष निकोलस प्याट्रिक ६ दिने भ्रमण सकेर सोमबार फर्केका छन् । उनलाई सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापाले बिदाइ गरे । भ्रमणका क्रममा उनी पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजना भएको गोर्खा भर्तीसम्बन्धी कार्यक्रममा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु