गंगासागरमा मोदी र पौडेलको प्रभाव - Naya Patrika
eNaya Patrika
  • ePaper

गंगासागरमा मोदी र पौडेलको प्रभाव

करिब तीन दशक पत्रकारिता गरेका जनकपुरका रामआशिष यादव सेभ द हिस्टोरिकल जनकपुरका अध्यक्ष हुन् । अहिले यादवको परिचय थपिएको छ । धनुषा क्षेत्र नं. २ (ख)बाट प्रदेश सभामा निर्वाचित भएका छन् । जनकपुरमा यादव सांसद बन्नुअघि नै चर्चामा थिए । कारण, गंगासागर सफाइ । ०७१ देखि उनको नेतृत्वमा सुरु भएको गंगासागर सफाइ अभियान धनुषामा मात्रै नभएर भारतको बिहारसम्म नमुनाका रूपमा चर्चामा छ । जनकपुरको सबैभन्दा पुरानो गंगासागर पोखरी सफाइ र दैनिक गंगा जानकी आरती सुरु गरेपछि उनी स्थानीय स्तरमा सरसफाइ र संरक्षण अभियन्ताका रूपमा चिनिन्छन् । फोहोरको डंगुरमा परिणत भइरहेका जनकपुरका ऐतिहासिक र सांस्कृतिक विरासत बोकेका पोखरी सफाइमा मन कसरी गयो ? एक रुपैयाँ पनि आर्थिक संकलन नगरी उनले गंगासागर सफाइ अभियान कसरी सफल पारे ? नयाँ पत्रिकाका पर्शुराम काफ्ले र हदिश खुद्दारसँग यादवले गंगासागर सफाइबारे बेलिविस्तार लगाए :


रामआशिष यादव
गंगासागर सफाइ अभियन्ता

 

मैथिलीमा एउटा कविता छ :
५२ कुटी ७२ कुण्ड
चल्ते हि सन्त झुण्ड हि झुण्ड
अर्थात्, जनकपुरको रिंगरोडभित्र ७२ वटा ऐतिहासिक कुण्ड (पोखरी) र ५२ मन्दिर छन् । तीमध्ये सबैभन्दा जेठो गंगासागर हो । जनकपुरको अन्तरगृह परिक्रममाअन्तर्गत गंगासागर, धनुषसागर, अंगराजसर, रुक्मिणि पोखरी, जानकीसागरलगायत ७२ पोखरी छन् । त्यसैले त जनकपुरलाई कुण्डको सहर भनिन्छ ।

गंगासागर त्रेतायुगकालीन पोखरी हो । मर्यादा पुरुषोत्तम भगवान् राम र आदर्श नारी भगवती सीताबीच विवाह भएको समयदेखि पोखरी आजपर्यन्त छ । स्वयम् गंगामाता जनकपुर आएको एउटा किंवदन्तीमा आधारित छ, यो सागर । गंगासागरमा स्नान गरेपछि रामेश्वरम् र गंगा नदीमा स्नान गरेजत्तिकै महत्व मानिन्छ । गंगा सागरभित्र पानी होइन, गंगाजल छ । यहाँको हरेक पूजा अनुष्ठानमा गंगाजल अनिवार्य छ ।

०००
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सांसद भएका वेला (प्रधानमन्त्री नबन्दै) वनारसमा गंगा नदी सफाइ थाल्नुभयो । लीलामणि पौडेलजीले मुख्यसचिव हुँदा बाग्मती नदी सफाइ थाल्नुभयो । मोदीजी र पौडेलजीबाट प्रभावित भएर हामीले यहाँका पोखरीहरू सफाइको सपना देख्यौँ । जलको सफाइ सुरु गर्दा यसले पृथ्वी, तेज, वायु, आकाशका लागि योगदान पुग्छ, आममनुष्यको हित हुन्छ भन्ने त छँदै छ । आधारभूत रूपमा जनकपुरको सांस्कृतिक मूल्य बचाउनु पनि आवश्यक थियो । किनभने जनकपुरका पोखरी र तलाउ फोहोरको डंगुरमा परिणत हुँदै गएका थिए ।

पत्रकार महासंघ धनुषाको अध्यक्षको कार्यकाल समाप्त भएपछि म केही सामाजिक काम गरौँ भन्नेमा थिएँ, तर यही गर्छु भन्ने दिमागमा थिएन । सम्भावना धेरै थिए । एक दिन बिहान हिँड्दै जाँदा गंगासागर पुगेँ । साथमा उद्योगपति विजय झुनझुनवाला, मित्रहरू विजय दत्त, राजकुमार महासेठ, अमरचन्द्र अनिल, राजेशकुमार कर्ण हुनुहुन्थ्यो । साथीहरूसँग सल्लाह भएपछि सफाइको योजना बुन्यौँ । ११ फागुन ०७० बाट गंगासागर सफाइ प्रारम्भ भयो ।

त्यतिवेला गंगासागरको अवस्था डम्पिङ साइटजस्तो थियो । वर्षको एकपटक छठमा मात्रै सफाइ हुने, अरू वेला खुला शौचालयजस्तो । बडो विडम्बनापूर्ण लाग्यो । धनुषाको जलाद नदीमा धर्मवाण थियो । केही वर्षअघिसम्म त्यहाँको पानी जनकपुरको बीचबाट गंगासागरमा राख्ने र पानी बाहिर निकाल्ने सिस्टम थियो । यो सिस्टम बिग्रिएपछि पानीको निकासी भएन । पहिला नदीको पानी नालाबाट हालिन्थ्यो र गंगासागरको फोहोर पानी बाहिर निकालिन्थ्यो । पछि, मूर्ति विसर्जन, पूजासामग्री विसर्जन गरिन थाल्यो । फोहोर थुप्रिँदै गएपछि मानिसहरूले खुला रूपमा त्यहीँ दिसापिसाब गर्न लागे । पवित्र पोखरी फोहोरमा परिणत भयो ।

०००
कोसिस गरौँ न त, जे होला भन्ने लाग्यो, सुरुमा । पत्रकारिता जीवनमा बचाएको ऊर्जा सम्पूर्ण रूपमा खर्च गर्ने अठोट लिएँ । सुरुमा धेरै थिएनौँ, सबैलाई जोड्ने योजनामा लागेँ । सबैभन्दा पहिले प्रहरी मिसियो । तत्कालीन एसएसपी शिव लामिछानेलाई आग्रह गरेँ । उहाँले प्रहरी पठाउन थाल्नुभयो । नेपाली सेनाका कर्नेल डिजन पियाले पनि साप्ताहिक रूपमा सैनिक खटाइदिनुभयो । सेना, सशस्त्र, जनपथ प्रहरी खटिए । हामी सबै खटियौँ । फोहोर पोखरी सफाइमा राज्यका सबै अंग र सर्वसाधारण एकैसाथ परिचालन भएको सायदै यो नमुना ठाउँ होला । सर्वसाधारणदेखि सबैको सहयोग भयो ।

०००
सुरु गरेको एक महिनापछि मात्रै सफल हुन सकिन्छ भन्नेमा म पुगेँ । जनकपुरमा सहयोगी हात जोडिन थाले । यो विनापैसाको अभियान थियो । हामीले पैसा संकलन गरेनौँ । गुगलमा मैले पोन्ड इक्विपमेन्ट सर्च गरेँ । त्यहीअनुसार बिल्डरले पोखरी सफा गर्ने उपकरण बनाएर ल्याए । हामीले केही पनि किनेनौँ, बरु जुटायौँ । त्यही बीचमा जिल्ला वन कार्यालयका अधिकृत सुरेश शर्मा हाम्रो अभियानमा आउनुभयो । चारैतिर वृक्षरोपण पनि सुरु भयो ।

मेरो आग्रहमा तीन महिनापछि स्थानीय र राष्ट्रिय मिडियामा गंगासागर सफाइ अभियानको समाचार आयो । त्यसपछि त गाउँगाउँबाट युवा आउन थाले । मानिसको चासो बढ्यो । कनकपट्टी, लोहरपट्टीदेखि महुवाका युवा आउन थाले । स्कुलका विद्यार्थी थपिए । सुरक्षाकर्मीदेखि पत्रकारसम्म सबैजना गंगासागर सफाइ अभियानका रूपमा अघि बढ्यो । तर, हामीले कहीँ गएर एक रुपैयाँ पनि संकलन गरेनौँ । यो सबैभन्दा सुन्दर पक्ष थियो ।

सफाइको अभियान चलिरहँदा काठमाडौंले खासै चासो राखेन । मुख्यसचिव लीलामणि पौडेल आउनुभयो, सरसफाइको प्रशंसा गर्नुभयो । पोखरी सफाइमा एक दिन सहभागी हुनुभयो । तर, सरकारबाट केही सहयोग भएन । एक वर्षमा पोखरी पूरै सफाइ भयो ।

०००
पोखरी सफाइपछि सोचेँ, हरिद्वार र वनारसमा किन आरती सुरु भयो ? पक्कै पनि जल संरक्षणका लागि हो । सरसफाइका लागि पनि हो । त्यसपछि गंगा आरती सुरु गर्ने सोच बनाएँ । धेरै साथीले आर्थिक कारणले सकिँदैन, नगरौँ भन्ने सल्लाह दिए । तर, म पछि हटिनँ ।

वनारसका शेषमणि तिवारी (भाजपाका नेता) मेरा मित्र हुनुहुन्छ । उहाँले गंगा आरतीमा सहयोगी गर्छु भन्नुभयो । उद्योगपति साथीहरूले पूजासामग्री र पण्डितको खर्च व्यहोर्ने भन्नुभयो ।

वनारसबाटै पण्डित ल्यायौँ । २५ जेठ ०७१ देखि सात दिनसम्म पवित्र सरोवर गंगासागरमा गंगा आरती गर्‍यौँ । भारतका तत्कालीन राजदूत रणजीत राय र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र सगरमाथा जनकपुर अञ्चलका संयोजक राजयोगिनी गंगा माताले पहिलोपटक संयुक्त पूजा गर्नुभयो । त्यसपछि आजसम्म नित्य गंगाआरती भइरहेको छ ।

०००
वनारस र हरिद्वारमा गंगा आरती मात्र हुन्छ, जनकपुरमा गंगा माता र जानकी माताको संयुक्त आरती हुन्छ । जलकी देवी गंगामाता र धर्तीकी देवी सीता माता दुवैको एकैसाथ आरती कहीँ पनि हुँदैन । सुरुमा तीनजना पण्डित राख्यौँ, अहिले ६ जना पूजारी हुनुहुन्छ । उहाँहरूले दैनिक दुई घण्टा पूजा गर्नुहुन्छ । मासिक प्रतिव्यक्ति ६ हजार रुपैयाँ दिएका छौँ । दैनिक सफाइका लागि कर्मचारी राखेका छौँ । मासिक करिब ८० हजार रुपैयाँ खर्च हुन्छ ।

गंगासागर सफाइलाई राजनीतिक रङ दिनुहुँदैन भन्नेमा म सचेत थिएँ । मधेस आन्दोलनका वेला, कफ्र्यु लाग्दा पनि गंगा आरती रोकिएन । गंगासागरमा प्रवेश गरेपछि प्रहरी र प्रदर्शनकारी दुवै शान्त हुन्थे, आरती हेर्थे । यहाँ आउने प्रशासकहरू पनि सुरुमा जानकी मन्दिर दर्शन गर्नुहुन्छ, त्यसपछि गंगा आरती दर्शन गर्न आउनुहुन्छ । यो अभ्यास भइरहेको छ । हामीले जनकपुरमा जानकी माताको दर्शन, राम मन्दिरको दर्शन, गंगासागर, स्वर्गद्वारी, मणिमण्डप, रामानन्दद्वार हुँदै धनुषाधामको धार्मिक स्थल छनोट गरेका छौँ । यसलाई पर्यटकीय सर्किटका रूपमा विकसित गर्ने प्रयासमा छौँ ।

०००
गंगासागर सफाइपछि अंगराजसर, दूधमती नदी, विहार कुण्ड र जानकी मन्दिरपछाडि डम्पिङसाइटजस्तो रहेको पोखरीको सफाइ सुरु भयो । गाउँगाउँमा गंगा सागर सफाइ अभियानको प्रभाव परेको छ । यो आरती हेरेर भारतको सीतामाढीको बबन्देही नदीमा पनि आरती सुरु भएको खबर पाएको छु । गंगा आरती भारतको पटनामा साप्ताहिक रूपमा भइरहेको छ । योगी आदित्यनाथले अयोध्या गएका वेला केही समयअघि यमुना नदीमा आरती सुरु गर्न लगाउनुभयो । राम र सीताबीच प्राचीनकालमा विवाह भएको मणिमण्डपछेउका दुईवटा पोखरी सफाइ र सौन्दर्यीकरण सुरु भएको छ । धनुषाधाममा पनि पोखरी संरक्षण सुरु भयो । पाँच सय बिघामा रहेको जंगल संरक्षण भइरहेको छ । मिनी चिडियाखाना बन्दै छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र कांग्रेस नेता विमलेन्द्र निधि उपप्रधानमन्त्री हुँदा आउनुभयो । मधेसकेन्द्रित दलका सबै नेता आउनुभएको छ । विहारका उपमुख्यमन्त्री सुशील मोदी, मन्त्री विनोदनारायण झा आउनुभएको छ । जापानी, अस्ट्रेलियन राजदूतसहित विदेशी पाहुना गंगा आरती हेर्न आउनुभएको छ ।

०००
पृथ्वीमा सबैभन्दा बुद्धि भएको प्राणी मनुष्य नै हो । प्रकृतिसँग सबैभन्दा बढी खेलबाड गर्ने पनि मनुष्य नै हो । यसमा पनि सबैभन्दा बढी धन र साधनस्रोत भएकाहरू यसमा जिम्मेवार छन् । स्वच्छता अभियान र पर्यावरण संरक्षण अभियान मनुष्यको हितमा छ । मैले गर्न खोजेको यही नै हो । गंगासागरसँगै हामीले वृक्षरोपण अभियान सुरु गरेका थियौँ । हामीले ५० हजार आँपका बोट वितरण गर्‍यौँ । टोलमा गएर सफाइको कुरा मात्र गरेनौँ । बच्चाका लागि कापी र सिसाकलम लिएर गयौँ । स्वास्थ्य, शिक्षा र सरसफाइको कुरा पनि गर्‍यौँ र एक परिवारलाई एउटा आँपको बोट सित्तैमा दियौँ । मिथिलामा पान, माछा, आँप र मखानको बखान सर्वत्र छ । मिथिलामा कलकत्ताबाट आँप आउँछ, हामी जनकपुरमा किन उत्पादन नगर्ने ? यो लागेर आँपको विरुवा रोप्न अभिप्रेरित गरेका हौँ । जनकपुरका चारैतिर हामीले वृक्षरोपण गरेका छौँ । वनसँग सहकार्य गरेर एक लाखभन्दा बढी जंगली काठ रोपेका छौँ । सरकारी कार्यालय, गुठीको जग्गा, आर्मीको ब्यारेक, सार्वजनिक स्थलमा आँपको विरुवा रोप्यौँ । गंगासागर अभियानको सन्देश हो, पैसाकै कारण कुनै पनि महान् अभियान रोकिँदैन । जनकपुरका बासिन्दाले नसघाएको भए यो अभियान सफल हुने थिएन ।

०००
गंगासागर सफाइ अभियानकै बलमा म प्रदेश सभाको सांसद भएको छु । संघीय समाजवादी फोरमका तर्फबाट म आएको हुँ । म आफ्नो मनले राजनीतिमा आएको होइन । मलाई राजनीतिमा ल्याइएको हो । म जुन पवित्र उद्देश्यसाथ यहाँ काम गरिरहेको छु, त्यही पवित्र भावनाका साथ म राजनीतिक भूमिका निर्वाह गर्नेछु । राजनीतिमा म छु, तर म पेसा व्यवसाय बनाउन आएको होइन । पत्रकारिताको लामो अनुभव र गंगासागर अभियानको बलमा म यहाँसम्म आएको हुँ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी दिनमा जनकपुर आउने चर्चा छ । उहाँ आउँदा गंगासागरको आरतीमा सहभागी गराउने प्रयास गर्नेछौँ । सरकारमार्फत हामी आग्रह गर्नेछौँ ।

तपाईको प्रतिक्रिया