फागुन १ : नयाँ इतिहासको खोजी - Naya Patrika
eNaya Patrika
  • ePaper

फागुन १ : नयाँ इतिहासको खोजी

हामीले समग्र राज्यसत्ता प्राप्तिका लागि जनयुद्ध सुरु गरेका थियौँ । जनयुद्धकालीन प्रतिबद्धता पढ्यौँ भने हामीले त्यही देख्न सक्छौँ । तर, हामी राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिवश सम्झौताको राजनीतिमा आयौँ । संघीय लोकतान्त्रिक गणतन्त्रसँग राजनीतिक सम्झौता गर्‍यौँ । राजनीतिक रूपमा हामीले ठीक गर्‍यौँ भन्ने विश्लेषण हाम्रो छ । तर, सैद्धान्तिक रूपमा जनयुद्धको अवतरण ठीक थियो कि थिएन भन्ने बहस भने जारी नै छ र रहनेछ ।

आज नेपाली राजनीतिक परिवर्तनको कोर्स जहाँ आइपुगेको छ, यसको मुहान कुन हो ? ०५२ सालमा जनयुद्ध सुरु नभइदिएको भए हामी संघीय लोकतान्त्रिक गणतन्त्रका नागरिक हुने थियौँ कि थिएनौँ ? अथवा संसदीय व्यवस्थाका मात्र नागरिक हुने थियौँ ? भन्ने विषयमा गहन र जिम्मेवारीपूर्वक सोच्नुपर्ने भएको छ । अतः हामी माओवादी भन्ने गर्छौं, १ फागुन ०५२ को आगमन नभइदिएको भए नेपालको राजनीतिमा आज भइरहेको समाजवादको बहस सुदूरको विषय हुने थियो । अतः आज हामी जहाँ छौँ, जे छौँ, त्यो मूल रूपमा जनयुद्धकै उपलब्धि हो ।

तर, जनयुद्धको आगमन यी उपलब्धिका लागि मात्र थिएन । त्यसका सपना, त्यसको सौन्दर्य शास्त्र रंगीन थिए, अलि आदर्शपूर्ण थिए । अलि आत्मीय थिए । अनि वर्गीय पनि थिए । तर, आज ती आत्मीयता बिलाउँदै त गएनन् ? भन्ने बहस पनि सँगसँगै उठेको छ । कतै हामीले हाम्रै मुहानको पानीको स्वाद भुलि त सकेनौँ ? भन्ने प्रश्न पनि छ । अतः हामीलाई जुन विचार र सिद्धान्तले लेख्न, पढ्न सिकायो र हुर्कायो, आज आफ्नो त्यही जन्म दिन कतै हामीले भुल्दै त गएनौँ ? प्रश्न उठेको छ । किन हामीले हाम्रो स्वत्व भुल्दै छौँ ? किन हामीले हाम्रो वर्गलाई भुल्दै छौँ ? किन हामीले हाम्रो संस्कृति भुल्दै छौँ ? यी प्रश्न उठ्नु स्वाभाविक छ । किनभने जनयुद्धको उद्देश्यको आधा प्रतिशत मात्र प्राप्त गर्न सकेका छौँ, आधा भने बाँकी नै छ । त्यसैले भन्नैपर्ने हुन्छ, हामीले इतिहास भुल्यौँ भने वर्तमान भुल्नेछौँ र वर्तमान भुल्यौँ भने भविष्य भुल्नेछौँ । अन्ततः हाम्रो पहिचान, हाम्रो सभ्यता र हाम्रो आदर्श भुल्नेछौँ । हाम्रो रगतको इतिहास, हाम्रा सहिदको इतिहास भुल्ने प्रश्न सामान्य भूल हुनेछैन, जसलाई क्षमा दिन सकियोस् । अनि रगतको मूल्यलाई क्षमा दिन पनि त सकिँदैन । यी भूल हुनेछैनन् । यी त विचलन हुनेछन् । अन्ततः यस्तो हुनु भनेको आदर्शबाट च्युत हुनु हो । मात्र त्यति पनि होइन, यो राजनीतिक अपराध पनि हो ।

हामीले ०५२ देखि हतियार उठाउँदा के सोचेका थियौँ ? हाम्रा सहिदले युद्धमोर्चामा ढल्दा के सोचेका थिए ? सहिदका परिवारलाई भेट्दा हामीले के वचन दिएका थियौँ ? हामीले जनयुद्धको प्रतिबद्धतामा के भनेका थियौँ ? अनि जनयुद्धका १० वर्षमा के सोच्थ्यौँ र शान्ति–प्रक्रियाका १० वर्षमा के सोचिरहेका छौँ र के गरिरहेका छौँ ? हामीलाई सहयोग गर्ने जनता र कार्यकर्ता के सोचिरहेका छन् र के भोगिरहेका छन् ? राजनीतिमा १०–२० वर्ष केही होइन । नेपाली समाजमा देख्नलायक सकारात्मक प्रभाव जनताको जीवनमा देखिन सकेको छैन । जनताका दैनिकी उस्तै छ । स्कुल उस्तै छ । अस्पताल उस्तै छ । यातायात उस्तै छ । कर्मचारी र पुलिस प्रशासन उस्तै छ । पञ्चायतकालीन र संसदीयकालीन मन्त्री र सांसदका कथा अनि संघीय लोकतन्त्रकालीन व्यवस्थामा धेरै अन्तर छैन । यतिवेला केही समाजशास्त्री भन्छन्, समाजमा प्रगतिशीलताको साटो अपराधीकरण त भइरहेको छैन ? राजनीति सेवा होइन, ठेकेदारीकरण त भइरहेको छैन । सामान्तवाद ढाल्यौँ भन्छौँ, नयाँ सामान्त त जन्माइरहेका छैनौँ ? अनि राजनीति बिचौलिया र दलाल वर्ग पैदा गर्ने थलो त बनिरहेको छैन ? भन्ने प्रश्न पनि उठेको छ । महान् आदर्शभित्र महान् विचलनको आभास जनता र कार्यकर्तामा परेको छ । व्यक्तिवादको नयाँ आयामको गन्ध पनि आएकै छ । जसको समग्र जवाफ जनताले खोजेका छन् । त्यसैले समाजको यो विचलनवादी चरित्रले १ फागुनको प्रतिनिधित्व गर्न सक्दैन ।

विरोधीले आरोप लगाएझैँ जनवाद धनवादमा रूपान्तर हुने हो भने एकाथरी मान्छेले भनेझैँ जनयुद्ध, जनयुद्ध थिएन । यो व्यक्ति हत्या थियो भन्ने निष्कर्ष निस्कन सक्छ । तर, हाम्रो जबर्जस्त मान्यता छ– जनयुद्ध, जनयुद्ध नै थियो । अतः हामी १ फागुनको उत्पादनकर्ता र सिर्जनकर्ताले यसको आदर्श रक्षा गर्ने विषय इतिहास रक्षा गर्नुसँग सम्बन्धित छ । इतिहास रक्षालाई नजरअन्दाज गर्ने प्रश्न गम्भीर भूल हुनेछ । यो गम्भीर हीनताले हाम्रो आदर्शलाई पनि च्युत गर्छ । हाम्रा विरोधी हामी शान्ति प्रक्रियामा आइसकेपछि पनि जनयुद्धको इतिहासलाई न्यूनीकरण, भ्रष्टीकरण गर्न ज्यान फालेर लागेकै थिए र छन् । हामी कैयौँ जनयुद्धकर्मी आफूलाई आज जनयुद्धवादी भन्न हिच्किचाउँछौँ । साम्राज्यवादीको डर र भयले कतै हामीलाई लखेटिरहेको त छैन भन्ने आभास भएको छ । साम्राज्यवादी हामीलाई अझै लखेट्न चाहन्छन् । उनीहरू हामीले जति पुच्छर लुकाउन खोज्छौँ, उति टाउकोमा हान्न चाहन्छन् । आज उनीहरू बिर्सन्छन् कि उनीहरू पनि जनयुद्धको उपलब्धिमै राजनीति गरिरहेका छन् । उनीहरू जनयुद्ध भन्ने शब्द शब्दकोशबाटै हटाउन चाहन्छन् । त्यसलाई ध्वंसात्मक कार्य भन्न पछि पर्दैनन् ।

यी अनावश्यक आरोपलाई तब मात्र चिर्न सकिन्छ, जब हामी माओवादीले गम्भीरतापूर्वक आफ्नो इतिहास रक्षाका लागि आफूलाई सुदृढीकरण र रूपान्तरण गर्न सक्छौँ । वर्तमानमा हामीले हाम्रो इतिहासको रक्षा प्रगतिशील र जनपक्षीय कार्यबाट मात्र गर्न सक्छौँ । प्रगतिशील र जनपक्षीय काम गर्ने सुन्दर अवसर पनि वर्तमानले हामीलाई दिएकै छ । विगतमा हामीले भूल गरे पनि पार्टी एकता र एउटै कम्युनिस्ट केन्द्र बनाउने र समाजवादी बाटोको लक्ष्यले त्यो पूर्ति गर्नेछ र यसले १ फागुनको ऐतिहासिक प्रक्रियालाई अगाडि बढाउनेछ । हाम्रा बिरासतका कथा, सहिदका गाथा र महान् जनताले खेलेका भूमिकालाई समाजवादी आन्दोलनबाट स्थापित गर्ने सुनौलो अवसर निर्वाचनमार्फत पनि जनताले हामीलाई दिएका छन् । तर, हामीलाई बारम्बार विचलित हुने, भूल दोहो¥याने, माक्र्सवादप्रति अविश्वास गर्ने, वर्गको विचार छाड्ने छुट हुनेछैन ।

जसरी १ फागुनमा नयाँ इतिहास जन्माउनका लागि थालिएको थियो, वामपन्थीको बहुमतको सरकारको समाजवादी बाटोबाट पुनः नेपाली समाजले नयाँ इतिहास जन्माउन खोजिरहेको छ । लामो संक्रमणकाल अन्त्य गर्दै देश स्थायी शान्ति, समृद्धि र समाजवादको बाटोमा अघि बढेको हेर्न चाहेको छ । यो नै नेपाली वर्ग संघर्षको निरन्तरता हो र यो १ फागुनको पनि निरन्तरता हो । यो निरन्तरतालाई अगाडि बढाउने र यसलाई स्मृतिमा राख्ने प्रश्न भविष्यसँग जोडिएको प्रश्न हो । तर, कहिले–काहीँ मान्छे यसलाई इतिहासको विषय मात्र बनाउँछन् । र, भविष्य बिर्सन्छन् । हामी क्रान्तिकारी, परिवर्तनकारी भने परिवर्तन एकचोटि होइन, बारम्बार चलाइराख्नुपर्छ भन्ने मान्यता राख्छौँ । हाम्रो इतिहास पनि सुखमा होस् या दुःखमा, जितमा होस् या हारमा बिर्सनु हुँदैन । १ फागुन ०५२ नेपालको इतिहासको एउटा गौरवपूर्ण दिन हो, त्यसलाई सम्मान गर्न र आत्मसात् गर्न थाक्नु हुँदैन । जो थाक्छ, त्यो हार्छ । जो थाक्छ, त्यो विचलित हुन्छ । जो थाक्दैन, त्यो अगाडि बढ्छ र रूपान्तर हुन्छ । २३औँ जनयुद्ध दिवसले पनि हामीलाई क्रान्तिकारी इतिहासको रक्षा गर्दै नयाँ खोजमा निरन्तर संघर्ष गर्न प्रेरित गरिरहेको छ ।
(थापा माओवादी केन्द्रका नेता हुन्)

तपाईको प्रतिक्रिया