सेना दिवसको सान्दर्भिकता - Naya Patrika
eNaya Patrika
  • ePaper

सेना दिवसको सान्दर्भिकता

वास्तविकता
प्रायः सैनिक दिवस देशको स्वाधीनता, स्वतन्त्रता, स्थापना वा त्यस्तै कुनै विशेष महत्वको दिन मनाइन्छ । सैनिक दिवसका दिन सेनाले आफ्नो नवीन सैन्य प्रविधि र युद्ध क्षमता देशी–विदेशीलाई देखाउने प्रचलन छ । खासमा सैनिक दिवसमा सेनाले राष्ट्रप्रमुखलाई गरेको समर्थन नवीकरणका लागि सलामी अर्पण गर्ने प्रचलन हुन्छ । देशको स्वाभिमान वृद्धि, स्वाधीनता प्राप्ति एवम् स्थापना र श्रीवृद्धिका खातिर समर्पण गर्ने वीर वीरांगना अनि अरू भुलचुकले प्राण त्याग गर्ने आयुधजीवी सैनिक सदस्यप्रति भावपूर्ण सैनिक श्रद्धाञ्जली र जंगी सलामी चढाउने अवसर पनि हो यो । यस दिन सेनाले प्रशंसनीय सुकार्य गर्ने सैनिकलाई राष्ट्रको उच्च पदवी, मान, अलंकार प्रदान गर्छ र आगामी दिनमा राष्ट्रहितमा आफूलाई समर्पित गर्ने थप सुयोग्य सैनिक जन्माउने प्रेरणा संगठनभरि फिँजाउँछ । अनि सिंगो संगठनले विगतका दिनमा संगठनबाट भएका कमी–कमजोरी, गल्तीप्रति क्षमा मागेर, भोलिका दिनमा राष्ट्रहितमा समर्पित भइरहने प्रण गर्छ । सेना दिवस मनाउनुको वास्तविकता यही हो ।

मोहन थापा

 

महाशिवरात्रि बढाइँसँगै सेना दिवस
पहिले काठमाडौं उपत्यकामा मल्ल राजाहरूले शासन चलाउँंदा उपत्यकाबाहिरबाट विशेषगरी मधेस र भारतबाट महाशिवरात्रि पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई यहाँका राजाको सैनिक शक्ति र सांस्कृतिक झांँकी देखाउन सरकारी सैनिक टुँडिखेलमा जम्मा भएर हर्ष बढाइँ गर्ने चलन थियो । मल्ल राजा र तिनका पालित–पोषित सीमित लडाकु सैनिकले धान्दै आएको परम्परालाई वि.सं. १८२५-२६ मा गोर्खाका राजा पृथ्वीनारायण शाहले उपत्यका विजयपछि पनि निरन्तरता दिए । पछि राणाकालसम्म आइपुग्दा महाशिवरात्रिमा सैनिक बढाइँ, सैनिक कबाज र सैनिक कला देखाउन थालेका थिए । सत्चितशमशेर जबरा प्रधानसेनापति (वि.सं.०४४–४८) हुँदा, सोही बढाइँले, तत्कालीन हिन्दू अधिराज्य नेपालको राष्ट्रिय सेना शाही नेपाली सेनाको सैनिक दिवसको रूप लियो । करिब तीन दशकदेखि नेपाली सेनाले सोही प्रचलनलाई निरन्तरता दिँदै आएको छ ।

सान्दर्भिकता
सेनाले महाशिवरात्रिको दिनलाई कुन आधार र कति कारणले सेना दिवस नाम दियो ? यसको स्पष्टता कहीँ कतै उल्लेख छैन । लमजुङका राजकुमार द्रव्य शाहले वि.संं. १६१५ मा लिगलिगकोट र २४ भदौ १६१६ मा गोर्खा हात पारे र बेग्लै सेना बनाए । उनले गणेश पाँडे, गंगाराम राना, नारायण अज्र्याल, भगीरथ पन्त, सर्वेश्वर खनाल, केशव बोहरा र मुरली खवाससमेतको नेतृत्वमा रहेको सैनिकको सहयोगमा घले र खड्का राजालाई परास्त गरी गोर्खा राज्य र गोर्खाली सैन्य बल जमाएका थिए । पछि उनकै सन्तति पृथ्वीनारायण शाहको राज्यकालमा १५ असोज १८०१ मा नुवाकोटबाट विजय अभियान सुरु गर्दै १८१९ मा वंशराज पाँडे र केहरसिंह बस्न्यात नेतृत्वको गोर्खाली सेनाले मकवानपुर विजय गर्दा लुटेको सात सय बन्दुक र सैनिक सामग्रीको सहयोगमा श्रीनाथ, बर्दवाहिनी, सबुज, गोरख र कालीबक्ससहित पां“च स्थायी सैनिक कम्पनी स्थापना गरिएको थियो ।

पृथ्वीनारायण शाहले ५ असोज १८१९ मा श्रीनाथ र कालिबक्स, ९ असोजमा बर्दवाहिनी र सबुज कम्पनी स्थापना गरे । हारेपछि भागेर बंगालस्थित तत्कालीन इस्ट इन्डिया कम्पनीका प्रशासक मिर कासिमको शरणमा गएका मकवानपुरका पूर्वराजा दिग्बन्धन सेन र मन्त्री कनक बानियाँको सहयोगमा गोर्खाली सेनासँग लड्न आएको गुर्गिन खाँ नेतृत्वको मिर कासिमको सेनासँग सोही २७ पुस र १० माघमा मकवानपुर हर्नामाडीमा भएको गुरिल्ला युद्धमा पनि गोर्खाली सेना विजयी भयो । मुसलमानी सेनासँंग खोसेका बन्दुक, तोप र सैनिक सामग्रीको सहयोगमा १० फागुनमा गोरख नामक अर्काे सैनिक कम्पनी खडा गरियो । त्यसअघि नै उनले काशी यात्राबाट बन्दुक ल्याई, सैनिकलाई तालिम दिई, स्थायी ढंगले राज्य विस्तार गर्दै जाने दृढ निश्चय गरेका थिए । यही क्रममा १८१९ मा स्थापित ती पांँच स्थायी सैनिक कम्पनीको विस्तार नै आजको नेपाली सेना हो ।

गोर्खा राज्य विजय भएको २४ भदौ, नेपाल एकीकरण अभियान प्रारम्भ बिन्दु नुवाकोट विजय भएको १५ असोज र आजको सैनिक संगठन स्थापनाको प्रारम्भिक दिन ५ असोजलाई सेनाले सम्झिएको छैन । यसविपरीत केही हिन्दू धार्मिक शास्त्र र स्वस्थानी कथामा पाइने शिवका कथा र मिथकलाई आधार मानी महाशिवरात्रिका दिन सैनिक दिवस मान्नु आजको धर्मनिरपेक्ष नेपालमा कति सान्दर्भिक छ ? यसतर्फ सामयिक बहस भएको छैन ।

देखासिकी
सैनिक दिवसलाई सेनाले औपचारिकतामा सीमित राखेको छ । राष्ट्र प्रमुखलाई सलामी टक्र्याउने, तोप बन्दुक पड्काएर बढाइँ चढाउने, सैनिक परेड खेलाएर धुलो उडाउने अनि विदेशबाट किनेर ल्याइएका हतियार प्रदर्शन गर्ने पञ्चायतकालीन परम्परा कायमै छ । नेपाल निर्माणका क्रममा गोर्खाबाट उपत्यका र पूर्व–पश्चिमका शक्तिशाली राज्यका सेना अनि तिब्बत, चीन र बेलायती सैनिकसँग जाइलाग्दा वीरगति पाउने सैनिकको संस्मरण गर्ने, तिनका सम्मानमा ब्यारेक, पल्टन, सैन्य प्रविधि र रचनात्मक कार्य गर्ने, पदक, विभूषण स्थापना गर्नेतर्फ सेनाले अझै जांँगर देखाएको छैन । अनुकरणीय काम गर्ने जीवित वा स्वर्गीय भूतपूर्व सैनिकलाई सम्झने सामान्य दायित्व पूरा गरेको छैन । विगतमा शासकका सनकमा जिउँदै छाला काढिएका, गुट र ईष्र्याले काटिएका, नेपाल भूमिमा जन्मेर आयुधजीवी पेसा अँगालेका भीम मल्लदेखि यज्ञबहादुर थापासम्मका अपमानित ढंगबाट मृत्युदण्ड दिइएका सैनिकका स्वर्गीय आत्माप्रति क्षमायाचना गर्न आवश्यक ठानेको छैन । देश, सेना र नेपाली जातिको यश र वीरताको गरिमालाई उजिल्याउने, उनीहरूले गरेको युद्ध सेवा र सैनिक सेवाको कदर गर्नुपर्ने औचित्य देखेकै छैन । सर्सर्ती हेर्दा महाशिवरात्रि बढाइँ र सैनिक दिवस कार्यक्रम मल्लकालदेखि शिवरात्रिमा मनाउँंदै आएको बढाइँलाई निरन्तरता र विदेशी सेनाले मनाएको सैनिक दिवसको देखासिकी मात्र प्रतीत हुन्छ ।

अन्त्यमा
यो वास्तविकताको जानकार भएर पनि नेपाली सेना परम्परामै सीमित छ । वास्तविकता बेग्लै छ । सान्दर्भिकता बेग्लै भइसक्यो । तर, मल्लकालमा झैँ आज पनि दक्षिणबाट शिवरात्रिमा पशुपति आउने तीर्थयात्री र पर्यटकलाई एक–दुई क्षण रत्नपार्क र सहिदगेटमा उभ्याएर, डाङडुङ आवाज सुनाएर, सेना दिवस मनाउन पाएकोमा सेना दंग छ ।

नेपाल एकीकरणका सिलसिलामा गठन भई विस्तार हुँदै आएको हो नेपाली सेना । समयानुकूल आधुनिक हतियार र प्रविधिको जगेर्नासँगै सेनाले आगामी दिनमा हुन सक्ने द्वन्द्व, विखण्डन र विपत्तिप्रति सचेत हुन र सतर्क गराउन सक्नुपर्छ । मल्लराजाका परम्परा धान्न सैनिकलाई टुँडिखेल र काठमाडौंका सडकमा धुलो उडाउन व्यस्त राख्नुभन्दा त्यो जिम्मेवारी एक–दुई कम्पनीलाई छाडिदिएर, आमसैनिकलाई नयांँ प्रविधि र रणनीतिमा ध्यान केन्द्रित गराउनु बुद्धिमानी हुनेछ । अब पनि नेतृत्वको ध्यान सलामीमै सीमित रहने हो भने केही भन्नु छैन । नत्र सेनाले अब परम्परा जोगाउने दायित्वमा सीमित नरही सामयिक रक्षा चुनौतीलाई सामना गर्न आपूmलाई सक्षम राख्न जरुरी छ । आफ्नै पौरख र प्रविधिलाई प्रोत्साहन गर्दै, आफ्नै इतिहासलाई संस्मरण गर्नु हितकर हुनेछ ।

तपाईको प्रतिक्रिया