प्रदेश ५ को मुख्यमन्त्रीमा बुधबार शंकर पोखरेल नियुक्त हुँदै - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश ५ को मुख्यमन्त्रीमा बुधबार शंकर पोखरेल नियुक्त हुँदै

प्रदेश ५ को मुख्यमन्त्रीमा बुधबार एमाले संसदीय दलका नेता शंकर पोखरेलले नियुक्त हुँदै छन् । उनले बिहीबार मुख्यमन्त्रीको शपथग्रहण गर्ने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

नेता पोखरेलले मुख्यमन्त्रीमा नियुक्तिका लागि आइतबार एमाले–माओवादी गठबन्धनका तर्फबाट प्रदेश प्रमुख उमाकान्त झासमक्ष दाबीपत्र पेस गरेका थिए ।

‘मुख्यमन्त्रीका रूपमा २ फागुनमा शंकर पोखरेललाई नियुक्तिको पत्र दिन्छौँ,’ प्रदेश प्रमुख झाले नयाँ पत्रिकासँग भने । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यस्तै, ३ फागुन दिउँसो ३ बजे प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । पोखरेल नेतृत्वमा एमाले र माओवादीका तर्फबाट एक–एकजना सांसदले मन्त्रीका रूपमा शपथ लिने तयारी गरिएको छ । बुटवल बसपार्कनजिकै रहेको डिभिजन सडक कार्यालय, बुटवलको अतिथि गृहमा मुख्यमन्त्रीका शपथग्रहणको कार्यक्रम हुनेछ ।

त्यस्तै, एमालेबाट बैजनाथ चौधरी र माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसी सोनाम वा कृष्णध्वज खड्कामध्ये एकले मन्त्रीका रूपमा शपथ लिनेछन् ।

तर, माओवादीले मन्त्रीमा पठाउने व्यक्तिको टुंगो लगाएको छैन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा माओवादीको दाबी छ । मन्त्रीका लागि दुवै पार्टीका १२ जना दाबेदार छन् ।

आज सभामुखको मनोनयन दर्ता
त्यस्तै, बुधबार सभामुखमा माओवादी सांसद पूर्णबहादुर घर्ती चयन हुने भएका छन् । सभामुखमा रुकुम ‘ख’ बाट प्रदेश सभा सदस्य घर्तीलाई पठाउने माओवादीले निर्णय गरिसकेको छ । मंगलबार बिहान १० देखि ५ बजेसम्म सभामुखका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

यो प्रदेशमा ८७ मध्ये एमाले र माओवादीका ६१ र कांग्रेसका १९ सांसद छन् । सभामुखमा उम्मेदवारी दिने–नदिनेबारे कांग्रेसले टुंगो लगाएको छैन । कांग्रेस नेता बालकृष्ण खाणले मंगलबार बिहान मात्रै टुंगो लाग्ने बताए ।

‘साथीहरूले उम्मेदवारी दिऔँ भनिरहनुभएको छ,’ खाणले भने, ‘पार्टीसँग छलफल गरेपछि मंगलबार बिहान के गर्ने भन्ने टुंगो लगाउँछौँ ।’

तपाईको प्रतिक्रिया