असारसम्म साढे चार लाख निजी आवास बनाउने लक्ष्य - Naya Patrika
eNaya Patrika
  • ePaper

असारसम्म साढे चार लाख निजी आवास बनाउने लक्ष्य

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असार मसान्तसम्म साढे ४ लाख निजी आवास निर्माण सम्पन्न भइसक्ने जानकारी दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालका अनुसार शुक्रबार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले निजी आवास निर्माणतर्फ यस वर्षको लक्ष्य पूरा गर्ने प्रतिबद्धता दोहो-याएको हो ।

‘निजी आवास निर्माणले गति लिएको छ,’ उनले भने, ‘यसअघि देखिएका धेरै समस्या समाधान भई काम अगाडि बढेको छ ।’ २ सय ८० स्थानीय तहमा पुगेर कामदारलाई निजी आवास निर्माणसम्बन्धी तालिम दिइएको, इन्जिनियर तथा प्राविधिकलाई गाउँगाउँ खटाइएको र स्थानीय तहमा रहेको समन्वयको समस्या समाधान भएकाले पुनर्निर्माणको कामले गति लिएको भुसालले जानकारी दिए ।

अबको प्राथमिकता काठमाडौं उपत्यका
प्राधिकरणले निजी आवास निर्माण संतोषजनक रूपमा अगाडि बढेसँगै अबको लक्ष्य काठमाडौं उपत्यका निर्माण हुने बताएको छ । काठमाडौं उपत्यकाभित्र बहुस्वामित्व र संयुक्त आवास प्रणाली अवलम्बन गरी पुनर्निर्माणको कामलाई गति दिने निर्णय भएको भुसालले जानकारी दिए ।

उनका अनुसार उपत्यकाभित्र आवास पुनर्निर्माणका लागि बैंकहरूबाट प्रवाह हुने ऋणका सम्बन्धमा पनि समन्वय भइरहेको छ । प्राधिकरणले अब उपत्यकाको पुनर्निर्माणसँगै बस्ती स्थानान्तरण र सम्पदा पुनर्निर्माणलाई पनि गति दिने भुसालले बताए ।

दोस्रो किस्ता लिने समयसीमा चैत मसान्त
प्राधिकरण निर्देशक समितिले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिने समयसीमा आगामी चैत मसान्तसम्म पु-याउने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले निजी आवास पुनर्निर्माणका लागि ०७४ पुस मसान्तसम्म दोस्रो किस्ता लिइसक्ने समयावधिलाई बढाएर चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।

अब यसअघि पहिलो किस्ता लिएका सबै लाभग्राहीले चैत मसान्तभित्र दोस्रो किस्ता लिन सक्ने सिइओ भुसालले जानकारी दिए । उनका अनुसार आफ्नो आवास आफैँ बनाउन नसक्ने व्यक्तिको पहिचान गरी उनीहरूको घर बनाइदिने सम्बन्धमा प्राधिकरणले कार्यविधि बनाइरहेको छ ।

तपाईको प्रतिक्रिया