मध्यपूर्वमा मोदीको दुई डुंगाको सवारी ? - Naya Patrika
eNaya Patrika
  • ePaper

मध्यपूर्वमा मोदीको दुई डुंगाको सवारी ?

प्यालेस्टाइन स्वतन्त्र र सम्प्रभु राष्ट्र बन्ने विषयमा मोदीले केही पनि भनेनन्, उनले प्यालेस्टाइन राष्ट्र कसरी बन्न सक्छ भन्नेबारे केही बताएनन्

एउटा ताजमहलको यात्रा थियो, केही बलिउड हस्तीसितका सेल्फी थिए र दुवै देशका प्रधानमन्त्रीले मित्रझैँ अंकमाल गरेका केही तस्बिर थिए । पछिल्लो महिना इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु जतिखेर भारत आएका थिए, त्यतिखेर यिनै दृश्यबाट भारतीय अखबार भरिएका थिए ।

तर, शनिबार नरेन्द्र मोदी इजरायलसित संघर्षरत प्यालेस्टाइन क्षेत्रको भ्रमणमा गएका छन् । र, उनले त्यहाँका नेता महमुद अब्बासलाई अंकमाल गरेका छन् । ल्यालेस्टाइन क्षेत्रको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

मोदीको रुट पनि रोचक रह्यो । उनी इजरायल हुँदै नगई जोर्डन हुँदै गए । जोर्डन सरकारले उनलाई प्यालेस्टाइन जानका लागि हेलिकोप्टर दियो र सुरक्षा प्रदान गर्‍यो, इजरायली वायु सेनाले । त्यसपछि जब उनी प्यालेस्टाइनको रमल्लाह सहर पुगे, तब उनले त्यहाँ भने– भारत प्यालेस्टाइनको हितलाई ध्यानमा राख्ने पुराना वाचाबाट बाँधिएको छ ।

साथै प्यालेस्टाइन शान्तिपूर्ण रूपमै स्वतन्त्र र सम्प्रभु देश बन्नेछ । एकातिर इजरायलसित हातेमालो, अर्कातिर प्यालेस्टाइन सम्प्रभु देश बन्ने कामना । भारतको यस रूपको कूटनीतिको अर्थ के हो ?

अन्तर्राष्ट्रिय राजनीतिका जानकार र अमेरिकाको डेलावेयर युनिभर्सिर्टीका प्राध्यापक मुक्तदर खान भन्छन्–मध्यपूर्वको शान्ति प्रक्रियाको विस्तृत जानकारी अमेरिकी मिडिया र संसारका सबै प्रमुख देशका साथमा छ ।

यो कुनै भारत वा पाकिस्तानबीचको संघर्ष जस्तो होइन, जसबारे दुवै देशका अतिरिक्त बाँकी संसारलाई विस्तृत जानकारी नहोस् । भन्नुको अर्थ यो हो कि विश्वस्तरमा प्यालेस्टाइन र इजरायलबीचको संघर्ष कुनै नौलो विषय होइन ।

यसबारे युरोप र अमेरिकालाई निकै राम्ररी थाहा छ । सबैलाई थाहा छ कि प्यालेस्टाइन स्वतन्त्र देश बन्नुमा सबैभन्दा ठूलो बाधा पश्चिमी किनारमा इजरायली पुनर्वास हो ।

इजरायलले पछिल्ला दुई तीन दशकमा ६ लाख यहुदीलाई पश्चिमी किनारामा बसाएको छ । यस्तोमा सबैलाई थाहा छ कि इजरायलको यस आक्रामक नीतिका कारण प्यालेस्टाइन राज्य बन्न कति कठिन छ ।

प्यालेस्टाइन स्वतन्त्र र सम्प्रभु राष्ट्र बन्ने विषयमा, जुन सबैभन्दा महत्वपूर्ण मुद्दा छ, त्यसबारे नरेन्द्र मोदीले केही पनि भनेनन् । मोदीले प्यालेस्टाइन राष्ट्र कसरी बन्न सक्छ भन्नेबारे केही बताएनन् ।

८० प्रतिशत जमिन विशेषगरी जहाँ पानी छ, जहाँ खेती हुन सक्छ, त्यो सबै जमिन इजरायलको पक्षमा गइरहेको छ । यस्तोमा प्यालेस्टाइन कहाँ र कसरी बन्न सक्छ ? प्यालेस्टाइन बन्न जति समय लाग्छ, त्यति नै इजरायली जनसंख्या पश्चिमी किनारामा सघन हुँदै जानेछ ।

पश्चिमी किनारामा १९९४ मा केबल एक लाख इजरायली थिए । तर, अब यिनीहरूको उपस्थिति ६ लाख पुगेको छ । जुन सबैभन्दा कठिन पक्ष छ, त्यसमाथि केही बोलेका भए साँच्चै नरेन्द्र मोदी गम्भीर छन् भन्ने मान्न सकिन्थ्यो ।

उनले त्यही कुरा गरेका छन्, जसलाई अहिलेसम्म भारत सरकारले प्रतीकात्मक रूपमा भन्दै आएको थियो । अहिले त हमासले पनि हतियार छाडेको छ । शान्ति प्रक्रिया सुरु भएको करिब २५ वर्ष भएको छ । तर, अहिलेसम्म कुनै प्रगति भएको छैन ।

वैश्विक नीतिमा केही कुरा सार्वजनिक रूपमा हुन्छन् भने पर्दापछाडि पनि कम कुरा हुँदैनन् । उदाहरणका रूपमा मोदी नेतन्याहुसित निजी रूपमा यो पनि भनिदिन्छन्, नेतन्याहुले पनि उनको केही आलोचना पनि गर्छन् ।

किन यो भारतको हितमा छ भने के नै बिग्रन्छ र ? इजरायललाई यस्ता कुरा बानी परिसकेका छन् । तर, नरेन्द्र मोदीले त्यो पनि गरेनन् । संसारभर इजरायलविरोधी भावना बढेको छ । यसलाई हामी भारतमा पनि देख्न सक्छौँ ।

अमेरिका र युरोपमा भारतको जुन वामपन्थी आवाज छ, त्यो पूरै इजरायलविरुद्ध छ । जब म अरब मिडिया हेरिरहेको थिएँ, त्यसमा इजरायलविरुद्ध पर्याप्त लेफ्ट आवाज थिए । अरब मिडियामा भाजपाको इजरायलको समर्थन गर्ने नीतिको आलोचना भइरहेको छ । अमेरिकामा भारतीय मूलका करिब २० लाख मानिस छन् । उनीहरू इजरायलको समर्थनमा छन् ।

(बिबिसी संवाददाता कुलदीप मिश्रसितको संवादमा आधारित)
बिबिसी डट कम/हिन्दीबाट

तपाईको प्रतिक्रिया