कृषिमा समृद्धिको आधार - Naya Patrika
eNaya Patrika
  • ePaper

कृषिमा समृद्धिको आधार

माटो महत्वपूर्ण प्राकृतिक स्रोतमध्ये एक हो । स्वस्थ माटो कृषिको उत्पादकत्व तथा कृषकको आयस्तर वृद्धिको पूर्वसर्त हो । उब्जनी हुने माटो स्वस्थ नभएमा माटो सुधारका लागि थुप्रै मिहिनेत गर्नुपर्ने, उत्पादित उपज पनि स्वस्थ तथा गुणस्तरीय नहुने, त्यस्ता उपजले बजार नपाउने वा पाइहाले पनि उचित मूल्य नपाउने र उपभोग गर्ने उपभोक्ताको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्नसक्ने हुन्छ ।

                                                        पवनसिंह भण्डारी

विभिन्न समयमा गरिएको अध्ययन अनुसन्धानबाट नेपालमा माटोको उर्वराशक्ति घट्दो क्रममा रहेको पाइएको छ । यसरी माटोको गुणस्तरमा ह्रास आउनुका कारणमध्ये माटोको गुणअनुसार उपयुक्त बाली छनोट हुन नसक्नु, माटोमा बिरुवालाई चाहिने पौष्टिक तत्वको समय–समयमा जाँच गराई आवश्यकताअनुसार सन्तुलित मात्रामा मलखादको प्रयोग नगरी अन्धाधुन्ध रूपमा रासायनिक मलको व्यापक प्रयोग हुनु, सीमान्त जमिनमा समेत बढी खनजोत गरी खेती गरिनु, माटोबाट अत्यधिक पोषक तत्व शोषण गर्ने खालका हाइब्रिड बिउबिजनको प्रयोगमा वृद्धि हुनु तर सोको तुलनामा बाह्य स्रोतबाट दिनुपर्ने मलखादको मात्रा नपुुर्‍याउनु, सहरी क्षेत्रमा निस्कने ठोस तथा तरल प्रदूषण विभिन्न माध्यमबाट सोझै माटोमा विसर्जन गर्नु आदि प्रमुख छन् ।

यो प्रवृत्ति घट्नुको साटो बढ्दो छ । एकातिर माटोको स्वस्थतामा यस्ता समस्या आइपरेका छन् भने अर्कातर्फ दिनानुदिन बढ्दै गइरहेको शहरीकरणले खेतीयोग्य जमिनको अभाव भइरहेको छ । यी सबै समस्याले गर्र्दा नेपालको बढ्दो जनसंख्यालाई आगामी दिनमा खाद्य संकटको समस्या नआउला भन्न सकिन्न ।

छिमेकी मुलुक भारतमा समेत यस्ता समस्याले आजित भई सरकारले माटो सुधारको दीर्घकालीन समाधानका लागि माटो स्वस्थता कार्ड योजना सञ्चालन गरेको छ । ०१५ मा सुरु गरिएको माटो स्वास्थ्य कार्ड योजनाअन्तर्गत हालसम्म १० करोड कृषकलाई माटो स्वस्थता कार्ड वितरण गरिसकिएको छ ।

साथै, उसले देशभरका सबै कृषकलाई सो कार्ड वितरण गर्ने लक्ष्य लिएको छ । भारतमा माटो स्वस्थता कार्डमा दिइएको सुझाबअनुसार कृषकले खेती प्रणालीमा सुधार गर्दा उत्पादन लागत कमी आउनुका साथै उत्पादनमा वृद्धि भई कृषकको आयस्तर वृद्धिमा समेत मद्दत पुगेको छ ।

नेपालमा पनि यस कार्यक्रमलाई सुरुवात गर्नु अत्यावश्यक छ । यस कार्यक्रमलार्ई कृषि क्षेत्रको सुधारको सुरुवातको मुख्य कडीका रूपमा पनि लिन सकिन्छ । नेपाल सरकारले हाल कृषि उत्पादकत्व वृद्धिका लागि बर्सेनि अर्बौं रुपैयाँबराबरको रासायनिक मलमा अनुदान दिँदै आएको छ । विगतदेखि कृषकले असन्तुलित मात्रामा रासायनिक मल प्रयोग गर्नाले माटोलाई दीर्घकालीन असर पुगेको छ ।

समयमै मलखाद नपाउने कारण कृषकले समेत पाएका वेला सकेसम्म धेरै मल खरिद गर्ने र अन्धाधुन्द प्रयोग गर्ने गरेका छन् । हरेक वर्ष कृषि उत्पादनमा भएको वृद्धिसँगसँगै रासायनिक मलको प्रयोगमा समेत बढोत्तरी भइरहेको छ । जसका लागि बर्सेनि कृषकको अर्बौं खर्च हुने गरेको छ । यसमध्ये करिब आधा प्रतिशत रकम मात्र राज्यको अनुदानबाट पूरा हुन्छ ।

नेपालमा रासायनिक मल उत्पादन नहुने भएकाले ठूलो रकम बिदेसिने गरेकोे छ । माटो स्वस्थता कार्ड माटो संरक्षणका लागि अनिवार्य छ । यसले कृषकलाई उनीहरूले खेती गरिरहेको माटोको उर्वराशक्तिसम्बन्धी सम्पूर्ण जानकारी दिन्छ ।

कृषकलाई वितरण गरिने माटो स्वस्थता कार्डमा कृषकले आफ्नो खेतबारीबाट संकलन गरी पठाएका माटोका नमुनामा विभिन्न पोषकतत्वको विश्लेषण गरी माटोको किसिम, त्यस्तो माटोको विशेषता, माटोमा भएको पोषक तत्वको मात्रा दिइएको हुन्छ भने कम तथा बढी भएका तत्व र विभिन्न बाली लगाउन चाहिने सन्तुलित मलखादको मात्रासमेत सिफारिस गरिएको हुन्छ ।

माटो स्वस्थता कार्डको प्रभावकारी सञ्चालनका लागि सरकारले प्रत्येक कृषक घरपरिवारलाई एउटा कार्ड वितरण गर्नुपर्छ । यसका साथै कृषकलाई छिटो, छरितो रूपमा माटो जाँचको व्यवस्था मिलाउन देशभर विभिन्न स्थानमा पर्याप्त संख्यामा माटो जाँच गर्ने प्रयोगशाला स्थापना, माटो जाँच गरी उपयुक्त प्रविधि सिफारिस गर्न सक्ने दक्ष प्राविधिक जनशक्तिको व्यवस्था तथा तदनुरूप अन्य पूर्वाधारसमेत विकास गर्नुपर्छ ।

कार्यक्रमलाई राष्ट्रियस्तरमा अभियानकै रूपमा सञ्चालन गरी प्रगति हासिल गर्न वार्षिक रूपमा लक्ष्य तोकेर कृषकलाई कार्ड वितरण गर्नुपर्छ । कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा मूल्यांकनका लागि रासायनिक मलको राष्ट्रिय खपतलाई समेत घटाउने लक्ष्य प्रस्तुत गर्नुपर्छ ।

साथै, हरेक दुई वर्षमा कृषकले अनिवार्य रूपमा माटो जाँच गर्नैपर्ने प्रावधान ल्याउनुपर्छ । जाँचपश्चात् कृषकको माटो स्वास्थ्य कार्डमा सुधारका लागि आवश्यक सुझाबसमेत दिनुपर्छ । यसरी वितरण गरिने कार्ड र त्यसमा दिइने सुझाब विज्ञ प्राविधिकबाट मात्र दिने व्यवस्था मिलाउनुपर्छ । कृषकले पनि कार्डमा दिइएका सुझाबलाई अक्षरशः पालना गर्नुपर्छ ।

यसका साथै कृषकलाई आवश्यकताअनुसार माटोको स्वास्थ्यसम्बन्धी विशेष तालिम दिनुपर्छ । यसो गर्न सके कृषकमा समेत कार्डमा दिइएअनुसार माटो सुधार कार्य गर्ने बानी विकास हुन्छ । यसबाट विगतमा अत्यधिक रासायनिक मल प्रयोग भई गुणस्तर खस्किएका माटोको गुणस्तरमा क्रमशः सुधार हुन सक्छ ।

यसरी माटो स्वास्थ्य कार्ड प्रणाली अपनाउन सकिएमा कृषकले न्यून लागतमै अधिकतम उत्पादन गर्न सक्छन् । विशेषगरी हाल अत्यधिक रासायनिक मल प्रयोग गरिने खाद्यान्न बाली, आलुलगायत अन्य व्यावसायिक बाली लगाउने कृषकलाई यसबाट अझ बढी फाइदा पुग्छ ।

हालसम्म नेपालमा अधिकतर कृषकले माटो जाँचविनै खेतमा युरिया मल हाल्ने गरेका छन् । जसले कृषकलाई फाइदाभन्दा बढी नोक्सानी पुर्‍याएको देखिन्छ । यस क्षेत्रमा भइरहेको सरकारी प्रयासलाई केलाएर हेर्दा हाल सञ्चालित कृषि प्रसार कार्यक्रमले उन्नत तवरले खेती गर्न सिकाएको छ । यसरी खेती गर्दा कृषकको माटो व्यवस्थापन सेवाका लागि देशका विभिन्न स्थानमा माटो परीक्षण प्रयोगशाला र घुम्ती माटो परीक्षण सेवासमेत सञ्चालनमा छ ।

यी प्रयोगशालाबाट माटोको नमुना परीक्षण गरी सुधारका लागि उपयुक्त सुझाब दिने र अनुदानमा माटो सुधारसम्बन्धी सामग्री वितरण गर्ने गरिएको छ । यसका साथै नेपाल कृषि अनुसन्धान परिषद्बाट समेत अनुसन्धान प्रयोजनका लागि माटो परीक्षण कार्य भइरहेको छ । माटो स्वास्थ्य कार्ड दिएपश्चात् कृषकले माटोको अवस्थाअनुसार विवेकपूर्ण ढंगले रासायनिक मल प्रयोग गर्छन्, जसबाट एकातिर रासायनिक मलको खपत कम गर्न मद्दत पुग्छ भने अर्कातर्फ कृषिको उत्पादनमा बढोत्तरी हुन्छ ।

साथै, रासायनिक मलको खरिद गर्दा लाग्ने रकम जोगिएर खेतीको लागत कम गर्नसमेत यो कार्यक्रम प्रभावकारी बन्न सक्छ । कृषकको आम्दानी वृद्धिमार्फत ग्रामीण गरिबी न्यूनीकरणका लागि यो असरदार उपाय हुन सक्छ । नेपालमा कृषि क्षेत्रको विकास गरी खाद्य सुरक्षाको सुनिश्चितताका लागि माटोको स्वास्थ्य सुधारमा हरसम्भव प्रयास हुनुपर्ने देखिन्छ ।

(भण्डारी राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रमका वरिष्ठ कृषि विस्तार अधिकृत हुन्)

तपाईको प्रतिक्रिया