उत्तरको प्रतिनिधिमण्डल र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता - Naya Patrika
eNaya Patrika
  • ePaper

उत्तरको प्रतिनिधिमण्डल र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता

दक्षिण कोरियाको भ्रमणमा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेको छ । हिउँदे ओलम्पिकको अवसरमा दक्षिण कोरिया पुगेको उत्तर कोरियाली संसद्का प्रमुख किम योङ नामको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले शनिबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग भेट गरेको हो ।

प्रतिनिधिमण्डलका नेता नाम उत्तर कोरियाको राजनीतिक प्रणालीको वरीयतामा दोस्रो दर्जाका नेता हुन् । प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङ पनि छिन् । किम यो जोङ उत्तर कोरियाली सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको उपनिर्देशक हुन ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन (दायाँ) उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोसँग शनिबार राष्ट्रपति भवन ब्लुहाउसमा । तस्बिर : एजेन्सी

लामो समयपछि  उच्च तहको भेट
दुई कोरियाका उच्च तहको सरकारी प्रतिनिधिमण्डलबीच धेरै लामो समयपछि भेट भएको हो । चार सदस्यीय प्रतिनिधिमण्डल शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको कार्यालय ब्लुहाउस पुगेको थियो ।

सन् २००९ पछि उत्तर कोरियाका तर्फबाट पहिलोपटक उच्चस्तरको प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको हो । भेटलाई दुवै कोरियाले उच्च महत्व दिएका छन् । दक्षिण कोरियामा सुरु भएको शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सो प्रतिनिधिमण्डल शुक्रबार दक्षिण कोरियाको राजधानी सिउल पुगेको थियो ।

गोप्य छलफल
उत्तर कोरियाको प्रतिनिधिमण्डल र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच भएको छलफलबारे केही खुलासा गरिएको छैन । भेटका क्रममा उत्तर कोरियाको आणविक गतिविधि रोक्न दक्षिण कोरियाका राष्ट्रपतिले अनुरोध गरेको हुन सक्ने अनुमान गरिएको छ ।

त्यस्तै दुई कोरियाबीच आगामी दिनमा निर्णायक वार्ता गर्ने विषयमा छलफल केन्द्रित रहेको विज्ञहरूले अनुमान गरेका छन् । उत्तर कोरियाका आणविक गतिविधिलाई लिएर अमेरिकाले प्योङयाङविरुद्ध शृंखलाबद्ध नाकाबन्दी लगाइरहेका वेला पछिल्लो भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

किमकी बहिनीसँग भेट
यसअघि शुक्रबार राति दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोङसँग पनि भेटवार्ता गरेका थिए । शीतकालीन ओलम्पिक खेलकुद सुरु भएका वेला उनीहरूबीच भेटघाट भएको थियो ।

मुनलाई उत्तर कोरिया भ्रमणको निम्तो
दक्षिण कोरिया भ्रमणमा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले दक्षिण कोरियाका राष्ट्रपतिलाई प्योङयाङ भ्रमणका लागि निमन्त्रणा गरेको छ । प्रतिनिधिमण्डलको नेतृत्व गरेका उत्तर कोरियाको संसद्का प्रमुख किम योङ नामले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई भ्रमणका लागि निमन्त्रणा गरेका हुन् ।

उत्तर कोरियाली प्रतिनिधि र दक्षिण कोरियाका राष्ट्रपतिबीच शनिबार सिउलस्थित राष्ट्रपतिको कार्यालय ब्लुहाउसमा भएको भेटवार्ताका क्रममा उत्तर कोरियाले सो निमन्त्रणा गरेको हो । उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनी किम यो जोङले आफ्ना दाजु तथा सर्वोच्च नेता किम जोङ उनको निमन्त्रणापत्र राष्ट्रपति मुनलाई हस्तान्तरण गरेकी थिइन् ।

उत्तर कोरियाली प्रतिनिधिमण्डलमा सदस्यसमेत रहेकी जोङले हस्तान्तरण गरेको पत्रमा दुई कोरियाको सम्बन्ध सुधार्न चाहेको उल्लेख गरिएको राष्ट्रपति मुनका प्रवक्ता किम इउइ किओनले जानकारी दिए । सर्वोच्च नेता किमले जतिसक्दो चाँडो राष्ट्रपति मुनलाई भेट्ने चाहना राखेको किमकी बहिनी जोङले सो अवसरमा जानकारी गराएकी थिइन् ।

राष्ट्रसंघका महासचिवसँग भेट
सो प्रतिनिधिमण्डलले शनिबार नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजसँग संक्षिप्त भेट गरेको थियो । गुटेरेज शुक्रबार दक्षिण कोरियामा आयोजना भएको शीतकालीन ओलम्पिकको उद्घाटन समारोेहमा सहभागी भएका थिए ।

राष्ट्रसंघका महासचिव र उत्तर कोरियाको प्रतिनिधिमण्डलबीच भेट भएको संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फराहन हकले जानकारी दिए । भेटवार्तामा छलफल भएको विषयबारे भने केही खुलाइएको छैन । भेट अर्थपूर्ण भएको महासचिवका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया