सहरबाट दैनिक ३ करोड रुपैयाँ गाउँमा प्रवाह - Naya Patrika
eNaya Patrika
  • ePaper

सहरबाट दैनिक ३ करोड रुपैयाँ गाउँमा प्रवाह

गाउँमा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढ्दै

सहरी क्षेत्रका उपभोक्ताले दूध र दुग्धजन्य पदार्थ उपभोग गर्दा दैनिक ३ करोड रुपैयाँ पशुपालन गर्ने गाउँका किसानमा प्रवाह भइरहेको छ । ग्रामीण बस्ती र सहरका काँठ क्षेत्रमा भइरहेको पशुपालनबाट दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये ७ लाख लिटर प्रशोधन भई दूधका रूपमा सहरी क्षेत्रका उपभोक्तामाझ आउने गरेको छ ।

दूधको मूल्य निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप गरेका कारण पशुपालन गर्ने किसानले उपभोक्ताले तिर्ने मूल्यबाट बढी हिस्सा लिने गरेका छन् । उपभोक्ताले खरिद गर्ने मूल्यको ६९ प्रतिशत किसानले र ३१ प्रतिशतले उद्योगीले पाउने गरेका छन् ।

जसकारण अहिले दूधको गुणस्तरअनुसार किसानले प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्म पाइरहेका छन् । पशुपक्षी विकास मन्त्रालयले दुधालु गाई–भैँसीको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण बर्सेनि उत्पादन बढिरहेको छ ।

आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार आर्थिक वर्ष ०७३/७४ सम्म देशभर दुधालु गाई १० लाख २९ हजार २ सय १३ र दुधालु भैँसी १३ लाख ६२ हजार १ सय ६१ वटा छन् । दुधालु गाई–भैँसीबाट गत आवमा १९ लाख २३ हजार ६ सय ९२ मेट्रिकटन दूध उत्पादन भएको थियो ।

कुल उत्पादनमध्ये ५० प्रतिशत किसान आफैँले उपभोग गर्ने गरेका छन् । १५ प्रतिशत दूधका रूपमा र बाँकी दुग्धजन्य पदार्थ (घिउ, पनिर, आइसक्रिम, दही, चिजलगायत) उत्पादन गर्न खपत हुने गरेको छ ।

स्वस्थ रहनका लागि प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्नुपर्ने मापदण्ड छ । तर, उत्पादित दूधले प्रतिव्यक्ति नेपालीलाई प्रतिवर्ष ७० लिटर मात्रै पुग्ने देखिन्छ । जसका कारण दूधको उत्पादन बढाएर खपत बढाउन सक्ने पर्याप्त ठाउँ छ ।

डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले गाउँमा पशुपालन बढाउने र सहरमा दूधको खपत बढाउन सके डेरीको योगदान झन् बढ्ने बताए । ‘पशुपालन व्यापक रूपमा वृद्धि गरी खपत पनि बढाउने हो भने सहरबाट गाउँ जाने पैसा झन् बढ्छ र ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुग्छ,’ उनले भने । डेरी क्षेत्रबाट ४ लाख ५० हजारभन्दा बढी कृषक परिवार लाभाविन्त भइरहेका छन् ।

उत्पादन र खपत बढाउन सके कृषकको आम्दानी झन् बढ्ने व्यवसायीको भनाइ छ । डेरी क्षेत्रले ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन भूमिका खेलिरहेको व्यवसायी सुमित केडियाले बताए । यो क्षेत्रलाई संरक्षण गरेर अघि बढाउन सके देशको अर्थतन्त्रमै ठूलो योगदान पु-याउन सक्ने उनको भनाइ छ ।

‘भोलिका दिनमा डेरी क्षेत्र आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण मानिन सक्ने अवस्थामा छ । डेरी क्षेत्र आजको दिनमा यहाँसम्म आउनुमा मूलतः निजी क्षेत्रको योगदान बढी छ,’ सीताराम गोकुल मिल्कका सञ्चालक केडियाले भने, ‘सरकारले चाहिँ यो क्षेत्रलाई आवश्यकताअनुसार सहयोग गर्न सकेको छैन ।’

एसोसिएसनको अध्ययनका अनुसार निजी क्षेत्रले ६० प्रतिशत दूध र दुग्धजन्य पदार्थ आपूर्ति गरिरहेको छ । सरकार स्वामित्वतको दुग्ध विकास संस्थान (डिडिसी)ले ४० प्रतिशत हिस्सा लिएको छ ।

गुणस्तर सुधार प्रमुख चुनौती
अनुगमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बर्सेनि दर्जनभन्दा बढी उद्योगलाई तोकिएको गुणस्तरअनुसार प्रशोधित दूध नपाइएको आरोपमा मुद्दा दर्ता गर्ने गरेको छ । १५ अर्बभन्दा बढी लगानी भइसकेको उद्योगले गुणस्तर सुधारका लागि प्रमुख चुनौती लिने गरेको छ ।

तीन वर्ष कोलिफर्मको विषयले समग्र उद्योगलाई झन्डै धराशायी बनाएको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । ‘कोलिफर्म कसरी आउँछ भन्ने कुरामा मूलतः जोड दिने र समाधान निकाल्ने प्रयास हुन सकेको छैन ।

हामीले किसानले दूध उत्पादन गर्ने गोठबाटै सरसफाइदेखिका विषयमा ध्यान दिने, चिलिङ भ्याटसम्म सुरक्षित गर्ने, उद्योगसम्म मापदण्ड तोकिएको भाँडोमा ढुवानी गर्नेलगायतका विषय कायम गर्न सक्यौँ भने गुणस्तरमा समस्या पर्दैन,’ उनले भने । सरकारी निकायले समेत सचेतनामा जोड दिनुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया