शिवरामले जिते क्लासिक गल्फ - Naya Patrika
eNaya Patrika
  • ePaper

शिवरामले जिते क्लासिक गल्फ

शीर्ष वरीयताका शिवराम श्रेष्ठले शुक्रबार सूर्य नेपाल गल्फ टुरअन्तर्गत गल्फर पाइलट्स एनपिजिए क्लासिक प्रतियोगिता जितेका छन् । गोकर्ण गल्फ क्लबमा शिवरामले अन्तिम दिन आठ अन्डर दुई सय कार्ड लेखाउँदै उपाधि हात पारेका हुन् । रोयल नेपाल गल्फ कोर्समा उनी सात अन्डर १ सय २९ कार्ड लेखाउँदै उपाधितर्फ उन्मुख भएका थिए ।

सिजनको पाँचौँ उपाधि
शिवरामले यो सिजनको पाँचौँ उपाधिका रूपमा क्लासिक जितेका हुन् । उनको यो करिअरकै ४१औँ गल्फ उपाधि हो । जितसँगै उनले ५५ हजार रुपैयाँ जितेका छन् । पहिलो दिनदेखि शिवरामलाई पछ्याइरहेका भुवन नगरकोटी दोस्रो स्थानमा सीमित भएका छन् ।

भुवनले तीन अन्डर २ सय ५ कार्ड लेखाउँदै उपविजेताको ट्रफी हात पारे । उनले ३७ हजार रुपैयाँ पाएका छन् । रामे मगर एक अन्डर २ सय ९ कार्डका साथ तेस्रो स्थानमा रहे । उनले २५ हजार रुपैयाँ पाए । जयराम श्रेष्ठ पाँच अन्डर २ सय १३ कार्ड लेखाएर चौथो स्थानमा रहे ।

पाँच स्ट्रोकको अग्रता
शिवरामले फाइनल चरण खेल सुरु हुनुअघि नै भुवनमाथि पाँच स्ट्रोकको अग्रता लिएका थिए । फन्ट नाइनमा शिवराम दुई अन्डर ३४ को कार्ड लेखाउन सफल भए ।

दोस्रो, पाँचौँ तथा छैटौँ होलमा उनले बर्डिज भेट्टाए । यसैगरी, सातौँ र तेस्रो होलमा बर्डिज निकाले । उनी ब्याक नाइनको १२औँ र १३औँ होलमा पुनः बर्डिज निकाल्न सफल भए ।

भुवनको पाँच बर्डिज
भुवनले दिनको सुरुवातमा दुई अन्डर ३४ कार्ड लेखाएका थिए । उनले फन्ट नाइनको तेस्रो, चौथो र सातौँ होलमा बर्डिज निकालेका थिए । ब्याक नाइनमा भुवनले दुई बर्डिज हात पारे । ब्याक नाइनमै उनी दुईपटक बोगीको सामना गर्न पुगे ।

प्रतियोगितामा व्यावसायिक खेलाडी धनबहादुर थापा, सञ्जय लामा तथा रवि खड्का संयुक्त रूपमा पाँचौँ स्थानमा रहे । तीनै खेलाडीले समान ६ अन्डर २ सय १४ को कार्ड
लेखाएका थिए ।

तपाईको प्रतिक्रिया